दाता प्रसाईले राखिदिए बिन्ध्यावासीनीमा योगमायाको मूर्ति « Yalambar Times
५ आश्विन २०८१, शनिबार

दाता प्रसाईले राखिदिए बिन्ध्यावासीनीमा योगमायाको मूर्ति


यलम्वर टाइम्स
२६ चैत्र २०७८, शनिबार ०१:०१

भाङबारी । युवा उद्यमी तथा वीएण्डसी टिचिङ अस्पतालका सञ्चालक दुर्गा प्रसाईले बिन्ध्यावासीनी मन्दिर परिषरमा योगमाया देवीको प्रतिमा स्थापित गरिदिएका छन् ।

काठमाण्डौको पाटनमा निर्माण गरिएको योगमाया भगवतीको प्रतिमा शुक्रबार स्थापना गर्दै दाता प्रसाईले बिन्ध्यावासीनी मन्दिर तथा यस क्षेत्रका जनतालाई योगमायाको आशिर्वादबाट फलिफाप हुने बताए ।

मन्दिर स्थापनापछि सभामा विशेष अतिथिको आसनबाट बोल्दै प्रसाईले भगवतीको आशिर्वादले हामीलाई लिनभन्दा दिन पुगोस् भन्दै मठमन्दिर, विद्यालय तथा असाहयहरुको घर निर्माण र उनीहरुको स्वास्थ्य उपचारमा सेवा गर्न पुगिरहोस् यही प्रार्थना गर्दछु ।

उनले अगाडि भने, ‘सबैको सेवा गर्दागर्दै धर्ती छाड्नु पर्यो र सबैले थाहा पाए भने एक थोपा आँशु यो दुर्गाको नाममा झारिदिए आभारी हुनेछु ।’

अर्जुनधारा क्षेत्रमा मात्र होइन अन्य ठाउँमा पनि विद्यालय, भगवानका मूर्ति प्रदान गर्दै आएका छौं । यसरी नै विभिन्न ठाउँमा पनि यस्ता मूर्तिहरु निर्माण गर्दै जाने प्रसाईले बताए ।

मूर्तिको अनावरण संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले गरेका थिए । अनावरण गर्दै नेम्वाङले धर्म निरपेक्षता भएको देशमा सबै धर्मको कल्याण हुने जोड दिए ।

मन्दिर अध्यक्ष मनोज जोशीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत प्रेम कार्कीले गरेका थिए । सोही कार्यक्रममा अस्पतालकी अध्यक्ष इन्दिरा गिरी, अस्पतालका जनसम्पर्क अधिकारी प्रमेश गिरी, स्थानीय भद्रभलाद्मी लगायतको आतिथ्य रहेको थियो ।

योगमायाको मूर्ति चार दिनअघि झापा ल्याएर प्राण प्रतिष्ठा गर्नका साथै विधिवत् रुपबाट करिब १० बजे योगमायाको मूर्ति बिन्ध्यावासीनीमा भित्र्याइएको थियो ।

मूर्ति भव्य र सुन्दर आकारमा निर्माण गरिएको छ । मूर्ति स्थापना गर्नुअघि वीएण्डसी अस्पतालबाट एक हजार बढीको र्यालीमा बिन्ध्यावासीनीमा ल्याइएको थियो ।

महिलाहरुको नौमति बाजासहित भित्र्याइएको मूर्तिको लागत भने २५ लाख बढी रहेको बताइएको छ ।

यसरी नै फाल्गुनन्द कैदले पर्यटन पार्कमा पनि दुर्गा र शिवको मन्दिर निर्माण हुँदै गरेको जनाएका छन् । उक्त मूर्ति पनि दाता दुर्गा प्रसाईले नै निर्माण गरिदिने भएका छन् ।