[पुण्य सुवेदी]
अत्यास लाग्दो शनिबार
२०७५ साल चैत्र ९ गते शनिबार । बिहानै साढे छ बजेको थियो होला । नेपाल राष्ट्रिय शिक्षक संगठन, झापा जिल्ला समितिका सचिव उमेश साहको फोन आयो । ‘पुण्य सर, रामकुमार सर काठमाडौंबाट फर्कने क्रममा कानेपोखरी जङ्गलमा दुर्घटनामा परी बित्नुभएको खबर छ । नारायण सरलाई फोन गरेर खबर पुष्टि गर्नुहोस् ।’
शुक्रबार बेलुका लगभग ५ बजे मलाई फोन गरेर राम सरले झापा आउने गाडी भेटेको र आफू फर्कन लागेको सुनाउनुभएको थियो । नत्र वहाँ आइतबार साँझ मात्रै फर्कने कि भन्ने हामी बीचमा कुराकानी भएको थियो । उमेश सरसँगको कुराकानीमा मेरो अत्तालिएको हाउभाउ देखेर होला, सुष्माले के भएको भनेर सोधिन् । मैले उमेश सरले दिएको समाचार सुनाएँ । सुतिरहेको छोरो पनि बिउँझिसकेको रहेछ । उसले पनि राम सरलाई के भएको बाबा भनेर सोध्न थाल्यो । छोरोलाई कुनै जवाफ नदिई मैले कोठा बाहिर निस्केर नारायण गौतम सरलाई फोन गरें । वहाँले उमेश सरले दिनुभएको सूचनाको पुष्टि गर्नुभयो । एउटा अवर्णनीय अत्यासको बीचमा मैले रामकुमार सरको परिवार सम्झें ।
अर्जुनधारा₋४ का समाजसेवी तथा पूर्व जनप्रतिनिधि तुलसी खतिवडालाई फोन गरेर समाचार सुनाएँ र परिवारको अवस्था के छ, जानकारी भइसक्या छ, छैन बुझ्न अनुरोध गरें । वहाँले शिवशंकर रिजालमार्फत् रामकुमार सरको घरमा बुझ्दा दुर्घटनामा परी घाइते भएको खबर घरमा अघि नै प्राप्त भइसकेको र कुमारी मेडमलगायत परिवारका केही सदस्यहरु घटनास्थलतर्फ लागिसक्नुभएको जानकारी गराउनुभयो ।
६ नं. वडाका वडाध्यक्ष लोकनाथ गौतमलाई फोन गरेर घटना बारे सुनाएँ र घटनास्थलतर्फ जानका लागि गाडीको प्रबन्ध गरिदिन अनुरोध गरें । म बिर्तामोड सिएम खनाल सरकोमा पुगें । वहाँलाई भक्ता खतिवडा दिदीले खबर सुनाउनुभएको रहेछ ।
रामकुमार सरको परिवारसँग बाल्यकालदेखि अत्यन्तै नजिक भक्ता दिदी सम्झें । कुमारी मेडमको सम्भावित बेहाललाई सम्हाल्न दिदीको आवश्यकता महसुस गरें । अनि लोकनाथजीलाई भक्ता दिदीलाई पनि गाडीमा लिफ्ट दिन आग्रह गरें, दिदीलाई तयार बन्न भनें । रमेश काफ्लेको गाडी रहेछ । भक्ता दिदीलाई समेत लिएर साथीहरु आइपुग्नुभयो ।
गाडी चढेर घटनास्थलतर्फ लागियो । मालबाहक ट्रकलाई पछाडिबाट रामकुमार सर सवार टाटा सुमोले ठक्कर दिएको रहेछ । रामकुमार सरको शव हेरियो । जिउ लगभग सग्लेै तर टाउको थिएन । टाटा सुमो पनि क्षतविक्षत भएको रहेछ ।
