[पुण्य सुवेदी]
३८ वटा दशैंहरु पार गरिएछ । शैशवावस्था र पूर्व बाल्यावस्थाका केही दशैंहरु थाहै नपाई बिते । बाल्यकालका दशैंहरु कति सम्झनामा छन्, कति विस्मृत बने । परिवारका सदस्यहरुको मृत्यु शोकका कारण कति दशैंहरु मनाउनै पाइएन । मानिसहरु खासै पत्याउदैनन् तर म अढाइ वर्षको हुँदा घरमै मेरो भाइ जन्मेको दिन अलिअलि याद छ । सबैभन्दा अघिल्लो स्मृति त्यसैलाई मान्दा म तीन वर्षको उमेरदेखिका मुख्यमुख्य घटनाहरु राम्ररी स्मरण गर्न सक्छु भन्ने लाग्छ । त्यति बेलादेखि अहिलेसम्मका दशैंहरु तुलना गर्दा निकै नै फरक पाइन्छ ।
चाडपर्वहरु हाम्रा साँस्कृतिक धरोहरहरु हुन् । हाम्रा चिनारी हुन् । यिनीहरु प्रकृतिसँग र अनेक पौराणिक मिथकहरुसँग जोडिएका छन् । विभिन्न धर्म, समुदाय, भूगोलमा फरक–फरक महत्व बोकेका अलग–अलग पर्वहरु मनाइन्छन् । ती सबै हाम्रा साँस्कृतिक सम्पदाहरु हुन् । मेरो परिवार र समुदायले सबैभन्दा बढी हर्षोल्लासपूर्वक मनाउने पर्व दशैं र तिहार नै हुन् । पारिवारिक, सामाजिक पूनर्मिलनका महत्वपूर्ण अवसरहरु हुन् यी पर्वहरु । व्यस्तता र थकान बीच समय निकालेर रमाइलो गर्ने, आपसी प्रेम, स्नेह, भाइचारालाई नविकरण र प्रवद्र्धन गर्ने काम पर्वहरुले गर्दछन् । पर्वमा दिइने सार्वजनिक विदाहरुका कारण पनि हामी पर्वका महत्वहरुलाई आत्मसात् गरिरहन, आफ्नो सँस्कृतिलाई अनुशरण गरिरहन समर्थ बनेका छौं ।
सानो छँदा पर्वहरुका महत्व नै फरक थिए । सरस्वती पुजा बुनियाँ खाने दिन थियो । बाल दिवस चकलेट खाने दिन थियो । स्कुलको वार्षिकोत्सव पिटी खेल्ने दिन थियो । यसरी नै मेरो लागि दशैंको तीनवटा महत्व थियो भन्ने लाग्छ । पहिलो महत्व सुनाउनु अघि शाकाहारी पाठकहरुसँग क्षमा माग्छु, सोह्रश्राद्ध सकिएकै हुन्नथ्यो, खसी काट्ने दिनको काउन्ट डाउन शुरु भइसक्थ्यो । दोस्रो महत्व नयाँ लुगा । अनि तेस्रो चैं मावल र दक्षिणा ।
माछा, मासु मलाई मनपर्ने खानेकुरा हो । अहिले पनि आफ्नै घरमा मासु पकाएर खाएको भोलिपल्ट छिमेकीकोमा बास्ना आयो भने बेचैनी नै हुन्छ । बच्चा छँदा त लगभग एक डेढ महिनाको अन्तरमा छिमेकीकोमा खसी काट्ने र गाउँभरि भाग लगाएर बेच्ने चलन थियो । यो चलन गाउँमा घटेको छ तर हटेको छैन । गाउँमा खसी काट्ने दिन दशैं नभए पनि सानोतिनो पर्व झैं लाग्थ्यो । दशैंमा चैं प्रायः छिमेकमा दुई परिवार मिलेर एउटा सिङ्गो खसी काटेर खाने गरिन्थ्यो । अरु बेला एक केजी मासु ल्याएर एक छाक खान पाइन्थ्यो भने दशैंमा फुलपातीका दिनदेखि दशमी वा सोभन्दा पछिसम्म धित मरुञ्जेल मासु । मासुका अनेक परिकार । सकिने बेलातिर अलिअलि