श्रम विवाद समाधानको अभ्यास प्रशंसनीय « Yalambar Times
५ आश्विन २०८१, शनिबार

श्रम विवाद समाधानको अभ्यास प्रशंसनीय


यलम्वर टाइम्स
१५ माघ २०७७, बिहीबार १०:२४

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघ र युनिकम नेपालबीच भएको सात बुँदे सहमतिपछि बनेको श्रम विवाद समाधान समितिले गरेका काम प्रभावकारी बन्दै गएको छ ।

समिति मार्फत् व्यवसायी र कामदार कर्मचारीबीचको श्रम विवादलाई आपसी छलफल र वार्ताद्वारा समाधान गरिन थालेको छ ।

बिहीबार बिर्तामोडमा आयोजित एक छलफलका सहभागीले उक्त काम चुनौतिपूर्ण भए पनि विवाद समाधानको अभ्यासलाई सबैले स्वागतयोग्य र प्रशंसनीय भनेका छन् ।

साथै व्यवसायी र कामदार कर्मचारीबीचको सम्बन्ध सुमधुर हुनुपर्नेमा पनि उनीहरुले जोड दिएका छन् ।

जुनसुकै विवादमा पनि दुई पक्षलाई वार्तामा राखेर छलफल गर्दा सकारात्मक निष्कर्ष आउने गरेको विवाद समाधान समितिको अनुभव छ ।

संवाद समूह झापाको संयोजनमा सामाजिक संवादका माध्यमबाट गत पुस ४ गते बिर्तामोड उद्योग वाणिज्य संघ र युनिकम नेपालबीच सात बुँदे सहमति भएको थियो ।

सहमति अनुसार वाणिज्य संघको तर्फबाट उपाध्यक्ष राजु न्यौपानेको संयोजकत्वमा नारायण चिमरिया र राधिका चुडाल हुमागाईं सदस्य तथा युनिकम नेपालको तर्फबाट भुपेन्द्र भण्डारीको संयोजकत्वमा केशवप्रसाद भट्टराई र प्रतिमा राउत सदस्य रहेको श्रम विवाद समाधान समिति बनेको छ ।

श्रमसँग सम्बन्धित विवादमा दुबै समितिले संयुक्तरुपमा सरोकारवालालाई एकैथलोमा राखेर छलफल गरी समस्याको समाधान गर्दै आएका छन् ।

युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलले सरोकारवालाहरुको सहभागितामा विवाद निरुपणको अभ्यास अत्यन्त राम्रो भएको बताए ।

बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीले वार्ता र संवादको संस्कारले समस्या समाधान गर्नुका साथै व्यवसायी–कर्मचारीबीचको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिए ।

छलफलमा वाणिज्य संघको तर्फबाट समितिका संयोजक न्यौपाने, उपाध्यक्ष पार्वता विमली, महासचिव प्रशान्त भण्डारी, राष्ट्रिय वाणिज्य संघका अध्यक्ष सुवास भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघकी सदस्य राधिका चुडाल हुमागाई, युनिकमका तर्फबाट केशवप्रसाद भट्टराई, श्याम खड्गी, कृष्ण पोखरेल, मनबहादुर भण्डारी लगायतले कामदार कर्मचारीको रोजगारीको ग्यारेन्टी र सुमधुर सम्वन्धमा जोड दिए ।

छलफलको सहजीकरण संवाद समूहका सहजकर्ता अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।