पोष्टमार्टम लगायतका प्रकृया पूरा गरी दिउँसो अबेर मात्रै हामी शव लिएर फक्र्यौं । केही समय भाइ सञ्जयलाई कुरेर दाहसँस्कार सकिंदा निकै अध्याँरो भइसकेको थियो । मलामीहरुको त्यो विशाल उपस्थितिले यो समाजमा रामकुमार सरको महत्व र वहाँको निधन पछिको रिक्तताबोधलाई प्रष्ट्याउँथ्यो । राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तित्वहरुको निधनमा पूरै देश शोकमग्न भएको मैले निकै पटक महसुस गरेको छु । तर स्थानीय अगुवाको वियोगमा अर्जुनधारा यती धेरै स्तब्ध र शोकाकुल बनेको यस अघि अनुभव गरेकै थिइन । आजभोलि मानवीय संवेदनामा निकै गिरावट आएको छ । मृत्युमा समेत थोरै आफन्तजन, प्रियजन बाहेक बाँकी औपचारिकताको लागि मात्र समवेदित बन्छन् । तर अर्जुनधाराका हजारौं मान्छै एकैचोटि भावविह्वल बने राम सरको शोकमा । मान्छेहरुमा मर्दै गरेको मानवीय संवेदनालाई झक्झक्याएर ब्युँताइदियो राम सरको निधनले ।
नबिउँझिएको सपना
शनिबार बिहानैदखि दिनैभर व्यस्त बनें । तर सोध्ने साथीहरुलाई घटनाको बारेमा जानकारी गराउनेदेखि बाहेक अरु काम गरेको भने केही पनि होइन । दिनैभरि किंकर्तव्यविमुढ बनें । लोकनाथजी साहसी हुनुहुन्छ र चाँडो निर्णय गर्न सक्नुहुन्छ । मङ्गलबारे पुगेर के गर्ने, कसो गर्ने वहाँकै इशारा अनुसार चलें । राम सरको परिवारलाई सम्हाल्नेदेखि लिएर घटनाको कानूनी प्रबन्धहरु सम्बन्धी कामहरु तमाम गर्न शिक्षक खगेन्द्र खतिवडा र रामसरकै नातेदार प्रेम अछामीले जुन धैर्य, साहस र क्रियाशिलता प्रदर्शन गर्नुभयो , त्यो अत्यन्तै तारिफयोग्य छ । मेरो दिमागमा भने सधैं एउटै कुरा खेलिरह्यो । कहिलेकाहिं सपनामा यस्तै अति वियोगान्त घटनाहरुसँग साक्षात्कार हुन्छ ।
निकै ठूलो पिडा, शोक, आपत् सहनुपर्छ । तर सपनाबाट बिउँझिदा ती सबै पीडा, शोक र आपत्बाट मुक्ति मिल्छ । यो घटना पनि सपना बनोस् र सकेसम्म चाँडो झल्याँस्स बिउँझिन सकौं भन्ने लागिरह्यो । जतिसुकै कामना गरेपनि त्यो दुःखद सपनाबाट ब्युँझन पटक्कै सकिएन । बरु कहिलेकाहिं राती सपनामा राम सर भेटिनुहुन्छ । लाग्छ , त्यो सपना चैं सत्य होस् र बाँकी सबै सत्य चैं सपना ।
बहुआयामिक व्यक्तित्व
रामकुमार सर कक्षाकोठामा अत्यन्तै कुशल र सिल्पी शिक्षक हुनुहुन्थ्यो । वहाँका विद्यार्थीहरुले वहाँलाई एक मेहनती र असल शिक्षकका रुपमा सम्झिरहेको पाइन्छ । यसका अतिरिक्त वहाँ एक आदर्श प्रधाानाध्यापक हुुनुहुन्थ्यो । ग्रामिण क्षेत्रको एउटा धराशायी विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हालेको करिब १५ वर्षमा गणेश आधारभूत विद्यालयले भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरको क्षेत्रमा जुन प्रगतिको फड्को मारेको छ, त्यो