पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक गिरीद्वारा नाटक घरलाई सहयोग « Yalambar Times
५ आश्विन २०८१, शनिबार

पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक गिरीद्वारा नाटक घरलाई सहयोग


यलम्वर टाइम्स
२० आश्विन २०७७, मंगलवार ०७:५९

बिर्तामोड । क्षितिज नाट्य समूह झापाको अगुवाईमा बिर्तामोड–१ स्थित देवी पञ्चकन्या उत्तरमा निर्माणाधिन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरका लागि पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरीले सहयोग रकम प्रदान गरेका छन् ।

सबै जातजाति, भाषाभाषीको अपनत्व गराउने उद्देश्यले झापा नाटक घर निर्माण समितिको आह्वानमा शुरु गरिएको एक व्यक्ति एक इँटा समर्पण अभियान अन्तर्गत आफ्नो जन्मोत्सवको अवसरमा प्रधान सम्पादक गिरीले पाँच हजार एक सय रुपैयाँ प्रदान गरेका हुन् ।

वीरता जेसीजका अध्यक्ष मिजाश पोखरेलको अध्यक्षता तथा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष, पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक, वीरता जेसीजका पूर्व अध्यक्ष, नेपाल जेसीजका निवर्तमान राष्ट्रिय तालिम आयुक्त समेत रहेका गिरीले झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सहसंयोजक कुमार भट्टराई, क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पितलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।

रकम हस्तान्तरण गर्दै प्रधान सम्पादक गिरीले बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माणका लागि झापाका सबै संघ–संस्थाहरुलाई उत्प्रेरणामुलक सन्देश दिने उद्देश्यले एक व्यक्ति एक इँटा समर्पण अभियानमा सहयोग पुर्याउन रकम प्रदान गरेकोे बताए ।

पछिल्लो समय जन्मदिन, विवाह वर्षगाठ लगायतमा फजुल खर्च गर्ने प्रवृत्ति बढ्दै गएकोले त्यसलाई निरुत्साहित गर्न सामाजिक उत्तरदायित्व अन्र्तगत आफूले रकम प्रदान गरेको उनले बताए ।

कार्यक्रममा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सहसंयोजक कुमार भट्टराईले पत्रकार गिरीले झैं अरुले पनि यसप्रकारको कार्य गरे झापा नाटकघर निर्माणमा ठूलो सहयोग मिल्ने बताए ।

त्यस्तै झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधव कल्पितले पत्रकार गिरीले गरेको कार्यले झापाबासीको मन छोएमा मात्र पनि झापा नाटक घर निर्माणका लागि एक व्यक्ति एक इँटा प्रदान गर्दा करिव १० लाख इँटा संकलन हुने र एक लाख इँटा भवन निर्माणमा प्रयोग भए बाँकी ९ लाख इँटालाई रकममा रूपान्तरण गरेर अन्य कार्य गरिने बताए ।

एक व्यक्ति एक इँटा समर्पण अभियानबाट हालसम्म २० लाख रुपैयाँभन्दा बढी संकलन भएको र त्यस रकमबाट आवश्यक जमिन खरिद गरिने उनले बताए ।

सोही कार्यक्रममा एक व्यक्ति एक इँटा समर्पण अभियान अन्र्तगत वीरता जेसीजका निवर्तमान अध्यक्ष तथा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष विशाल थापाले चार हजार, वीरता जेसीजका महासचिव विकास बस्नेतले तीन हजार, वीरता जेसीजका सदस्य प्रविन खड्काले तीन हजार रुपैयाँ झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सहसंयोजक कुमार भट्टराई, क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पितलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पितले बिर्तामोड–१का मनोज निरौलाले निःशुल्क प्रदान गरेको साढे तीन कठ्ठा जग्गा र निरौलाकै छ कठ्ठा जग्गा १० वर्ष लिजमा लिएर गत असार ११ गते निर्माण कार्यको थालनी गरिएको बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरको निर्माणको ४० प्रतिशत कार्य सकिएको जानकारी दिए ।

दुई करोड ५० लाख रुपैयाँको लागतमा एक वर्ष अगाडि निर्माण कार्यको थालनी गरिएको झापा नाटक घरको निर्माण सकेर बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक संग्रहालयको निर्माण थालनी गरिने उनले बताए ।

बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक संग्रहालयको लागि बहुवर्षे गुरुयोजनामा निर्माण हुनेगरी डीपीआर तयार गर्ने कार्य भइरहेको उनले बताए ।

कार्यक्रमको सञ्चालन पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौलाले गरेका थिए ।