किराया झापाले जेष्ठ २१ गते भव्य साकेला सिली गर्दै समापन गर्ने « Yalambar Times
५ आश्विन २०८१, शनिबार

किराया झापाले जेष्ठ २१ गते भव्य साकेला सिली गर्दै समापन गर्ने


यलम्वर टाइम्स
१७ जेष्ठ २०७९, मंगलवार ०८:४१

दमक । किरात राई यायोक्खा झापाले जेष्ठ २१ गते शनिबार सीतापुरी स्थित साकेला थानमा विविध कार्यक्रम गर्दै साकेला सिली समापन गर्ने भएको छ ।

किराया झापाले साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग छलफल गर्दै कार्यक्रमको तयारी सुरु गरेको हो ।

बैशाख पूर्णीमाको दिनदेखि सुरु भएको साकेला सिली कार्यक्रम जिल्लाका विभिन्न स्थानहरुमा हुँदै आएको र जेष्ठ २१ गते जिल्ला समितिको आयोजनामा समापन हुने यायोक्खा झापाले जनाएको छ ।

झापाका जिल्ला भरीका गाउँ, नगर तथा वडा समितिहरुको साकेला सिली प्रदर्शन साथै इलाम, मोरङ र भारत बाघडोग्राबाट समेत साकेला टोली सहित कार्यक्रममा सहभागि हुने किराया झापा जिल्ला अध्यक्ष इन्द्रमान चाम्लिङ राईले बताए ।

विगत वर्षहरुमा ३० देखि ३५ वटा साकेला सिली टोलीको सहभागिता रहँदै आएको यस कार्यक्रममा यस पटक केहि साकेला टोली बढ्ने अनुमान गरिएको छ ।

कार्यक्रमलाई व्यवस्थित र भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न ९ वटा उपसमितिहरु बनाइएको किराया जिल्ला सहसचिव लिलाबहादुर राईले बताए ।

कार्यक्रम मूल आयोजक समिति, स्वयम्सेवक परिचालन, अतिथि सत्कार, मेला व्यवस्थापन उपसमिति लगायतको उपसमितिहरु गठन गरिएको राईले बताए ।

कार्यक्रममा साकेला सिली प्रदर्शन, विभिन्न विद्यामा अग्रज सफल व्यक्तित्वहरुलाई सम्मान गरिने जनाइएको छ ।

कार्यक्रम स्थलमा रोटेपिङ, ड्रागन, नाउ लगायतको खेल तमासा समेत रहने मेला व्यवस्थापन समितिका सदस्य जिवन राईले बताए । नेपालको प्रचलित कानूनको अधिनमा रहेर खेलहरु लगाइने राईले बताए ।

साकेला सिली प्रतिको बढ्दो मोहलाई मध्यनजर गर्दै यस पटक कार्यक्रम व्यवस्थापनमा समेत ध्यान दिइएको किराया जिल्ला सदस्य सुशिल राईले बताए ।

करिब ६ देखि ८ हजार मानिहरुले अवलोकन गर्दै आएको यस कार्यक्रम कोरोना पछिको पहिलो कार्यक्रम भएकोले कार्यक्रममा सहभागिता संख्या बढ्ने अनुमान गरिएको राईले बताए ।