अन्य विद्यालयहरुको लागि अनुकरणीय विषय हो । हालै सम्पन्न आधारभूत तहको नगरस्तरीय अन्तिम परीक्षामा सो विद्यालय नगरकै उत्कृष्ट विद्यालय बन्नु रामकुमार सरको व्यवस्थापकीय र प्रशासकीय योग्यताको प्रमाण हो । वहाँको कुशल नेतृत्वमा शिक्षकहरुको टिमवर्क सहितको मेहनत, समुदायको विद्यालयमा अतुलनीय सहभागिता पनि उदाहरणीय छन् । राम सर रहनुभएन तर अर्जुनधारामा ‘रामसरबाट सिक्ने’ अवसर अन्य विद्यालयका प्रअ र शिक्षकहरुलाई उपलब्ध छ ।
राम सरको परिचय एक कर्तव्यनिष्ठ शिक्षक र कुशल प्रधानाध्यापक मात्र भने होइन । अर्जुनधारामा एउटा क्रियाशिल सामाजिक अभियन्ताको नाम समेत हो रामकुमार अछामी । आफू अन्यायमा पर्दा, समस्या आइपर्दा, सहयोगको आवश्यकता पर्दा राम सरलाई गुहार्नेको संख्या निकै ठूलो थियो । सबैलाई सही सल्लाह मात्र दिने, आफ्ना विचारहरु निर्धक्क र प्रष्ट राख्ने, दिलोज्यान दिएर सहयोग गर्ने, अन्यायको विरुद्धमा ठिङ्ग उभिने, सामाजिक कुरीति र विभेद हटाउन लागिपर्ने वहाँको स्वभावकै कारण समाजले सधैं राम सरबाट आश गरिरहेको हुन्थ्यो । अहिले समाजमा त्यो आशाको दियो निभेको, संकटको साथी गुमेको रिक्तता खपिनसक्नु भइरहेको छ । समतामुलक समाज निर्माणका लागि दलित आन्दोलनको समेत वहाँ स्थानीय नेतृत्व नै हुनुहुन्थ्यो ।
यति मात्र होइन वहाँ एक स्थानीय विकासे अगुवा समेत हुनुहुन्थ्यो । आफ्नो गाउँमा बाटोघाटो, पुल, कुलो, स्वास्थ्यचौकी, मन्दिर निर्माण, नदी कटान नियन्त्रण, वन तथा पर्यावरण संरक्षणका लागि आफू सधैं सक्रिय रहने, सम्बन्धित निकाय र अधिकारीहरुलाई घच्घच्याइरहने गर्नुहुन्थ्यो । विकास, निर्माण सम्बन्धी योजना र कामका लागि समेत राम सरबाट आशा गर्ने वहाँ बसेको समाजको प्रवृत्ति बनेको थियो ।
राम सर शिक्षकहरुको पेशागत आन्दोलनका नेता समेत हुनुहुन्थ्यो । वहाँ नेपाल राष्ट्रिय शिक्षक संगठनको पूर्व जिल्ला समिति सदस्य, संगठनको अर्जुनधारा नगर समिति अध्यक्ष, नेपाल शिक्षक महासंघको संघीय महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो । अर्जुनधारामा सामुदायिक विद्यालयका शिक्षकहरुको लागि वहाँ सबैभन्दा भरपर्दो र अग्लो नेतृत्व हुनुहुन्थ्यो ।
