नेता, प्रशासन र जनता लगायतले गरे नेते र बिरिङको अनुगमन, उत्खनन्को बाधक को ? « Yalambar Times
५ आश्विन २०८१, शनिबार

नेता, प्रशासन र जनता लगायतले गरे नेते र बिरिङको अनुगमन, उत्खनन्को बाधक को ?


यलम्वर टाइम्स
२५ माघ २०७८, मंगलवार ०९:३३

अर्जुनधारा । अर्जुनधारा नगरपालिका अन्तर्गत रहेको खोला क्षेत्रमा राजनीतिक दलका नेता, जिल्लाका प्रहरी प्रशासन र स्थानीय जनता लगायतले सोमबार अनुगमन गरेका छन् ।

नगरपालिकाबाट ९ बजे अनुगमनमा निस्किएको टोलीले अर्जुनधारा वडा नं. १ को नेते खोलासँगै बुद्धशान्ति र अर्जुनधाराको सीमा क्षेत्रमा बिरिङ खोलाको अनुगमन गरेको छ ।

९ः३० बजे अर्जुनधारा १ को नेते खोलामा पुग्दा दुइ वटा भ्याकु र ८ वटा ट्रिपरले आईईई प्रतिवेदन अन्तर्गत खोलाजन्य सामग्री उत्खनन् गरिरहेको थियो भने केही ट्याक्टरहरु देखिन्थ्ये ।

राते खोलामा पुग्दा स्थानीयहरुले प्रशासनसँग दुवैतिरको पर्खाल निर्माण गरेर उत्खनन् गर्दा कठिन नहुने बताए ।

रातेको सिस्ने पैनीलाई भने मर्मत गरेर जनता बाँच्न सक्ने आधार निर्माण गर्न नगरलाई अनुरोध गरे ।

अनुगमनमा सरिक नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले सिस्ने पैनीलाई मात्र होइन, राते खोलाले समस्या पार्ने क्षेत्रमा तटबन्धन गर्ने योजना अगाडि सारेको जनतालाई बताए ।

अनुगमनले बुद्धशान्ति र अर्जुनधारा क्षेत्रमा रहेको विरिङ खोलाको पनि अनुगमन गरेको थियो ।

विरिङ खोला क्षेत्र प्रवेश गर्दा बुद्धशान्ति क्षेत्रमा पर्ने नदीजन्य सामग्री उत्खनन्मा स्काभेटर लगाएर उत्खनन् गरिरहेको थियो भने अर्जुनधारा क्षेत्रमा पर्ने विरिङ नदीमा बेल्चा प्रयोग गरेर ट्याक्टरमा लोड गर्ने काम भइरहेको थियो ।

करिब ११ः४५ मा विरिङ नदी प्रवेश गरेका अनुगमन टोलीले विरिङ नदीभरि ट्रिपरभन्दा ट्याक्टर बढी भेटेको थियो । अनुगमनमा सञ्चारकर्मीहरु समेतको उपस्थिति थियो ।

बुद्धशान्ति क्षेत्रमा पर्ने विरिङ नदीमा ठूलठूला खाल्डा बनाइ खोलाजन्य सामग्री उत्खनन् गरेको भेटिए । अनुगमनका गाडी विरिङ खोला कुदेपछि धेरै ट्याक्टर र ट्रिपर भगाएका थिए ।

अनुगमनमा नगर प्रमुख हरिकुमार राना, प्रमुख प्रशासकीय अधिकृत गीता राई, उपप्रमुख कमला आचार्य, नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी, जिल्ला सचिव कृष्ण हुमागाईं, नगर सभापति हेमराज खरेल, नेकपा एमालेका देवराज घिमिरे, दिपक कार्की, नगर अध्यक्ष बलदेव गोम्देन, सचिव लभकुश गौतम, नेकपा माओवादीका नारद दुःखी, राप्रपाका केशव ओझा, सूर्य खतिवडा, नेकपा एसका अर्जुन मेचे, जनमुक्तिका राज खम्बू र जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख, प्रहरी तथा सशस्त्रका प्रमुख, गैंडे जल उपभोक्ताका प्रतिनिधि, नगरका वडाध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

करिब १ः३० बजे अनुगमनपछि अर्जुनधारा नगरपालिकाको सभाहलमा सर्वदलीय भेलापछि प्रदेश सांसद माननीय बृख प्रधानको संयोजकत्वमा अर्जुनधारा नगरपालिकाका प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितिमा देखिएका समस्याहरुको सामाधानका लागि उपाय खोज्ने गरी छलफल टुंग्याइएको थियो ।

प्राप्त जानकारी अनुसार समस्यालाई समाधान गर्न र खोला समस्यालाई हल गर्न प्रत्येक वडामा स्थानीय राजनीतिक दलको उपस्थितिमा काम अगाडि बढाउने भएको उल्लेख छ ।