‘के तिमी पत्रकार हुन्छौं’ « Yalambar Times
८ मंसिर २०८१, शनिबार

‘के तिमी पत्रकार हुन्छौं’


यलम्वर टाइम्स
१ फाल्गुन २०७८, आईतवार ०७:१०

[दिपीन राई]

प्रजातन्त्र आइसके पनि त्यसको स्थायीत्व हुन बाँकी नै थियो । ठूलठूला दलहरु पनि अलमलिँदै प्रजातन्त्रको स्थायीत्वका लागि अभ्यास गरिरहेका थिए । पञ्चायतले छाडेको लामो समय भएको थिएन, तै पनि नेपाली जनताका छोराहरु स्वतन्त्रताको अभ्यासमा प्रगतिका बाटाहरु पहिल्याई रहेका थिए । केही विदेशतर्फ त कोही स्वदेशमै उद्योग, कलकारखाना खोल्ने र हजारौं युवाहरुलाई रोजगार दिने काममा थिए । अहिलेको जस्तो छ्यापछ्याप्ति सहकारी, बोर्डिङ र साना उद्योगहरु, स्वतन्त्रताको लागि सञ्चारहरु पनि थिएनन् । हलिया र कमारा राख्ने, अधियार र व्याज मरौंनी जग्गा कमाउनेहरुकै जमात थियो । मानौं बहुदलीय व्यवस्थामा के–के काम गर्न हुने, के–के अधिकार हो ? भन्ने पूर्णता प्रायः कसैमा थिएन ।

पञ्चायतको अवशेषका रुपमा श्री ५ रहिरहेको हुँदा दलहरु पनि परिपक्क थिएनन् । दलका वरिष्ठताको आधारमा त्यसबेला नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको जिम्मा थियो । संवैधानिक निकायको प्रमुख भने श्री ५ नै रहेको अवस्था थियो । त्यस्तो अवस्थामा पनि छिमेकी काका विद्यासागर अधिकारी एकाएक पत्रकारिताको बाटो देखाउन बिर्तामोडका पुराना पत्रकार गोविन्दप्रसाद अधिकारी (गुलाफ) सँग संगत गराउनु भयो । गोविन्द गुलाफ त्यसबेला प्रजातन्त्र आए पनि राजासँग नजिक हुन चाहन्थ्ये । उनीसँगै साईकलमा सवार हुँदै म भद्रपुर–४ स्थित विवेचना प्रकाशनमा पाइला टेक्न पुगें ।

विवेचना प्रकाशन जानु पहिला एक–दुइ महिना बिर्तामोडबाटै विवेचना दैनिक पत्रिका वितरण गर्न पुगें । भद्रपुरबाट डाँफे यातायात बसले ठीक बिहान ६ बजे बिर्तामोड ल्याइपुर्याउथ्यो । बिर्तामोडबाट २ सय कपी पत्रिका बोकेर पूर्व बुट्टाबारी, चारआली, धाइजन हुँदै कालिस्थान, शनिश्चरे, अर्जुनधारा क्षेत्रमा पत्रिका वितरण गर्थें । २०४९ भदौं १९ गते पत्रिकासँग नजिक हुँदै वितरण प्रक्रियामा सरिक भएँ । करिब छ, सात महिना पत्रिका निरन्तर वितरण गरेपछि कामको प्रशंसा हुन थाल्यो र भने जस्तो पत्रिकाको पैसा उठ्न पनि थाल्यो ।

पैसा राम्ररी उठेपछि प्रधान कार्यालयमा आधा रकम पुग्ने गर्दोरहेछ । कामको प्रशंसा खुब हुन थाल्यो । दैनिक उठेको सबै पैसा गोविन्द दाईलाई दिएपछि गोविन्द दाईले पत्रिकाका सम्पादकलाई मेरो बारे प्रशंसा गर्न थाल्नु भयो । पटक–पटकको प्रशंसाले पत्रिकाका सम्पादक नकुल काजीले दिपीनलाई लिएर कार्यालय आउनु भनी गोविन्द दाईलाई भन्नुभएको रहेछ । हिजो अस्ती जस्तो लाग्छ, त्यो दिन असोज १ गते थियो । छापाखानामा विशाल विश्वकर्मा पूजा रहेछ, छापाखानामा काम गर्ने सबै भेला भएका थिए । त्यसबेला छापाखानामा खानपीन रमझमको राम्रो व्यवस्था थियो । कोही हौसीरहेका थिए । कोही खसी बनाउँदै, कोही माछा, कुखुरा, पुलउ पकाउँदै थिए । म पुग्दा वरिष्ठ मानिसहरु पनि थिए, आफू भने बबुरो ।

