कस्ता उम्मेद्वार पठाउँदैछौं « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

कस्ता उम्मेद्वार पठाउँदैछौं


यलम्वर टाइम्स
२७ भाद्र २०७९, सोमबार ०७:२१

मतदान गर्न माहिर भएका नेपाली जनताले अब कस्ता उम्मेद्वारलाई गर्छन् ? या दलहरुले कस्तो उम्मेद्वारी दिने हुन् ? यो चर्चाको विषय बनेको छ । मतदाता आफ्नो पक्षमा छ या कार्यकर्ता हाम्रो पक्षमा बढी छन् भन्ने सोचले जो कोही दलले हौसिए । जसलाई पायो उसलाई उम्मेद्वारी सिफारिस गर्यो भने अब त्यो जनताको अगाडि विचाराधिनमा सीमित रहने छ ।

नेपालमा प्रजातन्त्रदेखि लोकतन्त्र आएसम्म नेपाली जनताले दललाई नै विश्वास गरे । दलको सदस्यता बोकेर वा लेवी दिएर दललाई बचाई रहे । राजनैतिक दल नै हो देश र जनताको भरोसा वा सञ्चालन गर्ने नीति तर दलका अगुवा वा राजनेता हुने र हुन खोज्नेले स्वार्थमा उभिएर नातावाद र जातिवाद लादेर उम्मेद्वारी दिने हो भने विगतको अवस्था या परिणामभन्दा यो पटक फरक परिणाम प्राप्त हुने निश्चित छ । नेपाली जनता हिजो दलहरुबाट लगाम लगाइएको जस्तो थिए । आ–आफ्नो दलहरुलाई विभिन्न कोणहरुबाट सल्लाह सुझाव दिँदै आएका पनि थिए तर दलका अगुवाहरुले कार्यकर्ताको मर्म, भावना, सुझाव बुझ्न र मनन् गर्न नसक्दा आज धेरै दलहरुका कार्यकर्ताहरु विचलनको बाटोमा दौडिएको उनीहरुको अभिव्यक्तिबाट प्रस्टिन्छ । कार्यकर्ताहरुको गुनासो पनि त्यतिकै छ । त्यसैले अब दलहरुबाट उम्मेद्वारी दिँदा सबै कुराको मनन् गरेर जनतामाझ पठाउनु पर्छ ।

झापा जिल्ला अत्याधिक आदिवासी, जनजाति, दलित र गरिब निमुखा बसोबास भएको जिल्ला हो । हुने खाने र चतुर्यांइ गर्ने दलका अगुवाले सञ्चालन गरेको जिल्ला पनि भनिन्छ । त्यस्ता शब्दहरुलाई ख्यालमा राखेर समतामूलक सोचका साथ समावेशी उम्मेद्वारी दिनु उचित छ । त्यसमा पनि झापामा निर्णायक मत आदिवासी जनजाति र दलितहरुको देखिन्छ । त्यसलाई दलहरुले ख्याल गर्न सकेनन् भने धेरै मत स्वतन्त्र उम्मेद्वारको पक्षमा जाने पक्का छ । त्यसमा दलहरुले विचार र विवेक पुर्याएनन भने परिणाम सोचेको भन्दा फरक आउन सक्छ ।