युवा साहित्यकार कुमार र अश्वत्थामा « Yalambar Times
८ मंसिर २०८१, शनिबार

युवा साहित्यकार कुमार र अश्वत्थामा


यलम्वर टाइम्स
२७ माघ २०७६, सोमबार ०६:०१

प्रेमप्रकाश मल्ल (दैलेख)

[प्रेमप्रकाश मल्ल (दैलेख)]

१) पृष्ठभूमि

साहित्यकार कुमार भट्टराईसँग मेरो आजसम्म साक्षात्कार भएको छैन । सशरीर नभए पनि लेखक र पाठकका रूपमा उनीसँग मेरो परोक्ष साक्षात्कार भने धेरैपटक भएको छ । आजसम्मको सिर्जनात्मक साक्षात्कारमा उनलाई मैले मेरो युगका एक सशक्त लेखकका रूपमा चिनेको छु । यसपालि उनलाई अश्वत्थामामा भेट्दा त्यो चिनारी अभैm गहिरिएको छ । यस उपन्यासले उनलाई नेपाली उपन्यास परम्परामा एक अब्बल साधकका रूपमा स्थापित गराएको छ । महाभारत जस्तो अद्वितीय रचना र त्यहाँ प्रयुक्त एक नरसंहारकारी अमानवीय चरित्रमाथि केन्द्रित रहेर कतिपय मूल्य भत्काउने प्रयत्न गर्नु सामान्य साधनाको विषय होइन । सोही कठिन साधनामा उनले आपूmलाई उभ्याएका छन् ।

२) विषय प्रवेश

अश्वत्थामा उपन्यास महाभारतकै एक योद्धा अश्वत्थामालाई नायक बनाएर लेखिएको कृति हो । द्रोणपुत्र अश्वत्थामालाई हाम्रो पौराणिक अख्यानले अष्ट चिरञ्जीवीमध्येका एक ठानेको छ । कुरुक्षेत्र युद्धको अन्तिम समयमा सेनापतिको जिम्मा पाएका उनले आफ्ना मित्र दुर्योधनलाई खुसी दिन पाण्डव भनी पाण्डुपुत्रहरूको हत्या गरिदिएका थिए । उत्तराको गर्भमा समेत प्रहार गरेर हदैसम्मको धर्मयुद्ध विरोधी अमानवीय प्रवृत्ति देखाएका कारण उनको शीरको मणि खोसिएको थियो । त्यही घाउ लिई उनले हजारौँ वर्ष यसै धर्तीमा भौँतारिएर बाँच्नुपर्ने सजाय पाएका थिए । महाभारतको अन्त्यमा देखिएको उनको चरित्र यही हो । उनैद्वारा व्यासकृत महाभारतका कैयन् स्थापित मूल्यलाई लीलाचेतको माध्यमबाट आख्यानकार कुमार भट्टराईले यस उपन्यासमा भत्काउने प्रयत्न गरेका छन् ।

अश्वत्थामाले अर्जुनधारा जलेश्वर धाम झापामा दुई रात लगाई सुनाएको कथालाई लेखकद्वारा लिपिबद्ध गरिएको कला प्रविधि यस उपन्यासमा प्रयोग भएको छ । त्यसैभित्र प्रस्तुति, श्रवण, विश्राम, प्रतिक्रिया, पुनःप्रस्तुति र विसर्जनको बुनाइ पनि देख्न सकिन्छ । अठार अध्यायमा पूर्णता प्राप्त गरेको यस उपन्यासमा आपूmलगायत सबैले भोग्नुपरेको पीडाको कारक कृष्ण र पाण्डवहरू नै भएको कुरा अश्वत्थामाका कोणबाट व्यक्त भएको छ । बहुल पात्रको प्रयोग भएको यो उपन्यासमा अश्वत्थामालाई सूत्रधार बनाई कौरवहरूलाई सत् र पाण्डवहरूलाई असत् चरित्रका रूपमा उभ्याउने प्रयास गरिएको छ ।