यो बेला सम्झन्छु, त्यस बेला एसएल शर्मा, डिल्लीराम निर्भिक, बसन्तकुमार श्रेष्ठ, रामनाथ दाहाल, गोपीकृष्ण खनाल, मदन ढकाल अलिअलि सम्झना छ द्रोणचार्य क्षेत्री, जिल्लाका हाकिम सबैको उपस्थिति थियो जस्तो लाग्छ । गोपाल गिरी दाई पनि । म साईकलमा अफिस नजिक पुगेको थिएँ । अफिस अगाडि सेतो सर्ट कालो पाइन्ट लगाएका अग्लो डालको मान्छे ठिङ्ग उभिएको देखें । मनमनै लाग्यो यो मान्छे को रहेछ ? कतै यही मान्छे पो हो कि पत्रिकाको हाकिम ? म उहाँकै नजिक पुगेर प्रणिपात भने । उहाँले दाहिने हातले स्वागत गर्दै सोध्नुभयो, ‘को हौ भाई तिमी… ?’

‘दिपीन राई !’

‘ए… भाई ! तिमीभित्र जाँऊ त्यहाँ बस्दै गर ।’ मैले ‘हुन्छ’ भने ।

अफिस भित्र बाहिर रमझम छ, म भने एक्लो । नकुल काजी भनेको को रहेछ भन्दै म कुरी रहें, हेरी रहें । कसैलाई सोध्न आँटै आएन । करिब एक घण्टापछि त्यही अग्लो मान्छेले भाई तिमी यता आउँ भन्नु भयो । उहाँले करिब २० मिनेट मसँग छुट्टै कुराकानी गर्नुभयो ।

मलाई अझै सम्झना छ, उहाँले कुराकानीको पहिलो संवादमै ‘के तिमी पत्रकार हुन्छौं ?’ भनि सोध्नुभएको थियो । लामो समयको कुराकानीका बाबजुत बल्ल उहाँले आफ्नो नाम भन्न भयो ‘मै हुँ नकुल काजी’ ।

उहाँले आफ्नो नाम पूरा भनेपछि आङ जिरिङ्ग भयो । सोही कुराकानीको दौरान उहाँले आफ्नो जीवनी, यहाँसम्म आइपुग्दाको कथा–व्याथा छोटोमीठो ढंगले सुनाउनुभयो । म लिखुरे वर्षले १८ मात्र पुगेको खाली खुट्टा भुक्के चप्पलमा पुग्दा र नकुल दाईको संघर्षको कथा सुन्दा पहिलो पटक नै आत्मा बल बढेर आयो । उहाँसँगको छोटो मीठो बसाईपछि घर फर्के । मेरो बिहानको दैनिकी पत्रिका बाँड्ने नै थियो । करिब छ महिना पत्रिका वितरणपछि म एसएलसी उत्र्तीण भएँ । त्यसपछि नकुल दाईले पुनः कार्यालयमा बोलाउनु भयो । कार्यालयमा आउँदा समाचार लिएर आउनु भन्नु भएको थियो । समाचार के लाने के ? म अन्यौलमा थिएँ । त्यतिकैमा ‘शनिश्चरे बजारमा डाईस र क्यारेमबोर्ड खुल्मखुला खेल’ भन्ने समाचार हुन्छ कि हुँदैन भन्दै डेक्स सम्पादकको टेबलमा पुर्याएको थिएँ । उक्त समाचार निकै महत्वपूर्ण रुपमा नकुल काजी दाईले लिनुभयो ।

एक छेउमा एक जना लिखुरे हाफ पाइन्ट र माथि चाँही कमेज लगाएको युवाको टेवलमा समाचार पुग्यो । उहाँले पनि खुब प्रशंसा गर्नुभयो बल्ल थाहा भयो कि यस्तो पनि समाचार हुँदो रहेछ । एकछिन सम्झना योग्य, मीठा र पत्रकारिता कसरी गर्ने भन्ने विषयमा गफ पनि भयो । उहाँ हुनुहुन्थ्यो अखण्ड भण्डारी । मैले समाचार लेख्न थालेपछि पत्रिकामा नाम आउन थाल्यो । म भने दैनिक पत्रिका बाँड्दै अगाडि बढें । सबैले तिमी समाचार पनि लेख्छौं भनी प्रशंसा गर्न थाले ।

म समाचार लेख्न थालेपछि दमकबाट मित्र गोपाल गड्तौला र हालका दमक नगर प्रमुख रोमनाथ ओली दाईले पत्रिका वितरण र समाचार सम्प्रेषणको जिम्मा लिनुभयो । गोपाल र रोमनाथ दाईको तलब पुर्याउन म आफैं जाने गरेको थिएँ । त्यसबेला विवेचना ठूलो आकारमा ४ पेज प्रकाशित हुन्थ्यो भने झापा हिजोआज दैनिक २ पेज प्रकाशित हुने गरेको थियो । भद्रपुरमै ठूलो आकारको विवेचना दैनिक निकै लोकप्रियता नै थियो ।

