एसईईको नतिजा आज सार्वजनिक नहुने, हल्लाको पछि लाग्न बोर्डको आग्रह « Yalambar Times
७ आश्विन २०८१, सोमबार

एसईईको नतिजा आज सार्वजनिक नहुने, हल्लाको पछि लाग्न बोर्डको आग्रह


यलम्वर टाइम्स
११ असार २०७६, बुधबार ०७:०१

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको अन्तिम तयारीमा रहेको राष्ट्रिय परीक्षा बोर्डले बुधबार नतिजा सार्वजनिक गर्ने सम्भावना नरहेको स्पष्ट पारेको छ ।

बोर्ड अध्यक्ष चन्द्रमणि पौडेले आज (बुधबार) नतिजा सार्वजनिक नहुने पुष्टि गरे ।

‘आज रिजल्ट हुँदै हुँदैन, नतिजा प्रकाशनको तयारी चलिरहेको छ,’ उनले भने, ‘अन्तिम रुजु र क्रस चेकिङको काम भइरहेको छ, सकिनासाथ नतिजा सार्वजनिक हुन्छ ।’

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले पनि आज नतिजा सार्वजनिक गर्ने कुनै तयारी रहेको जनाए ।

नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बस्नु पर्छ । बुधबार मध्यान्हसम्म बोर्ड बैठक डाकिएका छैन । बोर्डका एक सदस्यले भने, ’यतिखेर त बैठक बोलाइ सक्नुपर्ने हो । बोलाइएको छैन । रिजल्ट हुने सम्भावना देख्दिनँ ।’

यतिबेला पनिकाका कर्मचारीहरुले नतिजा सार्वजनिकका लागि अन्तिम रुजु र क्रस चेकिङको काम गरिरहेका छन् ।

कुनै प्राविधिक समस्या उत्पन्न नभए बिहीबार रिजल्ट सार्वजनिक हुने सम्भावना बढी रहेको अधिकारीले जनाए । ‘कम्प्युटरमा प्रविधिकहरु डाटा इन्ट्रीसँगै रुजु गरिरहेका छन,’ उनले भने, ‘कुनै वाधाअवरोध नभए ४८ घण्टा भित्रसम्म नतिजा आउँछ ।’

मंगलबार अपराह्न र बुधबार बिहानैदेखि नतिजा प्रकाशन हुने खबर विभिन्न अनलाइन तथा सोसल मिडियामा छ्याप्छ्याप्ती भएको थियो ।

अधिकारी ती समाचार र सूचनाको खण्डन गर्दै भने, ’रिजल्ट प्रकाशनको तयारी गर्दा कामको चापअनुसार केहीघण्टा तलमाथि हुनसक्छ । यसैले कार्यालयले नतिजा प्रकाशनको मिति र समय तय नगरिएको हो । हल्लाको पछि नलागौं ।’

नतिजा सार्वजनिक गर्नु केहीघण्टा अघि सञ्चारमाध्यमहरुलाई समेत खबर गर्ने चलन छ । कान्तिपुरबाट