राम सर शिक्षकहरुको पेशागत आन्दोलनका नेता समेत हुनुहुन्थ्यो । वहाँ नेपाल राष्ट्रिय शिक्षक संगठनको पूर्व जिल्ला समिति सदस्य, संगठनको अर्जुनधारा नगर समिति अध्यक्ष, नेपाल शिक्षक महासंघको संघीय महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो । अर्जुनधारामा सामुदायिक विद्यालयका शिक्षकहरुको लागि वहाँ सबैभन्दा भरपर्दो र अग्लो नेतृत्व हुनुहुन्थ्यो । पछिल्लो समय सामुदायिक विद्यालयमा खस्कदो शैक्षिक गुणस्तरको कारण शिक्षकहरु आलोचित बनिरहेको विषयमा अत्यन्तै चिन्तित हुनुहुन्थ्यो । निजी र सामुदायिक विद्यालय बीचको खाडलका कारणहरु, सार्वजनिक शिक्षा सुधारका उपायहरु, शिक्षकहरुको भूमिका, अन्य सरोकारवालाहरुसँको सहकार्यको सम्भावनाको बारेमा एउटा सुक्ष्म सोधकार्यकै तयारी गर्दैहुनुहुन्थ्यो । सार्वजनिक शिक्षा कमजोर बन्दै जानुमा शिक्षक मात्र दोषी होइनन् तर शिक्षकका केही कमजोरीहरु सुधार्न पनि उत्तिकै जरुरी छ । एकले अर्कोलाई दोषी करार गरेर होइन सबै मिलेर मात्र शिक्षाको गुणस्तर उकास्न सकिन्छ । यसो हुँदा हामी शिक्षकहरुको प्रतिष्ठा र स्वाभिमान उँचो बन्छ भन्नेमा वहाँ दृढ हुनुहुन्थ्यो । आफ्नो विद्यालयमा त वहाँले त्यो दृढतालाई कार्यान्वयन नै गरेर देखाउनुभयो । नगरपालिकामै शिक्षाको गुणस्तर र शिक्षकको स्वाभिमान अभिवृद्धिका लागि वहाँका अधुरा प्रयासहरुलाई निश्कर्षमा पु¥याउने अभिभारा हामी बाँचेकाहरुको जिम्मामा छोडेर वहाँ विदा हुनुभएको छ ।
मिजासिलो व्यक्तित्व, बहिर्मुखी स्वभाव
सभा, समारोह, बैठक, भेला, सामुहिक भ्रमण, वनभोज, खुशी या दुःखका जमघटहरु सबैमा सधैं छाइरहने व्यक्तित्व हो रामकुमार सर । उच्च तर विनम्र आवाज, सबैलाई आदर गर्ने शैली, बालकदेखि वृद्धसम्म तत्काल घुलमिल हुनसक्ने चरित्र, महिलाहरुप्रतिको सम्मान, रसिक प्रस्तुति, सहयोगी भावनाका कारण वहाँ हरेक जमघटका आकर्षण बन्नुहुन्थ्यो । बाल्यावस्थादेखि वहाँले सङ्गत गरेका कुनै पनि साथीहरुको साथ वहाँसँग कहिल्यै टुटेन । विभिन्न कालखण्ड र विभिन्न ठाउँमा हामी पनि अनेक साथीहरु बनाउछौं । कालान्तरमा ती धेरै साथीहरु विस्मृतिमा पुग्छन् । कतिपयसंगको सम्पर्क क्रमशः पातलिंदै जान्छ । तर रामकुमार सरका बाल्यकालदेखिका सबै साथीहरु, जीवनका अनेक कालखण्डमा अनेक कार्यक्षेत्रमा बनेका नयाँ साथीहरु सबैसँग वहाँ नियमित सम्पर्क अनि सहयोग आदानप्रदान गर्नुहुन्थ्यो । ती सबैका लागि वहाँ अति प्रिय र घनिष्ठ हुनुहुन्थ्यो । तत्काल प्रतिक्रिया दिनसक्ने, कसैलाई कहिल्यै होचोहेला नगर्ने बहिमुर्खी स्वभावका वहाँको अनुपस्थिति हामी सबैमाझ टड्कारो रुपमा खड्किरहेको छ । गाउँमा सामुहिक रुपमा बाबुको मुख हेर्ने र आमाको मुख हेर्ने कार्यक्रमहरु सञ्चालन गरेर वहाँ गाउँकेै सबै आमाबुबाहरुको प्यारो छोरो बन्नुभएको थियो ।
अर्थपूर्ण जीवन