३) मूल कथानक सन्दर्भ

भारतस्थित गंगा, जमुना र सरस्वती नदीको किनारमा कृपी र द्रोणपुत्रका रूपमा अश्वत्थामाको जन्म भएको रहेछ । हुर्कंदै जाँदा उनले आफ्नो गरिबी, अपमान र असुरक्षाबिचको अवस्था बुझे । आफ्नै लागि पिताजीले घर छोड्नुको कारण बुझ्न भने उनलाई धेरै समय लाग्यो । समस्याबाट मुक्तिको जीवन बाँच्न उनीहरू मामासँगै हस्तिनापुर पुगे । तैपनि प्रिय त्रिवेणी र स्वजनहरूको मायाले उनी पग्लन छोडेनन् । मातालाई मामा कहाँ छोडेर केही समयपछि फेरि उनी पिताजीको गुरुकुलमा जान बाध्य भए । द्रोणले समालेको त्यो गुरुकुलमा उनको कौरव पाण्डवहरूसँग भेट भयो । एउटै गुरुकुलमा पढ्दा उनको सबैभन्दा धेरै प्रेम भने दुर्योधनसँग भयो । दुर्योधनको मिलनसार, सहृदयी, उदार र सहयोगी बानीले आकर्षित भएका उनलाई फेरि पिताजीको अर्जुन मोहले भने अचम्मित पारिरह्यो । पिताजीबाट आफ्नो ब्राह्मण धर्म, आपूmहरूको अवस्था, दरबारिया घटनहरूमा देखाउनुपर्ने तटस्थता आदि अनेक विषय पनि उनले त्यहीँ सिक्न पाए । पाँच पाण्डव र दुर्योधनहरूको प्रतिस्पर्धा र आपसी ईष्र्या पनि देखे । तैपनि निष्कलङ्क दुर्योधनलाई षड्यन्त्रकारीको आरोप लागेको उनले बुझे । पिताजीले निष्कलङ्क मन, आज्ञाकारिता र गुरुभक्तिको कारण देखाउँदै अर्जुनलाई नै संसारको सर्वश्रेष्ठ धनुर्धर बनाउन कर्ण र एकलव्यलाई असह्य अपमान र आघात दिएको कुराले उनको मन तरङ्गित भइरह्यो ।

पिताजीबाट आफ्नो ब्राह्मण धर्म, आपूmहरूको अवस्था, दरबारिया घटनहरूमा देखाउनुपर्ने तटस्थता आदि अनेक विषय पनि उनले त्यहीँ सिक्न पाए । पाँच पाण्डव र दुर्योधनहरूको प्रतिस्पर्धा र आपसी ईष्र्या पनि देखे । तैपनि निष्कलङ्क दुर्योधनलाई षड्यन्त्रकारीको आरोप लागेको उनले बुझे । पिताजीले निष्कलङ्क मन, आज्ञाकारिता र गुरुभक्तिको कारण देखाउँदै अर्जुनलाई नै संसारको सर्वश्रेष्ठ धनुर्धर बनाउन कर्ण र एकलव्यलाई असह्य अपमान र आघात दिएको कुराले उनको मन तरङ्गित भइरह्यो ।

मित्रतामा दिएको वचन सम्झी दुःखमा गाई माग्न जाँदा राजा दु्रपदले गरेको अपमानको बदला र गाई नलिई घरसमेत नफर्कने अठोट रहेछ द्रोणको । दुःखमा गुरुकुलको जिम्मा दिने पितामहको गुन पनि पिताजीको मनभरि रहेको उनले देखे । सबै बुझ्दै गएका अश्वत्थामाले एक दिन अर्जुनहरूद्वारा द्रुपदलाई पराजित गरी आफ्नासामु हाजिर गराएको पनि देखे । मित्रताका लागि बराबर राज्य बाँडी द्रुपको घमन्ड तोडेर पिताजीले आपूmलाई राजा बनाइदिएको घटना पनि उनले भोगे । यस्ता थुप्रै घटनाहरूभित्र लुकेको शत्रुताको बिजले उनी सशङ्कित छँदै थिए । साथसाथै पितामह जस्ता व्यक्तिले भाइभतिजाहरूका लागि गरिदिने गरेको स्त्री अपहरण पनि एउटा समस्या बनेको कुरासमेत उनले बुझे । त्यसरी हुने गरेको अनमेल विवाहले शकुनि र कृष्ण हस्तिनापुरसँग बदला लिन चाहन्थे । त्यसैमा धृतराष्ट्र र कुन्तीबिच मातृ र पितृ सत्ताको लडाइँ छँदै थियो । उता दासीपुत्र भएकै कारण विदुरलाई दरबारले दिएको अपमान पनि युद्धको आगो झोस्नमै लक्षित थियो । हस्तिनापुर जल्नुमा द्रोपदीले दुर्योधन र कर्णलाई गरेको अपमान पनि बिर्सन सकिँदैन । कृष्ण, विदुर र शकुनिको छल र युधिष्ठिरको जुवामोहबाहेक भारत वर्षका राजाहरूका बिचको बदलाको भावले पनि एक दिन अकल्पनीय नरसंहार हुन्छ भन्ने कुराको आभास पनि अश्वत्थामालाई नभएको होइन । तैपनि पिताजीको त्यो दरबार निकटता र अनुबन्धनलाई उनले कहिल्यै तोड्न सकेनन् । अन्तमा पिताकै पाइला पछ्याउँदै हिँडेका उनी मातापिता गुमाएर दुर्योधनको मोहसँगै सती गए । त्यही मोह र पाण्डवहरूप्रतिको प्रतिशोधले अन्धो भई अनेक विभत्स हत्यामा उद्यत भए । आफ्नै कुकर्महरूले प्रताडित उनी अन्ततः पीडा बोकेर संसारभरि डुलिरहे ।

