वीरता जेसीजको जन्मोत्सव कार्यक्रम वृद्धाआश्रममा « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

वीरता जेसीजको जन्मोत्सव कार्यक्रम वृद्धाआश्रममा


यलम्वर टाइम्स
७ फाल्गुन २०७५, मंगलवार १२:०४

१५ स्क्वार फिट जग्गा बराबरको रु. ११ हजार ४ सय रुपैयाँ रकम हस्तान्तरण गर्दै अध्यक्ष थापा ।

बिर्तामोड । कुनै होटलको कुनामा साथीभाई भेटघाट गरि रमाइलो गर्दै आफ्नो जन्म दिन मनाउने नेपाली युवाहरु अहिले फरक र पृथक शैलीबाट आफ्नो जन्म दिन मनाउन थालेका छन् ।

विभिन्न तडकभडक सहित फजुल खर्च गर्दै आफ्नो जन्मोत्सव मनाउने युवाहरु उक्त खर्चबाट अपाङ्ग, असाहय वृद्धवृद्धालाई सहयोग गर्दै उनीहरुकाबीच मनाउन थालेका छन् ।

यसै क्रममा वीरता जेसीजले पनि आफ्नो सदस्यहरुको जन्मोत्सव बिर्तामोड स्थित परोपकार केन्द्रमा रहेका वृद्धवृद्धाहरुका बीच मनाएको छ ।

वीरता जेसीजमा आवद्ध रोशन घिमिरे, महासचिव कुशल खतिवडा र जनसम्पर्क अधिकारी युवराज कुँवरले आफ्नो जन्मोत्सव त्यहाँ मनाएका हुन् ।

प्रमुख अतिथि बिर्तामोड नपा ३ का वडाध्यक्ष भोजराज सिटौलालाई मायाँको चिनो प्रदान गर्दै ।

उनीहरुले वृद्धहरुलाई खानपीन गराउनुका साथै चामल, फलफुल लगायत आवश्यक सामग्रीहरु आश्रमलाई प्रदान गरेका थिए ।

‘साथीभाई भेला भएर रमाइलो गरेको भए अनावश्यक खर्च हुन्थ्यो’ युवराज कुँवरले भने, ‘त्यो खर्चलाई आश्रमका वृद्धवृद्धामा सदुपयोग गर्न पाउँदा बेग्लै खुशीको महसुस भएको छ ।’ वृद्धवृद्धाहरु बीच जन्मोत्सव मनाउदा मन आनन्दित भएको उनी थप्छन् ।

कार्यक्रममा वीरता जेसीजका अध्यक्ष विशाल थापाले औचित्यमाथि प्रकाश पार्दै ज्येष्ठ नागरिक जीउँदो तीर्थ भएको बताए । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले वृद्धहरु खुशी भए सबैको भलो हुने बताए ।

उनले सानो कार्यले पनि मासिनलाई खुशी पार्न सकिने भएको बताउँदै आफूहरु ज्येष्ठहरुप्रति सानो सहयोग लिएर आएको बताए । उनले आगामी दिनमा पनि यस्ता गतिविधिलाई अगाडि बढाउने प्रतिक्रिया दिए ।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड वडा नं. ३ का अध्यक्ष भोजराज सिटौलाले अनावश्यक रुपमा होहल्ला गर्दै खर्चिलो जन्म दिवस मनाउनुभन्दा असाहय, वृद्धवृद्धाहरुको सहयोग गर्दै मनाउनु उपयुक्त भएको बताए ।

उनले जेसीजको यो कार्य प्रशंसनीय रहेको बताउँदै अरुले पनि यसलाई अनुसरण गरेर जानुपर्नेमा जोड दिए ।

कार्यक्रमको अन्त्यमा सामूहिक तस्वीर लिँदै वीरता जेसीजका पदाधिकारीहरु ।

प्रमुख अतिथि सिटौलाले आगामी दिनहरुमा प्रभावकारी योजनाहरु लिएर आएमा वीरता जेसीजसँग सहकार्य गर्न वडा नं. ३ उत्सुक रहेको बताए ।

यसै बीच जेसीजले परोपकार केन्द्रलाई १५ स्क्वार फिट जग्गा बराबरको रु ११ हजार ४ सय रुपैयाँ पनि प्रदान गरेको छ ।

सहयोग बुझ्दै परोपकार केन्द्र बिर्तामोडका अध्यक्ष विक्रम मादेनले असक्त ज्येष्ठहरुलाई सहयोग प्रदान गरेकोमा धन्यावाद प्रदान गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेका थिए ।

अध्यक्ष विशाल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरता लेडी जेसीजकी अध्यक्ष सरु भुर्तेल लगायतले आफ्नो विचार व्यक्त गरेकी थिइन् ।

युवराज कुँवरको संयोजकत्वमा सम्पन्न कार्यक्रममा आस्था वाचन कार्यकारी उपाध्यक्ष दिवाकर चौधरी, मिशन, भिजन मिजास पोखरेलले गरेका थिए भने सञ्चालन महासचिव कुशल खतिवडाले गरेका थिए ।