एमसीसी नेपाल र नेपालीको हित विपरीतः उपाध्यक्ष धिमाल « Yalambar Times
९ मंसिर २०८१, आईतवार

एमसीसी नेपाल र नेपालीको हित विपरीतः उपाध्यक्ष धिमाल


यलम्वर टाइम्स
१६ असार २०७७, मंगलवार ११:१६

बिर्तामोड, १६ असार । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना राष्ट्रिय हितमा नभएको भन्दै राष्ट्रिय जनमुक्ति पार्टीले विरोध तथा खबरदारी गरेको छ ।

मंगलबार झापाको बिर्तामोडमा विरोध स्वरुप ¥यालीको आयोजना गर्दै नेपालको राष्ट्रिय हित र सार्वभौम सत्तालाई चुनौति दिने शर्तसहितको एमसीसी खारेज गर्नुपर्ने माग गरेका थिए ।

विभिन्न प्ले कार्डसहित गरिएको र्याली बिर्तामोडको मुक्ति चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद उपाध्यक्ष दिलीप धिमालले नेपाल र नेपालीको हित विपरीत रहेको एमसीसी परियोजना स्वीकार्य नभएको बताए ।

उनले अगाडि भने, ‘नेपाल एक सर्वभौम सत्ता भएको मुलुक हो । न हिजो हामी कसैको दास बनेका थियौं न आज कसैको दासत्व स्वीकारछौं ।’ उपाध्यक्ष धिमालले यदी दुई तिहाइको आडमा जबरजस्ती लागू गर्न खोजिए जनता चुप लागेर नबस्ने बताए ।

कोणसभालाई सम्बोधन गर्दै उपाध्यक्ष धिमालले संसारका गरिब देशहरुलाई आर्थिक लोभ देखाएर अधिनस्तमा लिने अमेरीकाले नेपालमा पनि सोही नीति अवलम्बन गर्न लागेको र राज्यको ठूला राजनीतिक दलहरु पनि प्रलोभनमा परेको आरोप लगाए ।

विरोध सभामा कोरोना महामारी नियन्त्रणको नाममा भ्रष्टाचार गरेको बताउँदै अब सरकारले प्रत्येक नेपाली नागरिकलाई त्यसको हिसाब दिनुपर्ने बताए ।

उनले कोरोना न्यूनिकरणका लागि जनस्तरबाट पनि नगद तथा जिन्सी सहयोग प्रदान गरिए पनि सरकारले आम नागरिकको स्वास्थ्यप्रति पूर्ण चासो नराखेको र जिम्मेवारीबाट पन्छिएको बताए ।

पार्टी जिल्ला अध्यक्ष भवानी सेलिङको सभापतित्वमा भएको विरोध सभामा प्रदेश नं. १ का कार्यवाहक अध्यक्ष पर्शुराम मगर, प्रदेश सचिव कृष्णकुमार थेवे, संघीय परिषद सदस्य राज खम्बू, जिल्ला उपाध्यक्ष पार्वती माङ्मु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन जिल्ला सचिव पदम लिम्बूले गरेका थिए ।