एक युटुबरसहित दुइ पक्राउ, तीनको खोजी कार्य जारी « Yalambar Times
५ आश्विन २०८१, शनिबार

एक युटुबरसहित दुइ पक्राउ, तीनको खोजी कार्य जारी


यलम्वर टाइम्स
४ भाद्र २०७८, शुक्रबार ११:४३

बिर्तामोड । मेची आँखा अस्पताल अगाडिको एक होटलमा व्यक्तिगत गोपनियता भंग गर्ने गरी र चरित्र हत्या गरेको भन्दै एक युटुबरसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा अनलाइन टेलिभिजन संघ झापाका अध्यक्ष खगेन्द्र घिमिरे, चारआली घर भएका होलट जंगल भ्यूका सञ्चालक हेमराज भट्टराई, सोही ठाउँका स्नोकर सञ्चालक सुबास कार्की रहेका छन् ।

त्यसरी नै क्यामेरा मेन भास्कर श्रेष्ठ, टिकटकमा हाल्ने कल्पना थापा बस्नेत र चन्दा प्रसाई पोखरेलको पनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ दुई महिला र एक पुरुषले होटलमा खाजा खाइरहेका बेला भिडियो खिचेर ती युटुबरले बाहिर ल्याएका थिए ।

चारआलीका ती महिलाहरुले अरु कुनै अनैतिक काम नगरी आफ्ना मानिससँग खाजा खाइरहेको आग्रह गरे पनि दादागिरी शैलीमा ती युटुबरले भिडियो खिचेर युटुबमा हालेका थिए भने प्रहरीलाई समेत ठाढो प्रश्न गरेर दादागिरी देखाएका थिए ।

जसको सर्बत्र बिरोध भएको छ । पत्रकारको खोल ओढेर त्यस्ता युटुबरहरुले केही दिनदेखि झापामा पनि आतंक सिर्जना गर्न खोजेका छन् ।

ती पीडित महिलाहरु कानूनी कार्वाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड आएका थिए ।

ती युटुबरलाई कारवाही गराउनका लागि आफूहरु पनि सहयोग गर्न तयार रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिर्तामोड अध्यक्ष रन्जु प्याकुरेलले बताइन् । उनले भनिन् ‘त्यस्ता युटुबरलाई कार्वाही हुनैपर्छ ।’

मानव अधिकार संजाल झापाका महासचिव रुपक खनालले झापामा युटुवेहरुलाई पत्रकार महासंघले कारवाही नगरे पत्रकार महासंघको भोलिका दिनमा अस्तित्व खोज्नु पर्ने अबस्था आउने बताएका छन् ।

मुलुकी अपराध (संहिता) ऐनले गोपनियताविरुद्धको कामलाई कसुर घोषणा गर्दै अर्काको कुरा सुन्ने, रेकर्ड गर्ने र फोटो खिच्नेलाई २ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।

आँखा अस्पताल नजिक सैनिक चोकको एक होटलमा भएको गोपनीयतालाई बाहिर ल्याउँदा र महिलाले बारम्बार भिडियो खिच्ने युटुबरलाई ढोग्दै त्यस्तो होइन भनेर आग्रह गर्दा पनि जबरजस्ती सार्वजनिक गरेको विषयलाई लिएर युटुबर आतंक भएको भन्दै कारवाहीको माग गरेका थिए ।