वडाध्यक्ष संग्रौलाको स्टाटसप्रति कृषक आक्रोशित « Yalambar Times
५ आश्विन २०८१, शनिबार

वडाध्यक्ष संग्रौलाको स्टाटसप्रति कृषक आक्रोशित


यलम्वर टाइम्स
२५ कार्तिक २०७८, बिहीबार १०:१०

बिर्तामोड । माछा पालन सम्बन्धमा बिर्तामोड नगरपालिका २ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले सामाजिक सञ्जालमार्फत भ्रामक सूचना सम्प्रेषण गरेको भन्दै झापाका माछा पालक किसानले आपत्ति जनाएका छन् ।

वडाध्यक्ष संग्रौलाले भ्रामक, तथ्यहिन र बिनाआधार सामाजिक सञ्जाल फेसबुकमा माछा पालन सम्बन्धी स्टाटस लेखेको भन्दै माछा पालक किसानले आक्रोश व्यक्त गरेका हुन् ।

बिहीबार बिहान बिर्तामोड ३ सैनिकमोडमा बैठक बसी माछा पालक किसानहरुले फेसबुकमार्फत भ्रामक सूचना सम्प्रेषण गर्ने वडाध्यक्ष संग्रौलालाई सूचना सच्याउँन माग गरेका छन् ।

उनीहरुले कपोकल्पित र आम उपभोक्तामा भ्रम फैलाउने उद्देश्यले फेसबुकमा स्टाटस लेख्नु जनप्रतिनिधिबाट गैरजिम्मेवार कार्य भएको टिप्पणी गरेका छन् ।

वडाध्यक्ष संग्रौलाको स्टाटसप्रति मेची मत्स्य व्यवसायिक कृषक समूहले बिहीबार विज्ञप्ति जारी गरी खेद व्यक्त गरेको छ ।

समूहले वडाध्यक्ष संग्रौलालाई स्टाटसमा दावी गरिएजस्तो माछा पालन गर्ने पोखरीहरुमा अस्पतालबाट उत्पादित फोहोरमैला हाल्ने गरेको पुष्टि गर्न चुनौती समेत दिएको छ ।

वडाध्यक्ष संग्रौलाले त्यसो गरेको प्रमाण पु¥याएको खण्डमा सम्बन्धित माछा पालक किसानलाई कडा कारबाही गर्ने समूहले विज्ञप्तिमार्फत विश्वास दिलाएको छ ।

‘हस्पिटलमा उत्पादित फोहोरमैला, मासुजन्य वस्तुहरु माछालाई चारोको रुपमा रात्रिकालिन समयमा खुवाउने गरेको भन्ने वडाध्यक्ष संग्रौलाको दाबी प्रमाणित गर्न हामी चुनौती दिन्छौं । प्रमाणित भए सम्बन्धित किसानलाई कडाभन्दा कडा कारबाही गर्न हामी पनि माग गर्नेछौं । अन्यथा जिम्मेवार निकायमा बसेको व्यक्तिले गैरजिम्मेवारीपूर्ण कार्य गरेकोमा वडाध्यक्ष संग्रौलाप्रति गहिरो खेद व्यक्त गर्दछौं’ विज्ञप्तिमा उल्लेख छ ।

बिना आधार प्रमाण, अनुमानकाभरमा आगामी दिनमा माछा पालन सम्बन्धि कुनै पनि सन्देश सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट प्रकाशन÷प्रसारण नगरिदिन समेत वडाध्यक्ष संग्रौलालाई सचेत गराएको समूहका अध्यक्ष लक्ष्मीप्रसाद शिवाकोटीले बताए ।

अध्यक्ष शिवाकोटीले तथ्यहिन र भ्रामक हल्लाको पछि नलागि आम उपभोक्तालाई स्थानीय किसानले उत्पादन गरेको अग्र्यानिक ताजा माछाको सेवन गर्न आग्रह गरेका छन् ।

उनले बजार हल्लाको पछि लागेर भारतीय फर्मालिन प्रयोग गरिएका मरेको माछाभन्दा स्थानीय किसानले उत्पादन गरेको ताजा अग्र्यानिक माछाको सेवनबाट बिचलित नहुन समेत आग्रह गरेका हुन् ।