मान्छे कति लामो आयु बाँच्न सक्यो भन्दा पनि उसले कति सार्थक जीवन बाँच्यो भन्ने विषय महत्वपूर्ण हो । परिवारको अभिभावक, एउटा शिक्षक, प्रअ, सामाजिक जागरणको अभियन्ता, विकासे कार्यकर्ता, शिक्षकहरुको पेशागत आन्दोलनको नेता । यी सबै भूमिकाहरु एक्लो रामकुमार सरले अत्यन्तै कुशलतापूर्वक सम्पादन गरिरहनुभएको थियो । एउटा रामसरले गर्न सक्ने काम हामीजस्ता निकैजना मिलेर मात्र गर्नसक्छौं । हाम्रा थुप्रै दिन, हप्ता र समयहरु विना महत्वपूर्ण योजना, विना उद्देश्य व्यतित भइरहेका हुन्छन् । हामीसँग फुर्सदका थुप्रै समयहरु उपलब्ध छन् । साँझपख आज दिनभरि महत्वपूर्ण काम के गरें भनेर समिक्षा गर्दा एउटा पनि उल्लेख्य काम नगरी हाम्रा थुुप्रै दिनहरु बितेका पाउछौं । आज गर्नुपर्ने वा गर्न सकिने थुपै्र कामहरुलाई हामी भोलिका लागि पन्छाउछौं । तर राम सर हरेक दिन एउटा एउटा मिसन सहित बाँच्नुभयो । अल्छिपन पटक्कै नभएको अचम्मको मानिस हुनुहुन्थ्यो । बिहान सबेरैदेखि साँझसम्म वहाँ योजनासहित चल्नुहुन्थ्यो । वहाँका मिसन र योजनाहरु विद्यालयको निम्ति, समग्र शिक्षाको निम्ति, समाजको निम्ति र साथीभाइका समस्याहरु समाधानका निम्ति हुन्थे । आफ्नो र परिवारको स्वास्थ्यप्रति वहाँ अत्यन्तै सचेत हुनुहुन्थ्यो । घरायसी कामहरु प्रायः बिहानै सकेर दिनभर समाज र समुदायको सेवामा आफूलाई तल्लिन राख्नुहुन्थ्यो ।
रामकुमार सरसँगको आत्मियता
झापामा नेपाल टेलिकमले प्रिपेड सिमकार्ड बाँड्न थालेदेखि हो मैले र राम सरले मोबाइल फोनको प्रयोग गर्न थालेको । त्यसवेलादेखि अहिलेसम्मको मेरो मोबाइलको सबै कल रेकर्डहरु हेर्ने हो भने मैले सबैभन्दा धेरै टेलिफोन कल गरेको र सबैभन्दा धेरै कल रिसिभ गरेको नम्बर राम सरकै मोबाइल नम्बर हो । अर्को रेकर्ड पनि के छ भने मोबाइल प्रयोग गर्न थालेदेखि एकैदिनमा मैले सबैभन्दा धेरै कल रिसिभ गरेको ०७५ चैत्र ९ गतेको दिन नै हो ।
राम सरको दुर्घटनाको बारेमा अकल्पनीय र अपत्यारिलो खबर सुन्नेहरुले खबर पुष्टि गर्नका लागि र थप जानकारीका लागि दिनैभर मलाई नै सम्पर्क गरिरहनुभयो । अर्थात् रामसरको बारेमा बुझ्नका लागि मलाई नै सोध्नुपर्छ भन्न छाप सबैजसोमा परेको रहेछ । यसले राम सरसँगको मेरो सम्बन्धलाई दर्शाउँछ । एक दिन मेरो सानो छोरोले सोध्यो, बाबा तपाईंको बेस्ट फ्रेन्ड को हो ? मैले जवाफ दिएँ, बाबु मेरो बेस्ट फ्रेन्ड त मेरो छोरो नै हो नि । छोरोले भन्यो, हैन हैन मलाई थाहा छ तपाईंको बेस्ट फ्रेन्ड राम सर हो । मेरो पाँच वर्षको छोरोले चिनेको बाबाको बेस्ट फ्रेन्ड गुमाउनु परेको छ ।
