आकर्षक गन्तव्य माई पोखरी « Yalambar Times
७ मंसिर २०८१, शुक्रबार

आकर्षक गन्तव्य माई पोखरी


यलम्वर टाइम्स
१३ श्रावण २०७६, सोमबार ०५:५७

[केशवराज भण्डारी]

इलामको माइपोखरी पुग्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि ब्यवस्थित ९ वटा होम स्टे सञ्चालनमा आएका छन् । सन्दकपुर गाउँपालिका वडा नं. ३ मा पर्ने कुनै कुनाले सजिएको सुन्दर माइपोखरी एक पोखरी मात्र होइन यो एक धार्मिक क्षेत्रका रुपमा समेत चिनिने गरिन्छ । यो माइ पोखरीको पानी सफा भएको हुँदा बाहिर रहेका बोटविरुवाको छायाँ पानीमा प्रष्ठ देखिने, छिन–छिनमा कुहिरो लाग्ने र छिनमै हट्ने अनुपम दृश्यावलोकन गर्न सकिन्छ । कुहिरोले यसरी लुकामारी खेल्दै उपस्थित मानिसहरुलाई स्वागत गर्दा प्रकृतिसँग रमाउन चाहने कोहीले अनुपम आनन्द लिन्छन् । ठूलो क्षेत्रफलमा फैलिएको उक्त पोखरीको वरिपरी परिक्रमा गर्ने हो भने १ दिन त यहिँ बित्छ । किनकी पोखरीको एक ठाउँबाट सम्पूर्ण क्षेत्रको अवलोकन गर्न सकिँदैन ।

माइपोखरी अन्तराष्ट्रिय विश्व सम्पदा सूचि (रामसार) क्षेत्रमा सूचिकृत भइसकेको छ । सन् १९८८ मा रामसार क्षेत्र संरक्षणका लागि अन्तराष्ट्रिय नीति निर्माण र पहलका लागि नेपालले पनि सहमत जनाइसकेको छ । यसै अनुरुप नेपाल सरकारले पनि माई पोखरीको विकास, संरक्षण र सम्वद्र्धनका लागि नेपाल सरकारले पनि विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको छ । माई पोखरी करिडोर क्षेत्रभित्र अर्किट नर्सरी व्यवस्थापन साथै विभिन्न लोपोन्मुसख वनस्पतीहरुको नर्सरी तयार गर्न पनि विभिन्न स्थानमा कार्यक्रम सञ्चालनमा रहेको छ ।

माई पोखरी क्षेत्रमा विशेष गरेर गलैँचे झ्याउ, चाँप, गुराँस, चिमाल, जरिवुटी, ठकठके, काँडेभ्याकुर लगायतका लोपोन्मुख वनस्पती तथा जीवजन्तु पाइन्छन् । यस क्षेत्रका अधिकांश नागरिकहरु कृषि पेशामा आधारित छन् । ९ घर परिवारका नागरिकहरु भने माई पोखरीदेखि १.५ किलोमिटर उत्तर पश्चिम देउराली बजार आसपासमा होमस्टे सञ्चालनमा ल्याएर पाहुनाको स्वागतसँगै खान, बस्नको व्यवस्थित प्रबन्ध मिलाएर मनग्गे आम्दानी गरिरहेका छन् ।

सुन्दर देउराली बजार, चिसो–चिसो मौसम फायर क्याम्पियनसँगै मकै, भटमास, गुन्द्रुक र सेल रोटीले स्वागत गरेको आतिथ्यता साँच्चै लोभै लाग्दो छ । पुरानै घरलाई सज्जीसज्जाउ गरेर पाहुना कोठालाई व्यवस्थित गर्दै घर वरवर बाह्रैमास फुलिरहने फुलबारीले होमस्टेमा आउने जो कोहीलाई मोहीत तुल्याउँछ । घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले प्रतिकुल महसुस गरुन् भन्ने उद्देश्यले सरसफाइमा विशेष ध्यान दिँदै होमस्टे सञ्चालनमा ल्याएका पाउँछौं । पर्यटन प्रवद्र्धनमा लागेका स्थानीयहरुलाई भने स्थानीय गाउँपालिकाले कुनै सहयोग नगरेको गुनासो पोख्छन् माइ पोखरी, देउराली सामुदायिक होमस्टेका संस्थाकप अध्यक्ष जीवन शिवा ।

