स्नोकर च्याम्पियनसिप प्रतियोगिताको उपाधि सरोजलाई « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

स्नोकर च्याम्पियनसिप प्रतियोगिताको उपाधि सरोजलाई


यलम्वर टाइम्स
१४ फाल्गुन २०७५, मंगलवार ०८:०३

बिर्तामोड । वीरता जेसीजको आयोजना र क्यू एक्सन बिर्तामोडको प्राविधिक सहयोगमा सञ्चालित पूर्वाञ्चल मास्टर स्नोकर च्याम्पियनसिप प्रतियोगिताको उपाधि बिराटनगरका सरोज गौतमले हात पारेका छन् ।

प्रतियोगिताको फाइनल खेलमा विराटनगरकै अनुपसिंहलाई पराजित गर्दै गौतमले उपाधि हात पारेका हुन् । जीतसँगै विजेता गौतमलाई ट्रफिसहित नगद रु. ५१ हजार पुरस्कार प्रदान गरिएको थियो भने उपविजेता सिंहलाई ट्रफिसँगै नगद रु २५ हजार प्रदान गरिएको थियो ।

खेलको माध्यमबाट युवाहरुमा सकारात्मक सोचको विकास गर्न सकिन्छ भन्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा हाइएष्ट बे्रक प्लेयर धरानका गणेश गुरुङ र वेष्ट प्लेयर विराटनगरका दिपक अग्रवाल घोषित भए । उनीहरुलाई क्रमशः नगद रु. ८ हजार र ५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

जेसीजका अध्यक्ष विशाल थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर थापा रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि थापाले मानिसहरुलाई भावनात्मक रुपमा जोड्ने कडिको रुपमा खेल रहेको बताए ।

उनले वीरता जेसीजले आफ्नो वार्षिक पात्रोमा खेल क्षेत्रलाई पनि समेटेर अगाडि बढेकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि निरन्तरता प्रदान गर्न आग्रह गरे । प्रमुख अतिथि थापाले स्नोकरलाई राष्ट्रिय प्रतियोगिताको रुपमा अगाडि बढाउन आफूले सकेसम्म पहल गर्ने बताए ।

कार्यक्रममा बोल्दै जेसीजको प्रशंसा गर्दै संस्थाको पूर्व अध्यक्ष भएर पनि एकजुट भएर अगाडि बढ्नुपर्छ भन्ने सन्देश जेसीजबाट मिलेको बताए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अध्यक्ष थापाले खेल अवधिभर हल प्रदान गरेर सहयोग गरेको नुगो रेष्टुरेन्ट लगायत सहयोगीहरुलाई धन्यवाद प्रदान गरेका थिए ।

कार्यक्रममा झापा जिल्ला फुटबल संघका अध्यक्ष जलकुमार गुरुङ, राष्ट्रिय वाणिज्य संघ बिर्तामोडका सचिव सुवास खड्का, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सुवास खड्का लगायतले आ–आफ्नो विचार राखेका थिए ।

कार्यक्रममा पूर्व अध्यक्षहरु राजेन्द्र चौलागाई, भेषराज भण्डारी (प्रशान्त), निवर्तमान अध्यक्ष एकराज गिरी, पूर्वेली युवा क्लब संस्थापक अध्यक्ष सुरेश आले मगर, युवा व्यवसायी आशिष वन, लवकुश गौतम, क्यु एक्सन स्नोकर क्लबका सञ्चालक ख्याम बुढाथोकी लगायतको आतिथ्यता रहेको थियो ।

कोषाध्यक्ष घनश्याम चौधरीले सञ्चालन गरेको कार्यक्रममा आस्था वाचन उपाध्यक्ष मनोजकुमार शाहले गरेका थिए भने स्वागत कानूनी सल्लाहकार दिवाकर प्रसाइले गरेका थिए ।

सोही दिन क्यान्सर रोगबाट पीडित जयपुरकी सुष्मा खुलाल कोइरालालाई पनि आर्थिक सहयोग जुटाइएको थियो ।

सुष्माको उपचारको लागि अध्यक्ष थापाले ५ हजार, जीवन खड्काले ३ हजार, डीएसपी सुवास खड्काले २ हजार, दिपक अग्रवाल ५ हजार, रिना लिम्बू ५ हजार, गणेश गुरुङ २ हजार, सरोज गौतम र अनुप सिंहबाट ५ हजार, सुवास भट्टराई २ हजार एक सय, शंकर थापा ५ हजार एक सय, धिराज खड्का ५ हजार, सुरेश आले २ हजार एक सय र सुनिल राजवंशीले १ हजार एक सय रुपैयाँ प्रदान गरेको अध्यक्ष थापाले जानकारी दिए ।

दाताहरुबाट संकलित ४२ हजार ४ सय रकम संकलन गरि परिवारलाई हस्तान्तरण गरिएको अध्यक्ष विशाल थापाले जानकारी दिए ।