गन्हाउने मासु । खानामा मासु, खाजामा मासु । धेरै खाएर बिसञ्चो हुन्छ भनेर आमाबुबाले सम्झाउदा पनि टेरिन्नथ्यो । दशैंको सबैभन्दा महत्वपूर्ण पक्ष नै यही थियो । आजभोलि पनि मासुमा रुचि घटेको छैन । तर मासु किनेर खानका लागि गाउँमा खसी काट्ने दिन वा चाडपर्व पर्खनुपर्ने अवस्था छैन । दशैंमा खसी काट्ने प्रचलन त अद्यापि छदैछ । आधा खसी होइन सिङ्गो खसी । तर त्यो नै सबैभन्दा महत्वपूर्ण पक्ष भने होइन ।
हरेक दशैंमा बुबाले बजारबाट नयाँ लुगा किनेर ल्याइदिनुहुन्थ्यो । बालीको दर्जी हुनुहुन्थ्यो । वर्षभरि लुगा सिलाउने अनि मंसिरमा शर्त बमोजिम धान लैजाने । वहाँ हाम्रो घरमै आएर लुगाको लागि नाप लिएर जानुहुन्थ्यो । लुगा सिलाइसक्ने भाका दिनुहुन्थ्यो । भाका दुई–तीन पटक सर्दथ्यो । नयाँ लुगा लिन वहाँको घर धाउनुको छुट्टै मज्जा थियो । नयाँ लुगा सेतो सर्ट र निलो हाफ पेन्ट वा पेन्ट हुन्थ्यो । दशैं भरि दशैंको नयाँ लुगा अनि दशैं सकिएपछि स्कुल ड्रेस । घरमा बस्दाको प्रयोजनका लागि सामान्य कपडा बाहेक बाहिर निस्कनका लागि हामीसँग सेतो सर्ट र निलो पेन्ट मात्र त हुन्थ्यो । अर्को दशैंसम्ममा पेन्ट अलि छोटो र सर्ट छिर्का बसेर सेतो र कालो बराबर भइसक्या हुन्थ्यो । दशैंमा त्यही भए पनि नयाँ पाइने भएकोले नयाँ लुगाको उमङ्ग आजकलका केटाकेटीको भन्दा अलि बढी नै हुने गथ्र्यो । आजकल नयाँ लुगाको लागि दशैं पर्खनु पर्ने अवस्था छैन । दशैंका लागि नयाँ लुगा किन्नैे पर्छ जस्तो पनि लाग्न छोडेको छ । म कपडाको खासै सौखिन पनि होइन । अचेल कपडा आवश्यकता अनुसार जुनसुकै बेला पनि किन्न सकिने चिज बनेको छ ।
टिकाको दिन घरमै बुबा आमाले हामीलाई टिका लगाइदिनुहुन्थ्यो । घरमा टिका लगाउने काम सकेर सोही दिन हामी मावल जान्थ्यौं । मावल जानुको फेरि अनेक अर्थ र महत्व थिए । सेतो सर्ट र निलो पेन्ट नै भए पनि नयाँ लुगामा ठाँटिएर हिंड्न पाइने । कोचिएर उभिनुपर्ने भए पनि बस चढ्न पाउने भनेको मावल जाँदा मात्रै त थियो । बसको झ्यालबाट हेर्दा घर, रुख सबै कुदेको दृष्य अवर्णनीय रमाइलो दृष्य हुन्थ्यो । नाति वा भाञ्जोले पाउने मायाले गर्दा पनि मावलप्रति मेरो निकै आकर्षण थियो । फुलपातीदेखिको मासु त मावलमा सिद्धिसकेको हुन्थ्यो तर परेवा पालेको हुनाले खासै चिन्ता थिएन । बसमा भाडा माग्ने उमेरको भइसकेपछि भने मेरो बसभाडाको लागि बुबा वा आमाले कन्डक्टरसँग गर्नुभएको मोलमोलाइ उस्तै रमाइलो हुन्थ्यो । बाटाभरि पोहोरको भन्दा यस पटकको दक्षिणा कति रुपैयाँले बढ्ने हो वा नबढ्ने हो भन्ने जिज्ञासा लागिरहन्थ्यो । हजुरबा र हजुरआमाले