साँस्कृतिक कार्यक्रम सञ्चालनका लागि सामुदायिक भवनको आवश्यकता रहेको बताउँदै उनी भन्छन्, ‘सामुदायिक भवन निर्माण गरेर यहाँको संस्कार संस्कृतिमा आधारित गतिविधि सञ्चालन गर्न पाए यस क्षेत्रको विकासका लागि हाम्रो पनि केही योगदान रहने थियो ।’ होमस्टे अर्थात् घर वास भन्नाले पारिवारीक वातावरणमा त्यही क्षेत्रको रहनसहन र संस्कृतीमा रमाउदै खाना र वासको प्रबन्ध मिलाइने एक व्यवसाय हो । जहाँ स्थानीय निकायमै पाइने खाने कुराहरु पकाएर खुवाइने गरिन्छ ।


स्थानीय खानासँगै न्यानो आतिथ्य प्रदान गरिरहेका ९ घरमा पाहुना बिनाको खाना पाक्दैन । माई पोखरी, देउराली सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको यस क्षेत्रमा वास बसेर छिन्तापु पुग्न सकिन्छ । जहाँ ३१ प्रजातिका गुँरासहरु पाइन्छन् । त्यसै गरी टोड्के भरना पनि यस क्षेत्रको एक महत्वपुर्ण प्राकृतिक सम्पदाको रुपमा परिचित छ । देउराली बजार, बजारको समिप्यमा रहेको सात खाल्डे, मासकटेरी, चमेरे गुफा लगायतका प्राकृतिक दृश्यावलोकन पश्चात् यहि बाटो गरेर सन्दकपुर जान सकिने भएकाले पनि यो क्षेत्र परा पर्यटनका दृष्टिले महत्वपुर्ण रहेको छ ।

स्थानीय खानासँगै न्यानो आतिथ्य प्रदान गरिरहेका ९ घरमा पाहुना बिनाको खाना पाक्दैन । माई पोखरी, देउराली सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको यस क्षेत्रमा वास बसेर छिन्तापु पुग्न सकिन्छ । जहाँ ३१ प्रजातिका गुँरासहरु पाइन्छन् । त्यसै गरी टोड्के भरना पनि यस क्षेत्रको एक महत्वपुर्ण प्राकृतिक सम्पदाको रुपमा परिचित छ । देउराली बजार, बजारको समिप्यमा रहेको सात खाल्डे, मासकटेरी, चमेरे गुफा लगायतका प्राकृतिक दृश्यावलोकन पश्चात् यहि बाटो गरेर सन्दकपुर जान सकिने भएकाले पनि यो क्षेत्र परा पर्यटनका दृष्टिले महत्वपुर्ण रहेको छ ।

यस क्षेत्रमा भएको सात खाल्डे त्यतिकै महत्वपुर्ण छ । २०१८ सालमा नेपाली कंग्रेसका ७ जना कार्यकर्तालाई तत्कालिन शाही सेनाहरुले खाल्डो खन्न र खाल्डोभित्र पस्न लगाइ गोली हानेर निर्मम हत्या गरेको इतिहास साक्षी छ । तत् पश्चात यस ठाउँलाई सात खाल्डे भनेर नामाकरण गरीएको थियो । सो क्षेत्र पनि यहाँको ऐतिहाँसिक क्षेत्रका रुपमा परिचित छ । त्यससँगसँगै २०१८ सालमै माई पोखरीको निकास भएको क्षेत्रका स्थानीय डम्वरसिं सुनुवारका १२ वर्षीय एक छोरी र डेड वर्षका एक छोरालाई घरको आँगनमा खेलिरहेको अवस्थामा शाही सेनाबाटै निर्मम हत्या हुँदा बाबु डम्वरसिं सुनुवारले वियोगमा निर्माण गरिएको अर्थात् कुदिएका मुर्ती तथा कलात्मक देवाल पनि यो क्षेत्रको एक ऐतिहाँसिक क्षेत्रका रुपमा रहेको छ ।

बृद्ध अवस्थाका डम्वरसिं सुनुवार अझै जीवित हुनुहुन्छ । तर उहाँको परिवार राज्य पक्षबाटै उजाडिदा राहतको त कुरै छाडौँ राज्यबाट सान्तवना समेत पाउनु भएको छैन । बरु उहाँले वियोगलाई शक्तिमा परिणत गर्न एउटा छुट्टै संसारको निर्माण गर्नु भएको छ । कम कान सुन्ने बृद्ध डम्वरसिं सुनुवार यतिबेला फाटेको, मक्काको चित्राको पुरानो छाना भएको एउटा अध्यारो निसपट्ट गुफा जस्तो कटेरोमा एक्लो जीवन बिताइरहनु भएको छ । यी दुवै स्थान माइपोखरी अवलोकन गरेर होमस्टे जाने पद मार्गमा पर्दछन् ।

