महिला अधिकारको क्षेत्रमा आवाज उठाउँदै र उत्पीडनको विरोध गर्दै, प्रत्येक वर्ष विश्वभर मनाइने ‘अन्र्तराष्ट्रिय नारी दिवस’ मार्च ८ मा नेपालमा पनि सरकारी तथा गैरसरकारी पक्षबाट भव्य रुपामा सम्पन्न गरिएको छ । सरकारकातर्फबाट हालसम्म महिलाका पक्षमा गरेका कार्यको बढाई चढाई गर्दै र महिला अधिकारका पक्षधरको तर्फबाट राज्यले गरेको कामको लेखाजोखा गर्दै थप अधिकारका निमित्त राज्यसत्ताको ध्यानार्कषण गराउँदै यो दिवस मनाइयो ।
यो सन्दर्भमा महिला र पुरुष बिचको भूमिका किन फरक–फरक भयो । वर्तमानमा विश्वभर नै किन महिलालाई दोस्रो दर्जाको नागरिकको व्यवहार गरिन्छ । के महिलामाथि उत्पीडन जारी रहँदा पुरुषलाई फाइदा छ ? या त समाजलाई फाइदा छ । महिला उत्पीडनले कतै पुरुषलाई पनि उत्पीडनमा त पारेको छैन ? लैगिक विभेद हुँदा के हाम्रो समाज सही ढंगले अघि बढन सकेको छ ? यसको सेरोफेरोमा रहेर आज हामी छलफल गरौं ।
महिला उत्पीडनको प्रारम्भ
प्रारम्भिक अवस्थाको समाज आजको जस्तो विकसित नभएको समाजशास्त्री बताउँछन् । वर्तमान समाजको विकास हुन लामो समय लागेको हो । शुरुमा मानिसहरु जंगलमै बस्ने, शिकार गरी जीवनयापन गर्थे । त्यस समयमा सम्पत्ति, परिवार, विवाह र निजी श्रीमतीको अवधारणा थिएन । स्वच्छन्द यौन सम्बन्ध थियो । समाज विकाससँगै निजी सम्पत्तिको अवधारणाको विकास भयो । यसले विवाहलाई संस्थागत गर्यो भन्ने माक्र्सवादी अवधारणा छ ।
त्यस समयका छट्टुहरुले भाग्यवाद, स्वर्ग–नर्क, पाप पुण्य, पूर्वजन्म र पुर्नजन्म जस्ता शोषण गर्न सजिला मानसिक अस्त्र तयार गरे । त्यसले निमुखामाथि शासन गर्न सजिलो बनायो । महिलामाथि पुरुषको हैकम कायम गर्न सहज बनायो । धर्म, अनुशासनका नाममा विभिन्न धार्मिक ग्रन्थको रचना गरियो । तिनै धार्मिक ग्रन्थका आधारमा वर्षौको प्रशिक्षण पश्चात शासित वर्ग शासक र महिला पुरुष अधिनस्थ हुन तयार भए । भरोसा गर्न थाले कि सबै भाग्यकै खेल रहेछ भनेर । नेपाल र नेपाली समाज पनि यस्ता अन्धविश्वासको चङ्गुलबाट बच्न सकेन । फलस्वरुप नेपालका शासकहरुले महिलामाथि हैकम जारी राख्न र वर्ण व्यवस्थालाई जोगाई राख्न सकिने हिन्दू धर्म ग्रन्थलाई राज्य सञ्चालनको मुख्य नियमको रुपमा ग्रहण गरे । नेपालमा वि.सं. २०२० सालसम्म हिन्दू ग्रन्थ अनुसार नियम कानून बनाएर शासन गरियो ।
वर्तमान नेपाल बहुजाति, बहुसंस्कतिक, बहुभाषिक विविधतायुक्त मुलुक हो । यहाँ वर्ग र वर्णका आधारमा महिलामाथि उत्पीडन विद्यमान छ । यही वर्ग र वर्णमा आधारित सांस्कृतिक अन्धविश्वास र नियम कानूनका कारण महिलाको दुरावस्था भयो । यसलाई पनि मसिनो ढंगले केलाउनु पर्छ । कानूनी रुपामा महिलालाई विभेद गरिएको थियो भने, आज पनि विभेद मुक्त कानून छैन । वि.सं. १९१० को मुलुकी ऐन अनुसार तागाधारी, मतवाली, पानी अचल छिटो हाल्नु नपर्ने, पानी अचल छिटो हाल्नु नपर्ने भनी राज्यका जातजातिलाई विभाजन गरि तल्लो जातिका महिलामाथि झनै चर्को विभेद थोपरिएको थियो । धर्मका नाममा महिलामाथि शोषण जारी छ । हिन्दू धर्मका पुराण र उपनिषद्मा महिलामाथि हुने शोषण दमनलाई भाग्य मानेर सहनु पर्ने र पतिका निमित्त विभिन्न तपजप गरी, चरणको दासी हुन प्रशिक्षित गरेको छ । अन्य धर्मले पनि महिला उत्पीडनलाई बढवा दिएकै छ ।
