सातदोबाटो झापा गोल्डकपको अन्तिम चारमा « Yalambar Times
५ आश्विन २०८१, शनिबार

सातदोबाटो झापा गोल्डकपको अन्तिम चारमा


यलम्वर टाइम्स
२३ फाल्गुन २०७८, सोमबार १४:५१

बिर्तामोड । सातदोबाटो युथ क्लब बिर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा सञ्चालन हुँदै आएको पाँचौँ संस्करणको झापा गोल्ड कपको अन्तिम चारमा प्रवेश गरेको छ ।

विभागीय टोली एपिएफ फुटबल क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै सातदोबाटोले सेमिफाइनलको यात्रा तय गरेको हो ।

सोमबार भएको पहिलो क्वार्टर फाइनल खेलमा सातदोबाटोको जितका लागि खेलको ८२औँ मिनेटमा सुशील राईले गोल गरे ।

लगत्तै ८५ औँ मिनेटमा नीरज चौधरीले सातदोबाटोको अग्रतालाई दोब्बर बनाए ।

तर, गोलपछि सम्हालिन नसक्दा एपिएफले गोल फर्कायो । एपिएफका लागि खेलको इन्ज्युरी समयमा दिपेश धिमालले सान्त्वना गोल फर्काए ।

खेलको पहिलो हाफ बराबरीमा टुंगिएको थियो । खेलको छैटौँ मिनेटमा एपिएफका युवराज खड्काले डिबक्सभित्र पाएको बल प्रहार गर्न सकेनन् ।

१३ औँ मिनेटमा सातदोबाटोका प्रशान्त अवस्थीको कर्नर प्रहारमा आकाश बुढा मगरले गरेको क्रसर एपिएफका गोलरक्षक युया कुरियामाले बचाउ गरे ।

२१ औँ मिनेटमा एपिएफका अर्मोड बेडमले डिबक्सभित्रबाट गरेको प्रहार सातदोबाटोका मार्टिन सिलोले बचाउ गरे ।

४६ औँ मिनेटमा सातदोबाटोका सुशील राईले गरेको प्रहार विपक्षी गोलरक्षकले सहजै समाते । ५५ औँ मिनेटमा एपिएफका अर्मोड बेडमको क्रस कप्तान नवीन लामाले मिस गरे । ७४ औँ मिनेटमा एपिएफका युवराज खड्काको हेडर पास्ट नजिकैबाट बाहिरियो ।

जीतसँगै सातदोबाटो क्लब पाँचौँ संस्करणको नेपाल आइस झापा गोल्डकपको अन्तिम चारमा पुगेको छ । सातदोबाटोको जीतका लागि पहिलो गोल गर्ने सुशील राई सोमबारको खेलको म्यान अफ द म्याच भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ प्राप्त गरे ।

मंगलबारको अर्को क्वार्टर फाइनल खेल संकटा क्लब र थ्री स्टर क्लबबीच हुने आयोजक समितिका महासचिव गजेन्द्रबहादुर पौडेलले बताए ।

संकटाले नेपाल पुलिस क्लबलाई पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको हो भने थ्री स्टार सोझै क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।

यसै बीच भोली हुने खेलमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्मान स्वरुप महिलाहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।