भोको पेट र नाङ्गो आङले राष्ट्रियताको रक्षा हुँदैन: नेकपा नेता पाण्डे « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

भोको पेट र नाङ्गो आङले राष्ट्रियताको रक्षा हुँदैन: नेकपा नेता पाण्डे


यलम्वर टाइम्स
२१ पुष २०७६, सोमबार ०५:१९

अर्जुनधारा । नेकपा नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले विकासको तरिका पढ्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

अर्जुनधारा नगरपालिकाले आयोजना गरेको नगर युवा परिषद, खेलकुद विकास समिति, भाषा कला साहित्य तथा संस्कृति प्रवद्र्धन समितिको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो धारणा राखेका हुन् ।

‘हामी आन्दोलन गरेर सत्तामा पुग्यो, मलाई मन्त्री हुँदा नजानेको कुरा के छ र जस्तो लाग्थ्यो’, पूर्व अर्थमन्त्री पाण्डेले भने, ‘एउटा सुरुङ बनाउनु पर्यो भने पनि हामीसँग इन्जिनियर नै रहेछ, हामी पार्टीका नेताले पनि विकास कसरी गर्ने भन्ने जानेका नै रहेनछौं, त्यसैले स्थानीय तहका जनप्रतिनिधिलाई मेरो अनुरोध छ, विकास कसरी गर्ने भन्ने अध्ययन गर्नुहोस् ।’

नेकपा स्थायी समितिका सदस्य पाण्डेले किसानका उत्पादलाई कसरी बजार पहुँच दिलाउने भन्ने विषयमा स्थानीय तहले कार्यक्रम बनाउनु पर्ने बताएका छन् ।

उनले देश आर्थिक रुपमा सवल नभई भोको पेट र नाङ्गो आङले राष्ट्रियताको रक्षा गर्न नसक्ने बताए ।

‘यहाँ प्रहरीको तलव २५ हजार रुपैयाँ छ, खाडी गयो भने सेक्युरिटी गार्डले एक लाख रुपैयाँ कमाउँछ, अनि कसरी योग्य जनशक्तिलाई देश विकासमा लगाउन सकिन्छ ?’, पुर्व मन्त्री पाण्डेले भने, ‘चीनले विदेशमा रहेका नागरिकलाई देश वोलाएर आकर्षक तलब दिएर देश विकास गर्यो, त्योबाट हामीले सिक्न जरुरी छ । कसैसँग राष्ट्रियताको लडाईं लड्नु पर्यो भने पनि हतियार किन्न पैसा नै चाहिन्छ ।’

शिक्षित जनशक्तिको अभाव सुरु भएको बताउँदै नेता पाण्डेले स्वर्गीय डाक्टर उपेन्द्र देवकोटाले मासिक साढेचार करोड रुपैयाँ कमाउने गरेको प्रसंग सुनाए । उनले भने, ‘प्लटिङमा लगानी गरेर होइन, छोराछोरीलाई राम्रो शिक्षा दिएर सम्पन्न बनाउन सकिन्छ ।’ नेता पाण्डेले नेताका भाषण होइन, सर्वसाधारणका उन्नतिका समाचार बनाउन पत्रकारलाई आग्रह गरे ।

कार्यक्रममा नगर प्रमुख हरिकुमार रानाले नगर युवा परिषद, खेलकुद विकास समिति, भाषा कला साहित्य तथा संस्कृति प्रवद्र्धन समितिका पदाधिकारी सदस्यलाई सपथ गराएका थिए ।

कार्यक्रमको औचित्यमाथि उपप्रमुख कमला खतिवडा आचार्यले प्रकाश पारेको कार्यक्रममा विभिन्न क्षेत्रका उत्कृष्ट प्रतिभालाई पुरस्कृत गरिएको थियो । सो अवसरमा सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।

कार्यक्रममा साग खेलमा करातेबाट कास्य पदक विजेता अर्जुनधाराकी एस्तर राई र अर्जुनधाराबाट कनकाई कप सहभागि हुँदै जित्न सफल फुटबल टीमलाई नगद सहित सम्मान गरिएको थियो ।