टिका लगाइदिएपछि मात्रै जिज्ञासा शान्त हुन्थ्यो । त्यो बेला दक्षिणा खाम भित्र राखेर दिने चलन नभएकोले टिका थापिसकेर एकछिन ओल्टोकोल्टो जानुपर्ने अवस्था भने थिएन । दक्षिणा धेरै त हुन्नथ्यो तर विना लगानीको आम्दानी हुन्थ्यो । गाडी भाडा र कोसेलीको जोहो गर्नुपर्ने आफूले थिएन । दक्षिणाको सदुपयोग मिठाइ र खेलौना किनेर गरिन्थ्यो । बुबा जुवाडे त हुनुहुन्थ्यो तर दशैं, तिहारमा गाउँभरिका बुबाहरु भेला भएर तास खेल्नुहुन्थ्यो । कहिलेकाहिं तासमा मारेर अलि धेरै बनाएर ल्याइदिन्छु भनेर बुबाले दक्षिणाको पैसा माग्नुहुन्थ्यो । म दिन्थें । थपेर ल्याइदिनुभएको चैं याद छैन बरु हारेर रित्तै आउनुहुँदा निकै पिर लाग्थ्यो । अचेल पनि दशैंमा मावल र ससुराल जाने गर्छु । टिका थाप्न जानुको उद्देश्य दक्षिणा संकलन नै त होइन । तर खाम खोल्ने हतारो चैं अझै पनि हुने गर्छ । परिवारमै टिम पु¥याएर तास पनि खेलिन्छ । साँच्चै हो, अझै मलाई तासमा हारेको वा जितेको र दक्षिणा थापेको पैसाको ज्यादा नै लोभ लाग्छ ।
अहिले त थुप्रै घरहरु बने । तर त्यसबेला हाम्रा गाउँ पातलो नै थियो । सानैदेखि म अन्तरमुखी स्वभावको मान्छे । अहिले भन्दा निकै डरपोक पनि थिएँ । साथीहरु धेरै बनाउने र उनीहरुसँग खेल्ने बानी उतिसारो थिएन । मोजाभित्र कागज, थोत्रा कपडा खाँदेर फुटबल बनाएर खेल्ने, कबड्डी, लुकिडुम र अरु केही बाल सुलभ खेलहरु खेलेको याद छ । तर दशैं मेरो लागि खेलेर मनाउने चाड थिएन । दाजुले बनाइदिएको चङ्गा कहिलेकाहिं उडाइयो होला । गाउँमा लिङ्गे पिङ हाल्नका लागि बाँस र पाटा संकलन हुन्थ्यो । सानोमा डरले गाउँमा हालिएको पिङ खेलिएन । अचेल पनि मच्चाउन नजानेर लाजले खासै खेलिन्न । बरु घरैमा बुबाले अलि सानो डोरी हालेर बनाइदिनुभएको पिङ चैं मच्ची मच्ची खेलिन्थ्यो । टिका लगाउन मावल जाने बाहेक दशैंमा घुमफिर भनेको आइतबार हाटको दिन आमा वा बुबाको साथमा चारआली बजारसम्म हुनसक्थ्यो । बरु घरमै बसेर दशैंमा रेडियो नेपालमा देवीहरुले दानवहरुलाई बध गरेको पौराणिक कथामा आधारित रेडियो नाटक नछुटाइ सुनिन्थ्यो ।
अहिले सम्झन्छु हाम्रो लागि रमाइलो त्यो दशैं बुबाको लागि चैं कस्तो थियो होला ? सहरेडाँगीमा सुरेन्द्र विष्ट र टंक बरालको काँटा थियो । बुबाले धान, मकै, गहुँ त्यहीं लगेर बेच्नुहुन्थ्यो । पाटा बेचेको रकम असारमा बाली लगाउँदाको ऋण तिर्दा सकिन्थ्यो । दशैं पनि बुबाले जहिल्यै ऋणमा मनाउनु भयो । मंसिरमा बेच्ने धानको मूल्य अग्रिम भुक्तानी लिएर । कति महिनाको घर खर्च दशैंमा सकिन्थ्यो होला ? खेतीपाती बाहेक आम्दानीको अर्को कुनै स्रोत थिएन । धेरैजसो अन्नबाली यसरी नै अग्रिम भुक्तानी लिएरै बेच्ने गर्नुहुन्थ्यो । म १२ वर्षको छँदा बुबा बित्नुभए पछिका निकै वटा दशैं शोकैशोकमा रमाएजस्तो गरेर बिताइयो । बुबाको शोक मेटिने घाउ त होइन तर खाटा बस्न खोज्दा अलि अलि काम गर्ने र आर्जन गर्ने क्रम शुरु भो । त्यसपछि दशैंको माथि वर्णित महत्व हराउन थाल्यो ।
