पूर्वाञ्चलका व्यवस्थापक ढकालले पत्रकार उपचार कोषलाई २५३३३ प्रदान गर्ने « Yalambar Times
५ आश्विन २०८१, शनिबार

पूर्वाञ्चलका व्यवस्थापक ढकालले पत्रकार उपचार कोषलाई २५३३३ प्रदान गर्ने


यलम्वर टाइम्स
१४ कार्तिक २०७८, आईतवार ०९:३५

बिर्तामोड । पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल (सीके अंकल)ले आफ्नो जन्मोत्सवको अवसर पारेर पत्रकार सहारा उपचार कोषलाई २५ हजार तीन सय ३३ रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।

ढकालले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषका लागि उक्त रकम प्रदान गर्ने घोषणा गरेका हुन् ।

केही समयभित्रै एक कार्यक्रमकाबीच रकम हस्तान्तरण गर्ने उनले जानकारी दिएका छन् ।

१८ वर्ष देखि पूर्वाञ्चल दैनिकमा आवद्ध रहेर क्रियाशील ढकाल लेखक तथा आध्यात्मिक साधकको रुपमा परिचित छन् ।

उनले पत्रकारको दिगो विकास र पत्रकारको हितमा योगदान गर्न सहयोग प्रदान गर्न लागेको बताए ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ ।

कोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ ।

कोषमा हालसम्म ४६ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको महासंघका अध्यक्ष एकराज गिरीले जानकारी दिए । कोषमा सहयोग जुट्ने क्रम जारी छ ।

आफू झैं अरुले पनि जन्मोत्सव, विवाह उत्सव तथा पितृस्मृति जस्ता सन्दर्भमा केही रकम योगदान गर्ने हो भने कोषलाई एक करोड रुपैयाँ बनाउन सहयोग पुग्ने ढकालले बताए ।

महासंघ झापा शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ–संस्था, सहकारी, बैंक तथा दाता सबैलाई एकपटक पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा सहयोग गर्न आव्हान गरेको छ ।

महासंघ झापाका अध्यक्ष गिरीले यही कार्यकालमा कोषलाई एक करोड पु¥याउने लक्ष्यका साथ काम गरिरहेको बताए ।