कञ्चनजंघा भूपरिधि संरक्षण तथा विकास पहल नेपालले सहयोग गरेपछि सञ्चालनमा आएका होम स्टेमा एक घरमा ५ जनाको दरमा पाहुना राख्न सक्ने क्षमता छ । कञ्चनजंघा भूपरिधि संरक्षण तथा विकास पहल कार्यक्रम कञ्चनजंघा हिमाल आसपासको ३२ स्क्वायर फुट आसपासमा सञ्चालनमा रहेको छ । जसले नेपाल लगायत भारत र भुटानमा समेत काम गरिरहेको छ ।

विषेश गरेर पर्यटकीय विकासमा योगदान गरिरहेको कञ्चनजंघा भूपरिधि संरक्षण तथा विकास पहल कार्यक्रमले स्थानीयहरुको क्षमता विकास र प्रचार–प्रसारका क्षेत्रमा स्थानीय नागरिकहरुसँग हातेमालो गरेर अगाडि बढिरहेको कञ्चनजंघा भूपरिधि संरक्षण तथा विकास पहल कार्यक्रमको साझेदारी सँस्था व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) का यादव उप्रेतीले बताए ।

माई पोखरी कन्चनजंघा भूपरिधि संरक्षण तथा विकास पहल कार्यक्रमको क्षेत्रभित्रको एक मात्र रामसार विश्व सम्पदा सूचिमा परेको हुँदा यस क्षेत्रको विकासका लागि आफ्नो कार्यालयले विषेश रुपमा हेरेको पनि उप्रेतीले बताए । सन् २०१२ र १३ मा यस क्षेत्रको सम्भाव्यता अध्ययन गरेर २०१६ देखि पाइलट प्रोजेक्टका रुपमा कार्यक्रम सञ्चालनमा ल्याएको बताउदै उनी भन्छन्, ‘इको टुरीजम को सम्भावना बोकेको क्षेत्र देखेपछि यस क्षेत्रका नागरिकहरुलाई विषेशत क्षमता अभिवृद्धिका लागि कार्यक्रम सञ्चालनमा ल्याएका हौँ ।’

९ वटा होमस्टे सञ्चालनमा ल्याउनका लागि सञ्चालकहरुलाई नेपालका विभिन्न क्षेत्रमा सञ्चालनमा आएका हामस्टेहरुको अवलोकन गराउँदै होमस्टे स्थापनामा सहयोग गरिरहेको बताए । उनी भन्छन् ‘त्रिदेशीय (नेपाल, भारत र भुटान) कार्यक्रम भएकाले तिन वटै देशको पर्यटन प्रवर्धनमा हामीले काम गरिरहेका छौँ ।’ उप्रेतीले यस्तो प्राकृतिक संरक्षको कार्यक्रम कैलाश हिमालको आसपासमा पनि सञ्चालनमा रहेको बताए ।

नेपाल सरकार वन तथा भु–संरक्षण मन्त्रालयका सहायक कार्यक्रम अधिकृत रविनकुमार ग्यालन भन्छन्, ‘यस क्षेत्रमा भएका प्राकृतिक संपदा तथा धरोहरहरुसँगै जोडिएको माई पोखरी क्षेत्र मानिसको शरीरमा किड्नीको जति महत्व छ जैविक विविधता र प्रकृतीको सन्तुलन संरक्षणका लागि यो रामसार क्षेत्र पनि त्यतिनै महत्वपुर्ण छ । यो प्रकृतिको मृगौला हो यसको संरक्षण संवर्धन र प्रवर्धन गर्नु आवश्यक छ ।’

माइपोखरी रामसार क्षेत्रका फोकल पर्शन राम एकवाल दास भन्छन्, नेपालमा नेचुरल रिसोर्स अधिक भए पनि रिसर्च र डकुमेन्टेस गर्न नसक्दा पछाडी परेको बताए । कञ्चनजंघा भूपरिधि संरक्षण तथा विकास पहल कार्यक्रमले कोठा व्यवस्थापन, कुक तालिम तथा होमस्टे सञ्चालनमा प्राविधिक सहजीकरणमा सहयोग गरेको माइपोखरी देउराली सामुदायिक होमस्टे सञ्चालन समितिकी सचिव लिलादेवी भट्टराईले बताइन् ।

केशवराज भण्डारी