अर्जुनधाराको विकासमा गर्नुपर्ने काम अझै धेरैः नवौं नगर सभा « Yalambar Times
५ आश्विन २०८१, शनिबार

अर्जुनधाराको विकासमा गर्नुपर्ने काम अझै धेरैः नवौं नगर सभा


यलम्वर टाइम्स
१० असार २०७८, बिहीबार ११:४७

अर्जुनधारा । संक्रमणले मानव जीवनलाई आतंकित बनाइरहेको बेला विहीबार संक्रमणको कुनै प्रवाह नगरि निर्वाचित प्रतिनिधिहरुको बाक्लो उपस्थितिमा अर्जुनधारा नगरपालिकाको नवौं नगरसभाको उद्घाटन भएको छ ।

दिउँसो ३ बजे स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्दै पितृ भवनमा भएको सभामा नगरका उपप्रमुख कमला आचार्यले आगामी आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक बजेट, नीति तथा कार्यक्रम पेश गर्दै ४३ करोड, २६ लाख ३ हजार २३० प्रस्तुत गरेकी थिइन् ।

उनले संघीय र प्रदेश सरकारबाट प्रदान हुने अनुदान रकम ३० करोड ९१ लाख ५ हजार समावेश गरि जम्मा ७४ करोड १७ लाख ८ हजार २३० को बजेट प्रतिवेदनमार्फत प्रस्तुत गरेकी हुन् ।

सभामा थुप्रै कामहरु गर्न बाँकी रहेको अवगत गराउँदै तीन वर्षे अवधीसम्म भएका कालोपत्रे सडक, ग्राभेल, मोटरेवल पुल, झुलुङ्गे पुल, खानेपानी समेत निर्माण गरिएको जानकारी गराइन् ।

तीन वर्षको अवधीमा ९८ वटा मोटरेवल पुल, ४ वटा झुलुङ्गे पुल, पार्क, खानेपानी तथा ढल निर्माण जस्ता काम भएको पनि जानकारी दिइन् ।

विद्यालय भवन, १२ वटा नयाँ कक्षा कोठा, २० वटा स्वास्थ्य चौकी ४ वटा सामुदायिक भवन १३ वटा जनता आवास कार्यक्रम, १५ वटा विपन्न आवास कार्यक्रम, सम्पन्न भएको समेत जानकारी गराइन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रले निर्दिष्ट गरेको दीगो शान्ति स्थायित्व सामाजिक न्याय र समाजवादतर्फ उन्मुख समृद्ध नेपाल खुशी नेपालीको साझा उद्देश्य र आकांक्षालाई पूरा गर्ने, नगरवासीको दीगो विकासको लागि नगरपालिका लागि परेको समेत बताइन् ।

शनिश्चरे बजार, खुदुनाबारी बजारको स्तरोन्नती, हलुवागढ कैदले पर्यापर्यटन, मदन–आश्रित सडक कालोपत्रे, वडा कार्यालय भवन निर्माण, वडा स्तरमा कालोपत्रे हुँदै गरेको पनि जानकारी गराइन् ।

उनले प्राथमिकतामा रहेका केही बुँदाहरु जानकारी गराइन् । कोभिडको महामारीमा नगरवासीको जीवन रक्षा गरिने, विकासका कार्यलाई तिव्रता दिने, मुख्य बजार तथा चोकमा सीसी क्यामेरा जडान गरिने, सडकमा उज्यालो नगरको अवधारणा अगाडि बढाउने, अर्जुनधारा वडा नं. ४ मा रहेको स्वास्थ्य चौकीलाई सरुवा रोग नियन्त्रण अस्पतालको रुपमा अगाडि बढाउन, स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको क्षमता विकास गरिने जस्ता कुराहरु सार्वजनिक गरिन् ।

उपप्रमुख आचार्यले कृषि विकास नीति अन्तर्गत एक गाउँ एक प्राविधिक, कृषि बजारको निर्माण, पशुपंक्षी तथा मत्स्य तथ्यांक संकलन, मानव जीवनमा आवश्यक खाद्य पदार्थको बीउ विजन उत्पादन गरिने, प्याज लसुनलाई व्यवसायिक खेती गर्न प्रोत्साहित गरिने, जरुवा पानी संरक्षण, सतह तथा भूमिगत सिचाई आयोजना सञ्चालन गरिने लगायतका थुप्रै कुरा अगाडि सारिएको समेत सुनाइन् ।