राम सर ०५२ सालदेखि शिक्षण पेशामा प्रवेश गर्नुभयो, म ०५८ देखि । ०६३ सालमा एकैदिन हामी स्थायी बन्यौं । शिक्षण पेशामा प्रवेशसँगै वहाँसंँग मेरो चिनजान भएको हो । समान विचार, समान धारणा, समान उद्देश्य, समान दृष्टिकोण भएकै कारण हामी एकअर्काका अत्यन्तै निकट बन्यौं । राजनीतिक तथा पेशागत आन्दोलनमा हामी सँगसँगै रह्यौं । हाम्रो सम्बन्ध थुप्रैको लागि आशाको र धेरैको लागि ईश्र्याको विषय समेत थियो । सधैं न्यायको पक्षमा, सत्यको पक्षमा, सकारात्मक परिवर्तन र रुपान्तरणको पक्षमा उभिनुपर्छ भन्नेमा हामी दृढ थियौं । साथीभाइ, छरछिमेकी, समाज, समुदाय, पार्टी वा विद्यालयको हितको लागि काम गर्दा राम सरले कहिल्यै आफ्नो व्यक्तिगत लाभको पक्षलाई वास्ता गर्नुभएन । वहाँको यो आदर्शबाट म सधैं प्रेरित भइरहें । त्यसकारण हाम्रा आस्था, विश्वास र आदर्शमा एकअर्काबाट कहिल्यै धोका हुँदैन भन्नेमा हामी विश्वस्त थियौं । जिम्मेवारीहरु लिने, नेतृत्व गर्ने विषयमा हामी दुई बीच कहिल्यै प्रतिस्पर्धा भएन । जुनसुकै जिम्मेवारीमा रहँदा पनि सँकल्प र उद्देश्यहरु साझा थिए ।
त्यसकारण जिम्मेवारीमा वहाँ कि म रहने भन्ने विषय गौण बन्थ्यो । स्वभावले म रामसर जति जाँगरिलो पटक्कै छैन । मेरो काम गर्ने गतिमा वहाँ एक्सलरेटर हुनुहुन्थ्यो । अहिले मलाई त्यो अभाव खड्किएको छ ।
लामो समय हामीले तत्कालिन नेकपा एमालेको विभिन्न महत्वपूर्ण जिम्मेवारीमा रहेर कार्य ग¥यौं । निकै लामो छलफल गरेर हामी सही विचार, सही दृष्टिकोण, सही योजनाको पक्षमा उभिन्थ्यौं । साथीहरुलाई गलतको विरुद्धमा र सहीपनाको पक्षमा उभ्याउन कोशिस गथ्र्यौं । थुप्रैले यसलाई गुटबन्दीको रुपमा अथ्र्याउने पनि गर्थे । पछिल्लो समय नयाँ संविधानको निर्माण भई तीन तहका निर्वाचनहरु सम्पन्न भएर संवैधानिक संरचनाहरुले पूर्णता पाइसकेको अवस्थामा हामीले ट्रेड युुनियन बाहेक दलीय राजनीतिबाट आफूहरुलाई अलग गर्ने सल्लाह गरेका थियौं ।
अर्जुनधारा नगरपालिकामा सार्वजनिक शिक्षाको विकास हाम्रो साझा लक्ष्य र संकल्प थियो । हाम्रो संकल्पमा कसरी स्थानीय सरकारको अभिभावकीय भूमिका र विश्वास आर्जन गर्ने भन्ने विषयमा हामी बढी नै चिन्तित थियौं । हाम्रो इमान्दार प्रयासहरुलाई जनप्रतिनिधिहरुले कहिलेकाहीं नबुझिदिंदा हामी दुःखी बन्थ्यौं । तर हरेश नखाइ निरन्तर स्थानीय सरकारसँग छलफल र अन्तरक्रिया गरिरहन्थ्यौं । सहयोग पाउँदा हौसिन्थ्यौं पनि । शिक्षकहरुको ट्रेड युनियनमा अर्जुनधारामा राम सर र म मात्रै भने होइन । हामीले आदर गर्ने नेताहरु र हामीले विश्वास गर्ने साथीहरु यहाँ थुप्रै हुनुहुन्छ । तर हामी एकअर्काका पहिलो सल्लाहकार थियौं ।
