ठूला दलका नश्लीयत चरित्रकै कारण प्राप्त अधिकार गुम्ने खतराः कार्यकारी अध्यक्ष सूर्यवंशी « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

ठूला दलका नश्लीयत चरित्रकै कारण प्राप्त अधिकार गुम्ने खतराः कार्यकारी अध्यक्ष सूर्यवंशी


यलम्वर टाइम्स
३१ आश्विन २०७९, सोमबार ०९:४८

रुपन्देही । चुनावी घोषणापत्र देखाएर भोट माग्ने जीतेपछि घोषणपत्रअनुसार काम नगर्ने दललाई मंसीर ४ गतेको आम निर्वाचनमा परास्त गर्नुपर्ने जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष तथा रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभाका उम्मेद्वार केशव सूर्यवंशीले अनुरोध गरेका छन् ।

पटक–पटक पहिचानका कुरा गर्ने निर्णायक स्थानमा पुग्दा पहिचानलाई तिलाञ्जली दिने आफू खुशी ५ वर्ष कटाउने त्यस्ता सुख भोगी दलका उम्मेद्वारहरुलाई बेलैमा पहिचान गरि तिनका विरुद्ध आवाज उठाउने दिन आएको बताएका छन् ।

यलम्वर टाइम्सका प्रतिनिधि सञ्चारसँग कुरा गर्दै जनतालाई खेलौना बनाई राज गर्न खोज्ने दल विरुद्धको उम्मेद्वार भएको हुँदा पहिचान पक्ष र बहुभाषी, बहुसंस्कृति, समताको अधिकारका लागि आफूले उम्मेद्वारी दिएको बताएका छन् ।

उम्मेद्वार सूर्यवंशीले मुलुक समानुपातिक नीतिबाटै विकास र नेतृत्व निर्माण हुने हो ठूला दलका नेताहरुले समानुपातिक नीति र नेतृत्व निर्माणमा रोक लगाएको हुँदा आज नेपाली जनता लोकतन्त्र आएको लामो समय बित्दा पनि उठ्न नसकेको बताए ।

हजारौं शिक्षित युवाहरु विदेशमा श्रम गरिरहेका छन्, श्रम गर्ने क्षेत्र र स्थान नेपालमा प्रचुरमात्रामा हुँदाहुँदै पनि नवजवान युवाहरुलाई विदेश पठाएर दलले राज गरेको देख्दा अब नेपाली जनता साँच्चैको राजनीतिक दललाई छानेर मत जाहेर गर्न अनुरोध गरे ।

‘हाम्रो पार्टीले पटक–पटक भन्दै आएको छ, विदेशी नेपाली जनतालाई मत हाल्ने अधिकार दिनुपर्छ’ सूर्यवंशीले भने, ‘तर, ठूला राजनीतिक दलका नेतामा नश्लीयत चरित्र र नातावाद, कृपावाद रहेको हुँदा गरिबका सन्तान माथि उठ्न सकेका छैनन् ।’

तपाईको एजेण्डा के रहन्छ ? भन्ने प्रश्नमा जनमुक्तिको ३० वर्षे राजनीतिक इतिहासबाट प्राप्त जनमुक्ति विचारधारा नै नेपाली भूगोललाई छुने भएको हुँदा मेरोमात्र होइन देशभरि जनमुक्तिका उम्मेद्वारहरुको नारा त्यही रहने बताए ।

स्वतन्त्र उम्मेद्वारहरुलाई कसरी हेर्नुभएको छ ? ‘ठूला दलको असफलता, नातावाद, कृपावाद र नश्लीयत चरित्रसँगै भ्रष्टाचारको उपज भएको भन्ने हाम्रो ठम्याई छ । ठूला दलको यही चरित्र हो भने प्राप्त अधिकार गुम्ने खतरा रहेको देखिन्छ’, सूर्यवंशीले भने ।

भ्रष्टाचारको विषयमा बोल्दै सूर्यवंशीले भ्रष्टाचारीको प्राप्त सम्पत्ती राज्यको ढुकुटीमा जम्मा गरिनुपर्छ, भ्रष्टाचारीलाई आजीवन सजायको व्यवस्था गरिनुपर्ने बताए ।

उनले नातावाद र कृपावाद मौलिक ऐजेरुको रुपमा ठूला दलहरु रहेको बताउँदै त्यसलाई निकाल्न यस्ता आम चुनाव हुँदा जनमुक्तिको घर चिन्हमा मतदात गर्न सके सजिलै निकाल्न सकिने बताए ।