नारी मुक्तिका लागि पुरुषको भूमिका
नेपालको राज्यसत्ता र नेपाली समाजमा पितृसत्ता व्याप्त छ । पितृसत्ता एउटा सोच भएको लैगिक अध्येताहरु बताउँछन् । यस विचारले महिलालाई मात्रै होइन पुरुषलाई पनि उत्पीडनमा पारेका उनीहरुको ठम्याइ छ । यस्तो विचारले पुरुष नारीभन्दा शक्तिशाली हुनुपर्छ । परिवारको निम्ति आर्थिक स्रोतको जोहो गर्नुपर्छ । पुरुष शोकमा रुनु हुँदैन, रोएमा ‘पुरुष महिला जस्तो’ नामर्द हुन्छ । पुरुषमा अनावश्यक मर्द, शक्तिशाली, साहसी, आक्रमक आर्थिक उपार्जनकर्ता भइरहन सिकाउँछ पितृसत्ताले । पुरुषलाई ‘पुरुषसत्ता’ जोगाउन सधा निरंकुश बन्न सिकाउँछ । वंशमाथि आफ्नो अधिपत्य जमाउन र महिलालाई दासीको रुपमा ग्रहण गर्न सिकाउँछ ।
एउटा पुरुष जो महिलाबाट जन्म लिन्छ दूध खाएर हुर्कन्छ । हजारौं हन्डर ठक्कर सहेर आमाबाट हुर्काइन्छ तर समाजमा एउटी आमा र छोराले पाउने सम्मानमा किन विभेद हुन्छ ? किन कानून आमाको पक्षमा हुँदैन, किन धर्मले अंकुश लगाउँछ ? किन समाज उनको विपक्षमा उभिन्छ ? छोराको पक्षमा राज्यसत्ता हुन्छ, धर्म हुन्छ र समाज हुन्छ । यो विभेद पति पत्नी, समान उमेरका छोरा र छोरी बिचको मात्रै नभएर आमाले र छोराबाट अन्याय सहन गर्नुपर्ने बाध्यात्मक व्यवस्था पनि हो । जुन विभेदलाई समाज र राज्यसत्ताले अनुमोदन गर्दै आएको छ ।
एउटा पुरुष जो महिलाबाट जन्म लिन्छ दूध खाएर हुर्कन्छ । हजारौं हन्डर ठक्कर सहेर आमाबाट हुर्काइन्छ तर समाजमा एउटी आमा र छोराले पाउने सम्मानमा किन विभेद हुन्छ ? किन कानून आमाको पक्षमा हुँदैन, किन धर्मले अंकुश लगाउँछ ? किन समाज उनको विपक्षमा उभिन्छ ?
सबै किसिमका अन्यायको श्रृखला लामो भयो । अब बिस्तारै हुन्छ, समयले आफै ल्याउँछ, हिजोभन्दा आज धेरै सुधार भईसकेको छ । भन्ने बित्तिकै कहाँ हुन्छ र समय लाग्छ । यति लामो समयसम्म समाजमा जरा गाडेको कुरालाई आजको भोलि हटाउँदा समाजमा स्वीकार्य हुँदैन, बिस्तारै–बिस्तारै हटाउँदै जानुपर्छ भन्ने, सिल्ली र यथास्थितिलाई जोगाई राख्ने कुतर्कहरु पनि गन्यमान्य पुरुष, महिलाबाट प्रशस्तै आउँने गरेका छन् ।
विश्वले एक स्वरमा भनेको छ कि महिलामाथि अन्याय भएको छ । सामाजिक, सांस्कृति, कानूनी रुपमै विभेद छ । कुनै समय पृथ्वी चेप्टो छ भन्ने अवधारणा थियो । तर वैज्ञानिकले पत्ता लगाए कि पृथ्वी गोलो छ भनेर, जनमानसमा सनसनी फैलियो । आज हामी पृथ्वी गोलो छ भनेर मान्छौ । अरु विषयमा जस्तो सामाजिक विषयमा हठात् बद्लाव आउँदैन तर त्यसो भनेर पुरुष सत्ता महिलालाई अधिकार समान वितरण गर्न कन्जुस्याँइ त गर्दै छैन् ? नेपाली समाज र राज्यसत्ताको बागडोर पुरुषकै हातमा छ । सामाजिक नियम फेरबदल देखि राज्यमा निमय कानून निर्माण र कार्यान्वयन गर्न पुरुषकै ठूलो भूमिका छ । पुरुष हरेक हिसाबले महिलाभन्दा धेरै अघि छन् । यो व्यवस्थामा परिर्वतन गर्न पुरुषको भूमिका अनिवार्य र अपरिहार्य छ । महिला अधिकारका क्षेत्रमा आवाज उठाउने न्यायपे्रमीहरु र पितृसत्ताको विचारले ग्रसित महिलाहरुमा पनि उत्तिकै जागरुकता आउनु जरुरी छ । नत्र नेपाली समाजको दुरावस्था लामै चल्नेवाला छ ।