मन्त्री सवार हेलिकप्टर दुर्घटनाग्रस्त, मन्त्रीसहित ७ जनाको मृत्यु « Yalambar Times
७ आश्विन २०८१, सोमबार

मन्त्री सवार हेलिकप्टर दुर्घटनाग्रस्त, मन्त्रीसहित ७ जनाको मृत्यु


यलम्वर टाइम्स
१५ फाल्गुन २०७५, बुधबार ०९:५९

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–१० स्थित काफ्लेपार्टीमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मन्त्रीसहित हेलिकप्टरमा सवार ७ जनाकै शव फेला परेकाे हेली साेसाइटी अफ नेपालका एक प्रतिनिधिले पुष्टि गरे ।

फुङलिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई ‘तारा’ले पनि ७ जनाकै शव फेला परेकाे पुष्टि गरे ।

‘दुर्घटना भएकाे जानकारी मिल्नासाथ हामी साे स्थानतर्फ जाँदैछाैं’, उपप्रमुख  भट्टराईले भने, ‘दुर्घटना स्थलमा पुगेका स्थानीयले ७ जनाकाे शव भेटिएकाे पुष्टि गरेका छन् ।’

उनका अनुसार दुर्घटनास्थल फुङलिङ नगरपालिका र भक्तालुङ गाउँपालिकाकाे सीमा क्षेत्रमा पर्छ । उनले भने, ‘साे क्षेत्र प्रसिद्ध तीर्थस्थल पाथिभराकाे नजिक रहेकाे छ ।’

अहिले घटनास्थलतर्फ जिल्लास्थित सरकारी अधिकारी तथा प्रहरीसहितकाे उद्धार टाेली पुग्दै गरेकाे उनले बताए ।

‘हाल ताप्लेजुङमा कुहिराे लागिरहेकाे र पानी पनि परिरहेकाे छ’, भट्टराईले भने ।

ताप्लेजुङमा एयर डाइनेस्टीकाे हेलिकाेप्टर दुर्घटनाकाे विमानस्थल कार्यालयलेसमेत पुष्टि गरेकाे छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकाेप्टरमा ७ जना थिए ।

हेलिकोप्टरमा मन्त्री अधिकारीसहित हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचिभैया सवार थिए । उक्त हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए।

कलसाइन एएमआई (अल्फा माइक इन्डिया) उक्त हेलिकोप्टर काठमाडौंबाट आज बिहान साढे ८ बजे उडेको थियो । मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको थियो।