स्थानीय सरकारको सहयोगीको रुपमा काम गर्ने साना निर्माणकर्मीको प्रतिबद्धता « Yalambar Times
७ आश्विन २०८१, सोमबार

स्थानीय सरकारको सहयोगीको रुपमा काम गर्ने साना निर्माणकर्मीको प्रतिबद्धता


यलम्वर टाइम्स
२३ असार २०७६, सोमबार ०४:५९

बिर्तामोड । ‘सम्पूर्ण निर्माणकर्मीको एउटै आवाज, सुरक्षित कार्यस्थल नै सुरक्षित जीवनको आधार’ भन्ने नाराका साथ संगठित रुपले संस्था स्थापना गरी अग्रसर साना निर्माणकर्मी संघ झापाले स्थानीय सरकारको सहयोगीको रुपमा काम गर्ने प्रतिबद्धता जनाएको छ ।

बिर्तामोडमा भएको छलफलमा संघको नेतृत्वले स्थानीय सरकारसँग समन्वय, सहकार्य तथा सहयोगीको भूमिकामा अघि बढिरहेको प्रतिबद्धता जनाएको हो ।

देशमै पहिलोपटक झापामा साना निर्माणकर्मी संगठित भई भवन धनी, निर्माण श्रमिक तथा व्यवसायीको सुरक्षा तथा जोखिम बहनका लागि काम अघि बढाइएको संघका अध्यक्ष राजु राजवंशी (सन्तोष)ले बताए ।

जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता भई ४१ जना कालीगढलाई संघले दक्ष प्राविधिकको सहजीकरणमा भूकम्प प्रतिरोधात्मक तालिम प्रदान गरेको थियो ।

त्यस्तै जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडसँगको सहकार्यमा पहिलोचरणमा ३५ जना निर्माण श्रमिकको सात लाख रुपैयाँसम्मको दुर्घटना बिमा गरिएको सचिव श्याम बस्नेतले बताए ।

यसअघि निर्माण श्रमिक घाइते हुँदा वा मृत्यु हुँदा जोखिम बहन गर्ने कुनै निकाय थिएन । त्यस्तो बेला साना निर्माणकर्मी र घरधनीले नै आपसी सहमतिमा गच्छे अनुसार जोखिम बहन गर्दै आएका थिए ।

स्थानीय सरकारलाई सहयोग गर्न उनीहरुले नक्सा पास प्रक्रिया अर्थात् भवन निर्माणको पूर्व स्वीकृति बिनाको निर्माण कार्य जिम्मा नलिने बताउँदै आफूहरु राजश्व समेत तिर्न उत्साहित भएको बताएका छन् ।

स्थानीय सरकारले दिने व्यवसाय÷अनुमति प्रमाणपत्र नविकरण भएका साना निर्माणकर्मीलाई मात्र भवन निर्माण स्वीकृतिको प्रमाणपत्रमा हस्ताक्षर गर्न दिनुपर्ने, यदि कसैको नविकरण फेल भएको रहेछ भने नविकरणपछि मात्र त्यस्तो काम गर्न दिन स्थानीय सरकारसँग उनीहरुले माग गरेका छन् । त्यसले गर्दा राजश्वमा समेत वृद्धि हुने उनीहरुले बताए ।

त्यस्तै आप्रवासी ठेकेदारलाई रोक्न र आप्रवासी श्रमिकलाई सूचीकृत गरी करको दायरामा ल्याउन आफूहरु स्थानीय सरकारको सहयोगीको रुपमा काम गर्ने उनीहरुको भनाइ छ ।

सरकारले निर्माण क्षेत्रमा काम गर्नेहरुलाई भूकम्प प्रतिरोधी तालिममा सहयोग गर्न समेत उनीहरुले आग्रह गरेका छन् ।

त्यस्तै भवन संहिता बमोजिमको घर निर्माण कार्यमा प्रदान गरिने स्वीकृतिका क्रममा साना निर्माणकर्मी संघको सिफारिस समेत संलग्न गरिदिए सबै पक्ष जिम्मेवार हुने उनीहरुले बताए ।

यस्ता समस्या समाधान गर्ने हो भने निर्माण क्षेत्र तथा निर्माण श्रमिकहरुको समस्या र बेलाबखत आउने विवादहरु समाधान हुनेमा संघले जोड दिएको छ ।

छलफलमा अध्यक्ष राजु, उपाध्यक्ष केदार राजवंशी, सचिव श्यामबहादुर तथा मणि खुदाङ लिम्बू, उजनलाल राजवंशी, सोम मुर्मू, विनोदकुमार राजवंशी, कमल कार्की लगायतले विभिन्न समस्याका बारेमा धारणा राखेका थिए ।

झापामा मात्र वार्षिक करिब पाँच सयको हाराहारीमा निजी घर भवन बन्ने गरेका छन् भने उक्त काममा सात सयको हाराहारीमा साना निर्माणकर्मी तथा २० हजारको हाराहारीमा निर्माण श्रमिक संलग्न हुने गरेको संघले जनाएको छ । छलफलको संयोजन संवाद समूह झापाले गरेको थियो ।