के दशैंको महत्व केटाकेटीहरुका लागि मात्रै हो त ? होइन । हुर्के बढेकाहरुका लागि पनि दशैंको महत्व छ । कहिलेकाहीं सोच्छु, यो दशैं, तिहार मनाइदैनथ्यो भने मेरो आमाले आफ्ना चारैजना सन्तानहरुलाई नातिनातिनी सहित एकैसाथ भेट्ने अवसर कहिले पाउनुहुन्थ्यो होला ? मेरा दाजु, दिदी र भाइ मेरो परिवारका पूर्व सदस्य बन्ने थिए । उहिले सँगै हुर्केको, बढेको, खेलेको, खाएको, सुतेको तर अहिले कहिलेकाहीं सञ्चो बिसञ्चो सोधिने । दशैं छ, हाम्रा पर्वहरु छन् । त्यसैकारण त हामी एउटै परिवारका सदस्यहरु हौं । गाउँमा म सँगसँगै हुर्केका दौंतरीहरुसँग एकैसाथ भेटघाट यही दशैंले त जुराउँदै आएको छ । देश भित्रबाट मात्र होइन बिदेशबाट समेत दशैंमा परिवार भेटघाटका लागि आउने चलन छ । यसले पारिवारिक स्नेह र सामाजिक सद्भावलाई अक्षुण्ण राख्न सघाएको छ ।
आजकल मानिसहरु बढी व्यस्त र तनावयुक्त जीवन बाँचिरहेछन् । दशैंले मानिसलाई एकतमासको व्यस्तता र तनावबाट रिफ्रेस गर्ने गरेको छ । ठूलालाई आदर सम्मान गर्ने, सानालाई माया गर्ने र खुशी राख्ने हाम्रो दशैं सँस्कृति हो । भेटघाट, अन्तरक्रियाले अनुभव र सिकाइहरुको आदानप्रदान गराउँछ । घुमफिरले आन्तरिक पर्यटनलाई बढावा दिएको छ । दशैंलाई अब यही रुपमा मनाउनुछ ।
रोग, शोक र अभाव झेलिरहेकाहरुका लागि भने दशैंले सामान्य भन्दा बढी नै हैरानी दिन्छ । त्यसकारण दशैं आफू पनि रमाउने र अरुलाई पनि रमाउन सहयोग गर्ने गरेर मनाउनु पर्छ । खानपिनले शारीरिक र सामाजिक स्वास्थ्यलाई असर नगरोस् । दशैं बजारले देशको व्यापार घाटालाई बढाउन धेरै योगदान गर्न नपाओस् । गच्छेभन्दा बढी खर्च गर्दा ऋणमा डुब्ने स्थिति नआओस् भन्नेतर्फ सचेत हुनैपर्छ । पारिवारिक, सामाजिक मिलन र उल्लासको पर्व कतै आफनो दशैं उन्मादको कारण कलहको पर्व बन्दैछ कि भनेर पनि ध्यान दिनुपर्छ । आफू भित्रका असुरी स्वभावहरु पर्गेल्ने र तिनीहरुमाथि विजय प्राप्त गर्ने अवसरका रुपमा पनि दशैंको उपयोग गर्न सकिन्छ । टिका र जमरा लगाएको सामुहिक फोटो खिचेर फेसबुकमा पोष्ट गर्ने अवसरमा मात्रै दशैं नखुम्चियोस् । दशैं अमर रहोस् । हाम्रो दशैं सँस्कृति पनि अमर रहोस् । सबैलाई बडादशैं २०७६ को हार्दिक शुभकामना ।