झापा गोल्डकपको पाँचौ संस्करण फागुन २१बाट « Yalambar Times
५ आश्विन २०८१, शनिबार

झापा गोल्डकपको पाँचौ संस्करण फागुन २१बाट


यलम्वर टाइम्स
१९ पुष २०७८, सोमबार ०९:१२

बिर्तामोड । कोभिड–१९ का कारण विगत दुइ वर्षदेखि स्थगित मोफसलकै लोकप्रिय झापा गोल्डकपको पाँचौं संस्करण आगामी फागुनमा हुने भएको छ ।

गोल्डकप आयोजक समितिले आइतबार बिर्तामोड स्थित अतिथि सदनमा पत्रकार सम्मेलन गर्दै फागुन २१ देखि ३० गतेसम्म गोल्डकप आयोजना गर्न लागेको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले काठमाण्डौ उपत्यका बाहिर सबैभन्दा बढी फुटबलको गतिविधि झापामा हुने भएको बताउँदै झापालाई फुटबलको हबको रुपमा विकास गर्न गोल्डकपको आयोजना गर्दै आएको जानकारी दिए ।

उनले मोफसलकै लोकप्रिय प्रतियोगिताको रुपमा रहेको झापा गोल्डकपमा झापा ११ एफसीसहित नेपालका ९ र एक विदेशी गरी १० टिमको सहभागिता रहने जनाए ।

गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार तथा उपविजेता टिमले नगद ६ लाख ५ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्ने अध्यक्ष बस्नेतले बताए ।

त्यस्तै मस्ट भ्यालुएबल प्लेयरुलाई एक थान मोटरसाइकल प्रदान गरिने महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए ।

प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही २१ हजार नगद तथा सर्वाधिक गोलकर्तालाई नगद २५ हजार रुपैयाँ प्रदान गरिने पौडेलले बताए ।

त्यस्तै प्रत्येक दिनको खेलका म्यान अफ द म्याचले नगद ९ हजार ९ सय ९९ रुपैयाँ प्राप्त गर्ने उनले बताए ।

गोल्डकपको उद्घाटन समारोहमा जिल्लाका दुई जना पुराना फुलबल खेलाडीलाई जनही १५ हजारसहित सम्मान गरिने अध्यक्ष बस्नेतले बताए ।

भव्य रुपमा आयोजना गर्न लागिएको झापा गोल्डकप सम्पन्न गर्नका लागि एक करोड ४० लाख रुपैयाँ खर्च हुने कोषाध्यक्ष केदार गिरीले बताए ।

आयोजक समितिका बरिष्ठ उपाध्यक्ष बलराम कार्कीले कार्यक्रममा स्वागत गरेका थिए । कार्यक्रममा महेन्द्रकुमार गिरी, जलकुमार गुरुङ लगायतले बोलेका थिए । प्रतियोगिता बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ ।