कवैधाप । ‘धेरै सन्तान भएर के गर्नु ठूला भएपछि आ–आफ्नो तरिकाले गरि खानै पर्याे’ दमले ओछ्यानमै थलिएका धनबहादुर आङ्वो (६९) भन्छन् ।
३ छोरी र १ छोराका बुबा धनबहादुर छोरीहरुका विवाह गरिदिएको र एकमात्र छोरा, बुहारी लिएर चरिखान निस्किएको हुँदा आफुहरु यसै मार्ई नगरपालिकाको चेप्टीको कवैधापमा यक्सो (घर) रुघेर बसेको बताउँछन् ।
पाँचथर फेवादीनमा भोकमरी चलेपछि २०४० सालमा छोराछोरी लिएर धनबहादुर चेप्टी आएका थिए । साथमा रहेकी श्रीमती कुमारी आङ्वो पनि केही महिना अघि घरको भर्याङ्गबाट झरेर हिड्न नसक्ने भएकी छिन् । बोली प्रस्ट छ तर दिशा–पिसाब गराउन पनि सहारा चाहिन्छ ।
शरीर पाको भए पनि बिहान बेलुका हातमुख जोड्न धनबहादुर ७ किलोमिटर पर खुदुनाबारी बजारमा दाउरा बेच्न पुग्छन् ।
‘दमको रोगले पीडा दिए पनि आईयाआत्था गर्दै हात मुख जोड्नसम्म पाईएको थियो तर लकडाउन सुरु भएपछि पेटभरी खान धौउ धौउ परेको छ’ आँखागरि टिल्पील आँसु बनाउँदै आफ्नो पीडा ओकल्छन् ।
धनबहादुर मात्र होइन छिमेकी हर्कमाया राईको पनि पीडा त्यस्तै छ । उनी यो बेला सहाराका लागि छोरीको घर आई बसेकी छिन् । धनबहादुर र हर्कमायाको जस्तो पीडा अरु छिमेकीहरुको पनि छ ।
साँझ बिहान दाउरा बेचेर जीबिकोपार्जन गर्ने वासीहरुको सघन बस्ती चेप्टी भएको हुँदा लकडाउनले यस क्षेत्रलाई ठुलै असर पारेको ७० बर्षिया मंगलसिङ लिम्बू बताउँछन् ।
चेप्टीबासीहरुको सौदा गर्ने बजार झापाको खुदुनाबारी हो । दैनिक उपभोग्य सामान किन्न भनि त्यहाँ पुग्दा ५० पल्टभन्दा बढी प्रहरीले उठ बस गराएको नाम नछाप्ने सर्तमा एक युवाले बताए ।
जिन्दगीमा लकडाउन भन्ने शब्द नसुनेको हुँदा चेप्टीवासीका ८–१० लेभन्दा बढी युवाहरुले भाटा खाएको र ६–७ जनाभन्दा बढीले बीच बाटोमा उठबस गर्नु परेको पीडा पनि सुनाए ।
विश्वमा कोरोना भाइरसले मान्छे मर्दै छ त्यसको रोकथामको लागि सरकारले लकडाउन लागू गरेको भनेको त सुनेको थिए रे तर लकडाउनमा के कस्ता कानून हुन्छन् भन्ने नसुनेका ५० वर्षिया रुकमानले सुनाए ।
स्थानीय सरकारले यस क्षेत्रका बासिन्दाका लागि राहत प्रदान गरे पनि त्यसले यतिका दिनसम्म नथामेको हुँदा अझ समस्या आईपरेको यस क्षेत्रका बासीहरु बताउँछन् । चेप्टी माई नपा २ मा पर्छ ।
यस क्षेत्रका अध्यक्ष खम्बासिङ सुब्बासँग सम्पर्क राख्दा दास्रो चरणको राहतका लागि योजना बनाउँदै गरेको बताए ।