४) विचलशीलताका केही प्रश्न

स्थापित मानक भत्किनु विचलन हो । प्रस्तुत उपन्यासमा विचलनका थुप्रै सन्दर्भ देख्न सकिन्छ । महाभारतद्वारा स्थापित कृष्णको अलौकिक मूल्य भत्किएर यहाँ लौकिक भएको छ । त्यस्तै कौरव नभई अन्यायी चाहिँ पाण्डव भएका छन् । पाण्डव पक्षलाई खराब देखाउन अश्वत्थामालाई नै घटनाको समाख्याता बनाइएको छ । त्यसै गरी लेखकद्वारा धरावासीको राधा उपन्यासकी राधालाई पनि ठाउँठाउँमा उभ्याएर स्थापित मूल्यलाई विस्थापित गर्न सहयोग लिइएको छ । यसको जग निर्माणमा पनि राधा उपन्यासको प्रसङ्गलाई राम्रैसँग उपयोग गरिएको छ । पौराणिक पात्र अश्वत्थामा र कैयन् यथार्थ पात्रहरूलाई मिसाएर उपन्यासको कथ्यलाई लेखकले बलियो बनाएका छन् । त्यही कलाद्वारा यहाँ महाभारतीय आख्यानमा वर्तमानको जीवनयथार्थ व्यक्त गर्न खोजिएको छ । यसरी हेर्दा लेखकीय पक्षधरताका कारण कतिपय साश्वत विषयहरू ओझेलमा परेको कुरा पनि यसमा देख्न सकिन्छ ।

उसो त हेराइको यो चेत लेखकले दुर्योधनप्रति महाभारतले नै सिर्जना गरिदिएको विषयबाट लिएको सङ्केत गरेका छन् । तथापि अश्वत्थामाको चरित्रलाई लेखकले किन हिंसाविहीन बनाउन नसकेका होलान् ? उपन्यासको अन्तमा पाठकलाई लाग्ने सबैभन्दा महत्त्वपूर्ण विषय यही हो भैmँ लाग्छ । आपूmहरू बेमतलब युद्धमा होमिएको र पिताजीलाई षड्यन्त्रपूर्वक मारिएको पीडा उनीबाट पोखिए पनि उनको हदैसम्मको अपराध र बदला भने प्रसंशनीय छैन । तथापि लेखकले त्यो युगदेखि यो युगसम्मको हिंसा र प्रतिहिंसा यथार्थ ढङ्ले बिम्बित गर्न खोज्नुलाई भने अस्वाभाविक मान्न सकिँदैन । तैपनि लाग्छ, कृष्ण र पाण्डवहरूलाई तड्पाई तड्पाई मार्ने अश्वत्थामा अन्त्यमा किन कृपी जति पनि पश्चातापमा नपरेका होलान् ? यसतर्पm दृष्टि दिँदा उपन्यासले मूल आख्यानको प्रवृत्तिभन्दा घटना र पात्रमा बेसी विचलन ल्याएको देखिन्छ ।

५) उपन्यासमा प्रयुक्त मूल कथ्य

प्रस्तुत उपन्यासमा विषयवस्तुको हेराइलाई बहुपक्षीय बनाउन खोजिएको छ । महाभारतीय मिथकलाई उल्ट्याउँदै केही पात्रहरूलाई यहाँ न्याय दिने प्रयत्न गरिएको छ । दृष्टिभ्रम, अत्यधिक मोह, महाविश्वास, गरिबी, अहम्ता आदि हाम्रा जीवनका दुःख हुन् । त्यसै गरी पक्षधरता, अवमूल्यन, अधिमूल्यन, कठोर प्रतीज्ञा, स्वाभिमानको अत्यधिक महत्त्वाकाङ्क्षा, अदृश्य सूत्रधार, ईष्र्या र प्रतिशोध आदि पनि मानव जीवनका दुःखका कारक हुन् भन्ने कुरा उपन्यासबाट सजिलै बोध गर्न सकिन्छ ।