अपुरणीय क्षति
राम सरको वियोगपछि विद्यालयले अर्को एक प्रधानाध्यापक र शिक्षक पाउँछ, शिक्षक संगठनले पनि अर्को अध्यक्ष पाउँछ, परिवार पनि बिस्तारै शोकबाट तङिग्रदै जान्छ । तर वहाँले काम र जिम्मेवारीको जुन गह्रुङ्गो भारी सहजै बोक्नुभएको थियो र वहाँको कामको जुन गति थियो त्यसलाई वहाँका बाँचेका हामी सहकर्मीहरु मध्ये कसैले एक्लै उचाल्न र हिंड्न सक्दैन । त्यसकारण हामी धेरैजनाको सामुहिक प्रयासबाट मात्र समाजमा वहाँको रिक्ततालाई पूरा गर्न सक्छौं । वहाँको आदर्श, सपना, योजना र इमान्दारिताबाट हामी कोही चुक्यौं भने मात्र पनि त्यो रिक्तता पूरा हुँदैन । वहाँ एक पेशाकर्मी हुनुहुन्थ्यो । कर्तव्य पालनाको हिसाबले अब्बल पेशाकर्मी । तर पेशा बाहेक समाजको लागि वहाँको योगदान ठूलो थियो ।
पेशामा रहुञ्जेल वहाँको विद्यालय र नगरकै सार्वजनिक शिक्षाले वहाँबाट धेरै पाउने सम्भावना थियो भने अवकाश पछिको खुकुलो जीवनमा वहाँबाट यो समाजले अझै धेरै पाउने आशा गर्न सकिन्थ्यो । भविश्यका लागि बन्दै गरेको नगरको एउटा सक्षम नेतृत्व समेत हामीले गुमायौं । यस हिसाबले वहाँको निधन अर्जुनधाराकै लागि एउटा अपुरणीय क्षति हो ।
संघर्षमय जीवन
आर्थिक रुपमा अति सामान्य दलित परिवारमा जन्मनुभएका राम सरले जीवनमा अत्यन्तै धेरै अभाव र अपमानको सामना गर्नुभएको थियो । वहाँका थुप्रै स्कुले सहपाठीहरु सरासर उच्च शिक्षा पूरा गरी महत्वपूर्ण ओहोदाहरुमा हुनुहुन्छ । वहाँले कानुनमा प्रविणता प्रमाणपत्र प्राप्त गरेपछि अध्ययनलाई निरन्तर अगाडि बढाउन सक्नुभएन । केही साल अघि मात्र वहाँले शिक्षाशास्त्रमा स्नातक गर्नुभयो र स्नातकोत्तर तहका लागि वहाँ योजना बनाउँदै हुनुहुन्थ्यो । नियुक्ति पत्र लिएर पनि विद्यालयमा हाजिर गर्नै नपाउने जस्तो कहालिलाग्दो अपमान समेत वहाँले पटक–पटक सहनुभयो ।
जातीय संकिर्णता पटक्कै नपाल्ने दलित अगुवा वहाँ अल्पजीवनको उत्तराद्र्धतिर पनि आफ्नो निस्वार्थ सेवाको बदलामा अझै पनि कतिपय अवस्थामा अप्रत्यक्ष रुपमा अपमानित भइरहनुपरेको महसुस गर्दै हुनुहुन्थ्यो । तर ती सबैलाई माफ गर्न सक्ने र आफ्नो मिसनमा अविश्राम लागिरहने महान् योग्यताको धनी हुनुहुन्थ्यो ।
अलविदा रामकुमार अछामी सर । हामी तपाईंलाई भुल्ने छैनौं । तपाईंका आदर्श, योजना, सपना पूरा गर्न निरन्तर लागिरहने छौं । तपाईंप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । भौतिक रुपमा अनुपस्थित भए पनि हाम्रो प्रेरणा, साहस र शक्ति बनेर हामी माझ रहिरहनुहुनेछ ।