[गंगा अनुरागी]
छोरा छोरी भए सबै घर भरि, खुसी थियो यो मन ।
पालि पोसी गरेर बाल बचरा, हुर्के बडे दिन दिन ।।
पालन पोषण मै खटेर दिन रात, खाइ न खाइ कन ।
छोरा छोरी पढाई शिक्षित भए, आफै भए सक्षम ।।
ऐले प्वाँख पलाई सबै उडि गए, रित्तो छ ऐले घर ।
छोरा छोरी बुहारी छैनन् घरमा, एक्लै रुँदै धर धर ।।
जेठो छोरो बुहारी हङकङ पसे, नाति नातिनी पनि ।
माइलो छोरो बुहारी लण्डन गएर, डलर थापौं भनि ।।
कान्छो छोरो छ अफ्रिका मुलुकमा, गर्छ उतै चाकरी ।
छोरी ज्वाई सबै उत्तै तिर गए, छैनन् कोही आखिरि ।।
एक्लै गन गन गर्नु पर्दा अहिले, को सुन्दछ आखिर ।
कस्ले दिन्छ पकाइ भोजन पनि, दिने यहाँ को छ र ।।
छोरा छोरी सबै हुँदा घर भरि, खुसी थियो यो मन ।
आज चट्ट भुलेर परदेश पसे, छोरा छोरीको मन ।।
हुन्छ चिन्ता पिरोल्दछ मन यो, दिल जल्छ दन दन गरि ।
बोल्नै केहि सकिन्न औडाह बडि, मन दुख्छ गाँठो परि ।।
गोडा हात बसे रहेन बल क्यै, लठ्ठि सहारा गरि ।
बृद्धावस्था भएर खट्न नसकि, खाटमा पसारा परि ।।
आँखा बन्द भए दात सब झारे, सुन्दैन है कानले ।
बोल्नलाई कठिन हुन्छ अहिले, पुग्दैन यो सासले ।।
यस्ता दुर्दिन भोग्नु खट्नु नपरोस् कहिल्यै कसैले पनि ।
व्याथा पीर सहेर बाँच्ता अहिले, सोध्दैनन् कोहि पनि ।।
रोङ गाउँपालिका–२, इलाम