[दिपीन राई]
अर्जुनधारा । लोकतन्त्र आफैमा बृहत्त शब्द हो । यो कुनै एक जाति विशेषको पेवा हुन सक्दैन र एक जातिले मात्र पनि ल्याउन सक्दैन ।
सर्वजातिको शक्ति र त्यसभित्रका संगठनको निकै ठूलो प्रयास र संघर्षपछि प्राप्त बलिदानले मात्र लोकतन्त्र ल्याउन सकिन्छ ।
०६२।०६३ को दोस्रो जनआन्दोलन र त्यसमा गरिएका संघर्ष पूर्ण बलिदानबाट चैत्र ११ गते लोकतन्त्रको उदय भएको थियो ।
जनताले सोचेका थिए लोकतन्त्र पद्धतिमा शासन सञ्चालन हुँदा पुस्तौदेखि थुनिएका अधिकार खुकुलो हुनेछ । नेपाली जनताले नयाँ आयाम पाउने छन् ।
वाक स्वतन्त्रता हनन् हुने छैन, झुपडीमा रात बिताउने र आधा पेट खाएर रात कटाउनेहरु वा औषधी पानी नपाई अकालमा मृत्यु वरण गर्नेहरुले पूर्ण सुबिधा प्राप्त गर्ने छन् ।
यस्ता अनगिन्ति आशा लोकतन्त्र शासन पद्धतिमा पाईने विश्वास राखेका जनता हिजोआज विचलित मन बनाई निरास हुन पुगेको भान हुन जान्छ ।
यही अभ्यासबाटै नेपाली जनताले नयाँ संविधान पाए । संविधानलाई समातेर ३ तहको सरकारको जन्म भयो । तहगत रुपमा जन्मेका सरकारको अझै पनि न्वारन हुन सकिरहेको छैन ।
पोखरीमा ठूलो जन्तुको रजाई हुन्छ भनेझैं लोकतन्त्रमा दुईतिहाईले ल्याएको अध्यादेशबाट साना दल र प्रतिपक्षमा रहेको दललाई देखाउने र खेलाउन सक्ने नीति बनाएको कानून विद्हरुको भनाई छ ।
त्यसैले लोकतन्त्र एउटै पार्टी वा वर्ग विशेषको मोजमस्ती गर्ने केक होइन । तसर्थ अभ्याससँगै नीति निर्माण गरी पक्ष वा विपक्षलाई समेटेर सुन्दर राज्यको परिकल्पना गरी आम लोकतन्त्रमा भरोसा गर्ने जनतालाई आफ्नो बनाउने नीति निर्माण गर्नु आजको आवश्यकता हो ।
सरकार ! जनता खुशी र सुखी लोकतन्त्रमा मात्र सम्भव छ । त्यसैले लोकतन्त्रको दीयोलाई निभाउने अभ्यासमा नलाग । विभिन्न मुलुकको राज्य सञ्चालक विधि हेर्ने हो भने राजा बादशाहलाई सामुहिक प्रयासबाट परास्त पारेको भेटिन्छ । त्यसपछि सामुहिक शक्तिबाट जनताले चाहेको अधिकार दिलाएको देखिन्छ ।
त्यसैले पनि लोकतन्त्रलाई जोगाई राख्न र उज्यालो दिशातर्फ डोहोर्याउन दीयोमा तेल थप्न जरुरी छ । जय लोकतन्त्र ।