त्यसबेला साप्ताहिक रुपमा माधव विद्रोहीको स्वधिन सम्वाद, स्व. गोपीकृष्ण खनाल दाईको नयाँ कामना, तिलबिक्रम कन्दङ्वा र केपी कन्दङ्वाको सञ्चालनमा जनचाहना अखबार बजारमा आउथ्ये । माधव दाईको स्वाधिनले कम्युनिष्टहरुको समाचार बगरेल्ती प्रकाशित हुने गरेको थियो भने नयाँ कामना राजाको जय जय गाउँदै पद्य्म सुन्दर लावतीको पक्षमा कलम चल्ने गर्थ्यो । जनचाहनाको कुनै बाटो थिएन । यस्तो अवस्थामा चल्दै गएको विवेचना दैनिकको फोन नम्वर २०१८८ मा समाचार रेकर्ड गराउने र प्रकाशित गर्ने काममा लागें । कामसँगै बिहान कनकाई क्याम्पस, सुरुङ्गा अध्ययन गर्ने मौका नकुल दाईले जुराईदिनु भयो । बिहानको क्याम्पस दिउँसोको पत्रकारिता मेरो लागि सौभाग्यको दिन बन्दै गयो । बाहिर अफिसको फिल्डको जिम्मा र सभा समारोहमा गएर समाचार संकलन गर्ने जिम्मा पाएपछि सबैतिर चिनजान र पहिचान राख्ने काममा राम्रो अवसर मिल्दै गयो ।

फिल्डबाट रिपोर्ट भन्थ्ये, अफिसबाट अखण्ड जी टिपन गर्नुहुन्थ्यो । पछि खगेन्द्र भण्डारी र नकुल दाईको नजिक रहेर काम गर्नुहुने मिजासिल पत्रकार गोपाल गिरीले पनि मेरो टेलिफोन रिपोर्टलाई मसिनो रुपमा टिप्नू हुन्थ्यो । यसरी नै भद्रपुर नगरपालिकामा नगर प्रमुख भरतेन्द्र मल्लिक हुनुहुथ्यो । प्रमुख मल्लिकसँग कहिलेकाँही भद्रपुर नगरपालिकाको गाडी लिएर पत्रिकाको काममा दमक काँकरभिट्टासम्म कुदेको पनि सम्झनामा छ । सिक्किमका अग्रज पत्रकार भीम दाहालसँग पनि पुगेको र केही काम गरेको सम्झना छ । विवेचनाबाटै विराटनगरमा एनपीआईले तालिम दिँदा सहभागि भएको हिजोअस्ती जस्तो लाग्छ । पछि अखण्ड जी काठमाण्डौतर्फ लाग्नुभयो । उहाँको ठाउँमा शिवसताक्षीमा निजी विद्यालय पढाउँदै आउनुभएका ज्यामिरगढी बिचार्नी निवासी मोहन न्यौपाने (काजी)को उपस्थिति रह्यो । त्यसपछि रोहित काफ्ले । उहाँहरुसँगको संगत अझै पनि सम्झना योग्य छ । म विवेचना पुग्दा अरुण राई कुशल हकरका रुपमा थिए । राई भने अझै पनि भद्रपुर क्षेत्रमा रहेर विभिन्न अखबारको जिम्मा लिएर बजारमा पुर्याउने काममा हुनुहुन्छ ।

यसरी नकुल दाई र प्रकाशनमा रहेका डेक्स प्रमुखहरुको आत्मीयताले आज पत्रकार हुन पुगेको जस्तो लाग्छ । हिजोअस्ती जस्तो लाग्छ २९ वर्ष पुगेको थाहै भएन । जताततै समस्या, जनताकै पीरमार्का, राजनैतिक दलका भनाईहरु र विभिन्न जात वर्गको अकरिलो भनाईलाई कलममार्फत सन्देश दिँदै जाँदा पत्रकारिताको पद बोक्न पुगियो । विवेचनापछि, हिमाल टाईम्स, रुपरेखा, छहरा, भारत सिलगुढीबाट प्रकाशित आजभोली, तीलबिक्रम कन्दङ्वाद्वारा सम्पादित जनचाहना, मुक्ति आवाज हुँदै आफ्नै स्वामीत्वमा प्रकाशित यलम्वर टाइम्स साप्ताहिक, यलम्वर टाइम्स अनलाईन खबरसम्म आईपुगेको अवस्था छ । त्यसैले आदरणीय गुरु नकुल दाईले भनेको जस्तै ‘के पत्रकारिता हुन्छौं’ भनेको शब्द आज पनि आलै छ ।