उनले नगरवासीको आर्थिक उन्नतीको लागि सहकारी तथा गैरसहकारी नीति, पर्यटन नीति अन्तर्गत शनिश्चरे बजारलाई सौन्दर्यकरणका लागि बजारको पूर्वी खण्डमा गोरुगाडा, अर्जुनधारा नगरपालिका र व्हीलभरह्याम्पट सिटी मैत्री स्तम्भ स्थापना गरिने, नगरभित्र रहेको पर्यटकीय क्षेत्रलाई प्रवद्र्धन गरेर लैजाने, उद्योग तथा वाणिज्य सम्बन्धी नीति अन्तर्गत वडा–वडामा सुपथ मूल्य बिक्री केन्द्र, नगरमैत्री ग्राम, सामाजिक विकास सम्बन्धी लक्षीत वर्गको उत्थान र विकासका निम्ती आवश्यक बजेट विनियोजन गरिने, महिलालाई आत्मनिर्भर बनाउन प्रोत्साहित गरिने जस्ता कुरा अगाडि सारेकी छिन् ।

उनले शिक्षा नीति सम्बन्धी संघीय नीति तथा कार्यक्रम अनुसार सञ्चालन हुने कार्यक्रमलाई निरन्तरता दिँदै बाल कक्षा शिक्षकको पारिश्रमिक र बालबालिकालाई पोशाक, मनोसामाजिक, मनोचिकित्सक परामर्श जस्ता कार्यक्रम सञ्चालन गरिने ।

स्वास्थ्य नीतिमा गरिब, विपन्न, दीर्घरोगीहरुको जीवन बिमा गरिने, शनिश्चरे अस्पताललाई स्तरोन्नति गरिने जस्ता कार्यक्रम अगाडि सारेकी छिन् भने शनिश्चरे आयुर्वेद औषधालयलाई स्तरोन्नति गरेर लैजाने बताइन् ।

भाषा, कला, संस्कृति, युवा, खेलकुद, लैङ्गिकता जस्ता कार्यलाई उच्च प्राथमिकता दिएर जाने बताउँदै पूर्वाधार विकासमा नगरका थुप्रै कार्यहरु रहेको हुँदा आगामी वर्षसम्ममा २१ वटा कार्यक्रम अगाडि सारिएको बताइन् ।

विरिङ खोला खानेपानी तथा सिचाई व्यवस्थापनका लागि चेकड्याम निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि सारेको, झुलुङ्गे पुल निर्माण कार्यलाई निरन्तरता दिने, महानन्द चौकमा अर्जुनधारा गेट निर्माण गरिने, तराइ–मधेस समृद्धि कार्यक्रमलाई निरन्तरता दिने, सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत २१८ वटा घर निर्माण गरिने ।

यसरी नै वन, वातावरण तथा विपद् व्यवस्थापन नीति अन्तर्गत हात्ती पीडित क्षेत्रमा सडक बत्तीको व्यवस्थापन गरिने, फोहोर मैला व्यवस्थापन कार्य प्राथमिकतामा आगाडि बढाउने, शनिश्चरेको खानेपानीलाई शुद्ध पिउने पानीको व्यवस्थापन गर्ने, विरिङ र टाङटिङ खोलालाई प्रदेशसँगको समन्वयतामा ग्रीन बेल्ट बाटो बनाउने रहेको छ ।

यसरी नै सार्वजनिक–निजी साझेदार सम्बन्धी नीतिमा संघीय सरकार, प्रदेश सरकार बीचको अन्तर सरकारी साझेदारीको नीति अवलम्बन गरिने, सुशासन तथा संस्थागत विकास नीतिमा ९ वटा बुँदा अगाडि सारिए पनि भूमिहिन दलित, भूमिहिन सुकुम्बासी, व्यवस्थित बसोबासका लागि सुकुम्बासी आयोगमार्फत लगत संकलन गरि जग्गा धनीपूर्जा वितरण कार्यलाई अगाडि बढाइने बताइएको छ ।

बजेट, नीति तथा कार्यक्रमका प्रमुख आकर्षक प्रदेश सभा सदस्य बृख प्रधानले जनताको सुशासनका लागि निर्वाचित जनप्रतिनिधिले धेरै काम गर्न बाँकी रहेको हुँदा विकासमा राजनीति नगर्न अनुरोध गरे ।

अर्जुनधाराले ल्याएको नीति तथा कार्यक्रम हेर्न लायक र सुन्न लायक भए पनि यसको पूर्ण कार्यान्वयमा आफ्नो साथ रहने जानकारी गराउँदै नवौ नगर सभाको पूर्ण सफलताको कामना गरेका थिए ।

नगर प्रमुख हरिकुमार रानाले सञ्चालन गरेको सभामा नगरमा रहेर काम गरेका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ लगायत कोरोनाबाट दिवांगत भएका नगरवासी, बुबाआमा, दाजुभाइ दिदीबहिनीप्रति एक मिनेट मौन धारण गरि यस्ता विपद्मा सजगता अपनाउन पर्ने समेत जानकारी गराएका थिए ।

उनले नगरसभा १६ गते पितृ भवनमा नै सुचारु हुने जानकारी गराउँदै सभा विसर्जन गरेका थिए । सभामा प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चम्लगाई, सबै वडाध्यक्ष तथा वडा सदस्य, सञ्चारकर्मी र नगरका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।