तेस्रो टि–२० खेलमा नेपालद्वारा केन्या पराजित « Yalambar Times
११ पुष २०८१, बिहीबार

तेस्रो टि–२० खेलमा नेपालद्वारा केन्या पराजित


यलम्वर टाइम्स
१३ भाद्र २०७९, सोमबार ०६:२९

अर्जुनधारा । नेपालले तेस्रो टि–२० आई खेलमा घरेलु टोली केन्यालाई ४ विकेटले हराएको छ ।

केन्याको नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा भएको खेलमा केन्याले दिएको १५७ रनको विजयी लक्ष्य नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर भेटायो ।

राष्ट्रिय टिमका लागि डेब्यू गरेका विकेटकिपर अर्जुन साउदले ३१ बलमा २ चौका र ३ छक्काको मद्दतमा ३५ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए ।

अर्का ओपनर पवन सरार्फले १२ बलमा २० रन जोडेका थिए । ज्ञानेन्द्र मल्लले ४१ बलमा ४६ रन जोेड्दै नेपालको जितका लागि आधार बनाएका थिए ।

ज्ञानेन्द्र र अर्जुनले नेपालको जितका लागि ४२ रनको उत्कृष्ट साझेदारी गरेका थिए । खेलको म्यान अफ दि म्याच पूर्व कप्तान ज्ञानेन्द्र मल्ल भए ।

रोहित पौडेलले २९ र आदिल अन्सारीले १६ रनको योगदान दिएका थिए । त्यस्तै बलिङमा तीव्र गतिका बलर सोमपाल कामी र अदिल अन्सारीले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको केन्याले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो ।

केन्याका लागि रकिप पटेलले ७३ र इफरान करिमले ५५ रन जोडेका थिए ।

नेपालले चौथो खेल आज नैरोबीको खेल मैदानमै खेल्दैछ । खेल नेपाली समय अनुसार ३:४५ मा सुरु हुनेछ ।

नेपालले आजको खेल जित्दै एक खेल अगाडी नै सिरिज आफ्नो नाममा बनाउन चाहन्छ ।

पाँच खेलको टि–२० आई खेलमा नेपालले २–१ को अग्रता बनाएको छ ।