किरात राई यायोक्खाको १० औं अधिवेशन धरानमा हुँदै « Yalambar Times
२२ असार २०८२, आईतवार

किरात राई यायोक्खाको १० औं अधिवेशन धरानमा हुँदै


यलम्वर टाइम्स
५ फाल्गुन २०७५, आईतवार ११:०५

किरात प्रदेश नामाकरणका लागि यायोक्खाले दबाब दिने

काठमाडौं । किरात समुदायको साझा संस्था किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशन सुनसरीको धरानमा हुने भएको छ ।

महाधिवेशनमार्फत प्रदेश नम्वर १ को नाम किरात राख्न दबाब दिने तयारी रहेको यायोक्खाले जनाएको छ ।

फागुन १८ देखि २० गतेसम्म हुने सम्मेलनको लागि ‘इतिहास, भूगोल, संस्कृति र सभ्याताको सम्मान, १ नम्बर प्रदेश किरात प्रदेश समग्र प्रदेशवासीको आव्हान’ भन्ने मुख्य नारा तय भएको यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राईले बताए ।

महाधिवेशनको तयारी बारे आज (शनिबार) काठमाडौं कोटेश्वर स्थित कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सो बिषयमा जानकारी गराएको हो ।

महाधिवेशनमार्फत प्रदेशको नाम किरात राख्न प्रदेश सभालाई दबाब दिइने यायोक्खा केन्द्रीय महासचिव जीवन हताचो राईले बताए ।

उनका अनुसार किरात कुनै एउटा जाति नभएर इतिहास, भूगोल, सभ्यता, संस्कृति, साझा मनोविज्ञान हो ।

प्रदेश नामाकरणको विषयलाई लिएर यायोक्खाले यस अघि नै हस्ताक्षर अभियानसहित किरात राख्नु पर्ने प्रस्ताव राख्दै आएको थियो ।

भूगोलको सम्मान र प्रदेशवासीको चाहना पूरा गर्न किरात प्रदेश राखिनुपर्ने यायोक्खा केन्द्रीय उपाध्यक्ष दिवस राईले बताए ।

प्रदेश १ को हिउदे अधिवेशन माघ २० गतेदेखि शुरु भएको छ । यायोक्खाले यही अवसर पारेर धरानमा १० औं राष्ट्रिय महाधिवेशन गरेर प्रदेशको नाम किरात राख्न थप दवाव दिने तयारी गरेको हो ।

महाधिवेशन अघि यायोक्खाको ताप्लेजुङ, पाँचथार, इलामा, झापा, मोरङ, सुनसरी, उदयपुर, ललितपुर, भक्तपुर, काठमाडौं, बारा, पर्सा लगायतका जिल्ला मधिवेशनहरु गरिसकेको यायोक्खा केन्द्रीय उपमहासचिव तथा प्रचारप्रशार विभाग प्रमुख भीम राईले बताए ।

त्यसैगरी आठ वटा भातृ र २८ वटा भाषिक संस्थाहरुको अधिवेशन मार्फत प्रदेश १ को नाम किरात राख्न प्रदेश सरकारलाई दवाव दिइएको यायोक्खा केन्द्र तथा प्रचार समितिका सदस्य अर्जुन जम्नेली राईले बताए ।

महाधिवेशनमार्फत प्रदेश सभालाई दबाब दिन जिल्लाहरुमा भित्तेलेखन, व्यानरिङ, पोष्टरिङ, ¥याली, जुलुस लगायतको कार्यक्रम भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

त्यसैगरी फागुन १५ गते झापाको काँकरभिट्टा, धरानको सुनसरीदेखि मोटरसाइकल ¥यालीमार्फत प्रदेश सभाको कार्यालय विराटनगर पुगेर सभालाई किरात नाम बारे दबाब दिने कार्यक्रम रहेको यायोक्खा केन्द्रीय अध्यक्ष तिलक राईले जानकारी दिए ।

महाधिवेशनमा नेपालसहित १८ देश सहभागि हुने

राष्ट्रिय महाधिवेशनमा नेपालको २४ वटा जिल्ला समितिहरु, ८ वटा भातृ संगठन, २८ वटा भाषिक संगठनहरु, अमेरिका, बेलायत, भारत, हङकङ, जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, यूएई लगायतको १७ वटा देशबाट एक हजारभन्दा बढी प्रतिनिधि पर्यवेक्षक उपस्थित हुने यायोक्खा केन्द्रीय अध्यक्ष तिलक राईले बताए ।

किरात राई समुदाय नेपालको १० औं र ५९ आदिवासी जनजाति मध्ये ५ औं ठूलो जनसंख्या भएको जाति हो ।

फागुन १८ गते सुनसरी धरानको भानु चौकमा हुने उद्घाटन कार्यक्रममा एक लाखभन्दा बढीको सहभागिता रहने महासचिव जीवन हाताचो राईले बताए ।

प्रदेश १ को मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा प्रदेश सभामुख प्रदीपकुमार भण्डारी, नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका पूर्वमन्त्री भीम आचार्य, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, संघीय समाजवादी फोरमका बरिष्ठ नेता अशोककुमार राई, प्रदेशका मन्त्रीहरु लगायतको सहभागिता रहने अध्यक्ष तिलक राईले बताए ।

प्रदेश १ को नाम किरातको विकल्प नभएको र नेतृत्वको कारण किरात नभएमा सम्पूर्ण उत्पीडित वर्ग, समुदायको सहभागितामा निर्णायक आन्दोलन हुने यायोक्खाले चेतावनी दिएको समेत दिएको छ ।

किरात नामको जवरजस्ति विकल्प खोजिए विश्वभरि छरिएर रहेका प्रदेशवासीहरुको प्रत्यक्ष, अप्रत्यक्ष सहभागितामा सशक्क्त र निर्णायक आन्दोलन हुने यायोक्खाको भनाइ छ ।