प्रेम नै मानव जीवनको फल्ने, फुल्ने र पैmलने आधार हो । त्यही प्रेममा घृणा, छल, अपमान र युद्धरूपी ऐँजेरु पलाएर सिङ्गो युग खरानी भएको कुरा मानव समाजले कसरी भुल्न सक्छ ? दोहोरिँदा तिनै प्रवृत्तिले आज पनि संसारभरि हत्याहिंसाको दाउपेच कहाँ नचलेको छ र ? युद्धले सिर्जना गरेको कतिपय बाध्यात्मक परिस्थितिमा परी हिजो मात्रै भोगेको पीडा आज पनि हामी नेपालीहरूको मनमनमा छ । राष्ट्र निर्माणको जिम्मेवारी लिएका शिक्षालय र तिनका अभियन्ता द्रोणहरूले आज पनि कति एकलव्यहरूसँग गुरु दक्षिणा मागीनमागी आफ्नो गुरुत्त्व बाचाइरहेकै छन् । कति कर्णहरू अपमानित जीवन जिइरहेकै छन् । विना प्रतिस्पर्धा सर्वश्रेष्ठ कहलिएका कति अर्जुनहरूले आज पनि आपूmलाई दिगविजयी ठानेकै छन् । शकुनिहरूको चङ्गुलमा देश फसेकै छ ।

समग्रमा हेर्दा यस उपन्यासले तत्कालीन आख्यानका कोणबाट वर्तमानको राजनीति, कुण्ठा, षड्यन्त्र, अनेक अक्षम्य अपराध, गरिबी, जातीय, क्षत्रीय, लैङ्गिक आदि विभेद र प्रतिशोधको भावले उत्पन्न अनेक समस्याहरूको प्रतीकात्मक ढङ्गले चित्रण गरेको समेत देखिन्छ ।

६) शीर्षक र भाषाशैलीय विन्यास

उपन्यासको शीर्षक प्रमुख पात्र अश्वत्थामाकै नामबाट जुराइएको छ । कथा वर्णनका सूत्रधारका रूपमा रहेका अश्वत्थामाले आफ्नो जीवनको आद्योपान्त घटना आपैm सुनाएका छन् । तैपनि यसलाई अभिधार्थ शीर्षक मात्र मान्न सकिँदैन । किनभने आजको युगमा अश्वत्थामा स्वयम्मा एउटा बिम्ब पनि हुँदै हो । उपन्यासका हरेक पात्रको मनोविज्ञान र घटनामा आजका थुप्रै विभत्स रूपहरू देखिनु त्यसैको एउटा प्रमाण हो । यस अर्थमा प्रस्तुत उपन्यासको शीर्षक आपैmमा एउटा बिम्ब बनेर उभिएको देखिन्छ । भाषाशैलीका दृष्टिले अश्वत्थामा उपन्यास अत्यन्त सरल, प्राञ्जल र आकर्षक छ । सन्दर्भयुक्त बिम्ब प्रतीकको प्रयोग र ओजपूर्ण कथनशैलीले विषयलाई थप आस्वादनीय बनाएको छ । पढ्न थालेपछि पाठकलाई कतै रोकिन नपर्नु र बिचैमा छोड्न मन नलाग्नु त्यसैको एउटा प्रमाण हो । आवश्यकताअनुसार उपन्यासले संवादात्मक, वर्णनात्मक, तार्किक र विश्लेषणात्मक शैलीमा आपूmलाई विन्यस्त गरेको देखिन्छ ।

७) उपसंहार

महाभारतलाई विश्वको एक श्रेष्ठ रचना मानिन्छ । हजारौँ वर्षदेखि यसले मानव समाजमा एक प्रकारको मूल्य स्थापित गरिसकेको छ । यस्तो गहन विषयमा आजको चेतनाले पसी स्थापित मूल्यलाई विस्थापित गर्न खोज्नु आपैmमा चुनौतीपूर्ण कार्य हो । लेखक कुमार भट्टराईले त्यसैमा हात हालेर चुनौतीको सामना गरेका छन् । खास गरी उनले तत्कालीन लेखकीय पक्षधरतालाई उल्ट्याउँदै कौरवहरूलाई सहानुभूति र अश्वत्थामालाई न्याय दिएका छन् । युगीन यथार्थ देखाउनलाई होला; उनले अश्वत्थामालाई भने मूल आख्यानकै प्रतिशोध र हिंसाप्रेमबाट मुक्त गराएका छैनन् । हत्याहिंसा, प्रतिशोध, जालझेल, अभाव जस्ता कैयन् समस्याहरूको युगीन निरन्तरतायुक्त वर्तमानलाई प्रतीकात्मक ढङ्ले अभिव्यक्त गर्न उपन्यास सफल रहेको छ । विषयवस्तुलाई अभिव्यक्त गर्ने लेखकीय सरल र आकर्षक निजात्मक शैली प्रसंशनीय रहेको कुरा उल्लेख गर्न करै लाग्छ ।