नयाँ वर्षलाई स्वागत गर्दै शनिश्चरेमा म्युजिकल शो « Yalambar Times
३१ भाद्र २०८१, सोमबार

नयाँ वर्षलाई स्वागत गर्दै शनिश्चरेमा म्युजिकल शो


यलम्वर टाइम्स
२ बैशाख २०७६, सोमबार ०८:१४

अर्जुनधारा । शनिश्चरे बजार क्षेत्रमा नयाँ वर्षका दिन सांगीतिक कार्यक्रम हुन छाडेको निकै भएको थियो । तर यो वर्ष भने वेग स्टेट डान्स सेन्टर अर्जुनधारा ७ मिलडाँडाले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा सांगीतिक कार्यक्रम प्रस्तुत गरेर सबैको मन जित्न सफल भएको छ ।

आईतबार शनिश्चरे बजारको दुर्गा मन्दिर छेउमा शनिश्चरेमा रहेर विभिन्न क्षेत्रमा प्रतिभा देखाउन सफल भएका कालाकारहरुलाई स्टोजमा उभ्याएर रियालिटी शो जस्तै मन छुने खालका नृत्यहरु प्रस्तुत गरेका थिए ।

अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सेन्टरका कलाकारहरुले करिब तीन घण्टा विभिन्न नृत्य, एकल गीत र चेतनामूलक नाटक प्रस्तुत गरेका थिए ।

कला, संस्कृति प्रेमीहरुको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । झापा जिल्ला नृत्य कलाकार संघका अध्यक्ष एलपी श्रेष्ठ विशिष्ट अतिथि रहेको कार्यक्रममा तीन जना कलाकारलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा सेन्टरका प्रबन्धक मनिष शंकरको सभापतित्वमा भएको कार्यक्रममा शनिश्चरे डान्स सेन्टर र धरानबाट आएका अतिथि कलाकारहरुको बजोड प्रस्तुति रहेको पनि थियो ।

अर्जुनधारामा रहेर विभिन्न स्थानमा कला प्रदर्शन गर्दै आएकी आकृति तामाङ, लिसारा थापा मगर र जेसिका बस्नेतलाई प्रमुख अतिथि हरिकुमार रानाले सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा निजी विद्यालयका अध्यक्ष रुद्र सिटौला, वाणिज्य संघका सचिव चतुर्भुज काफ्ले, दुर्गा मन्दिरका सचिव कृष्ण पौडेल, ज्येष्ठ नागरिक मिलनका सचिव नरेन्द्र तिम्सिना, पत्रकार दिपीन राई, वडा नं. ३ का सदस्य होम दुलाल लगायतको आतिथ्य रहेको थियो ।

मनिष कटुवालको स्वागत रहेको कार्यक्रममा कार्यक्रममा प्रायोजन गर्ने पाथीभरा एसी सैलुन, प्रगतिशिल निर्माण सेवालाई समेत सम्मान गरिएको संस्थाका दिपेन दनुवारले जानकारी दिए ।