संकटा मेची नेत्रालय गोल्डकपको अन्तिम चारमा « Yalambar Times
३१ भाद्र २०८१, सोमबार

संकटा मेची नेत्रालय गोल्डकपको अन्तिम चारमा


यलम्वर टाइम्स
१५ बैशाख २०७६, आईतवार ०८:३४

काँकरभिट्टा । मेची नेत्रालय मेचीनगर गोल्डकपको चौथो संस्करण अन्तर्गत शनिबार भएको खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई फराकिलो अन्तरले हराउँदै संकटा क्लब काठमाण्डौ अन्तिम चारमा प्रवेश गरेको छ ।

काँकरभिट्टालाई ४–१ गोलको अन्तरले हराउँदै संकटाले अन्तिम चारमा स्थान बनाएको हो ।

संकटाका लागि खेलको २२ औं मिनेटमा बिदेशी खेलाडी फोफोना फोडेले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए ।

डि बक्सभित्र पाएको पासलाई काँकरभिट्टाका गोलरक्षक किशोर गिरीलाई बीट गर्दै सुन्दर गोल गरेका थिए ।

२९ औं मिनेटमा फोडेले नै गोल गर्दै टीमको अग्रता दोब्बर बनाए । उनले अर्का बिदेशी खेलाडी इकेन क्रिश्टियनको क्रस पासलाई सदुपयोग गर्दै हेड मार्फत बललाई जाली चुमाउन सफल भए ।

खेलको ४४ औं मिनेटमा फोडेले गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । क्रिश्टियनले डि बक्सभित्र गरेको पासमा फोडेले गरेको प्रहार काँकरभिट्टाको गोलरक्षक गिरीको हातमा लाग्दै गोल भएको थियो ।

५५ औ मिनेटमा क्रिश्टियनले गोल गरेका थिए । बिपक्षी मैदानको मध्यभागमा अनमार्क रहेका क्रिश्टियनले २० यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

काँकरभिट्टाका लागि खेलको ८० औं मिनेटमा बिमल घर्तीमगरले डि बक्स नजिकैबाट गरेको फ्रि किक गोल भएको थियो ।

निशान्त लिम्बुलाई संकटाका खेलाडीले फल गरेपछि पाएको फ्रि किक मार्फत मगरले सान्त्वना गोल फर्काएका हुन् ।

खेल अवधिभर काँकरभिट्टाबिरुद्ध हावी भएको संकटाले बिपक्षी पोष्टमा एक दर्जन जति प्रहार गरेको थियो ।

९ मिनेटमा संकटाका सुवास गुरुङले वान भर्सेस वान गोल गर्न सकेनन् । १० मिनेटमा डि बक्स नजिकै पाएको फ्रि किकलाई लक्ष्मण रुचालले गरेको प्रहार पोष्टमा लागेर बाहिरियो ।

४३ औं मिनेटमा सुवासको पासमा गुरुङले गोल गर्न सकेनन् । खेलको ३० औं मिनेटमा काँकरभिट्टाका बिमल घर्तीमगरले बिपक्षी गोलरक्षक बीट भइसकेको अवस्थामा गरेको प्रहार आकाशियो ।

७४ औ मिनेटमा डि बक्सभित्र अनमार्क रहेका दिलेन लोक्तामले गोल गर्ने अवसर गुमाए ।

खेलको म्यान अफ द म्याच बिजेता टीमका लागि ह्याट्रिक गरेका फोफोना फोडे भए ।

उनले नगद ११ हजार रुपैंयाँ पुरस्कार पाए । आइतबारको खेल त्रिभुवन आर्मी क्लब र धरान फुटबल क्लब सुनसरीबीच हुने छ ।

प्रतियोगितामा बिजेता टीमले १० लाख १ हजार र उपबिजेता टीमले ५ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने छ ।