गुरु आर्शिवाद लिँदै पालुङ्वा प्रचार अभियानमा « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

गुरु आर्शिवाद लिँदै पालुङ्वा प्रचार अभियानमा


यलम्वर टाइम्स
७ कार्तिक २०७९, सोमबार ०८:५५

माङसेबुङ । इलाम क्षेत्र नं. २ का उम्मेद्वार केपी पालुङ्वाले किरात धर्म गुरु आत्मनन्द लिङ्देन सेइङसँग गुरु आशिर्वाद लिएपछि चुनावी प्रचार अभियान सुरु गरेका छन् ।

आइतबार गुरु शरणमा पुगेका उम्मेद्वार पालुङ्वाले क्षेत्र नं. २ को भौतिक विकासदेखि पूर्वाधार हुँदै मुन्धुमी प्रगतिका लागि आफू उम्मेद्वार भएको गुरु भेटमा दर्शाएका छन् ।

उनले माङसेबुङ गाउँपालिकालाई ऐतिहासिक नगरपालिकाको रुपमा लैजाने, फाल्गुनन्द सामुदायिक वनलाई ऐतिहासिक जडिबुटी केन्द्रको रुपमा स्थापित गर्ने, दमक–रबी–फाल्गुनन्द मार्गको स्तरोन्नति र चाडै कालोपत्रे निर्माणमा लैजाने, खत्रक्पादेखि शुक्रबारे बजारसम्मलाई आधुनिक भित्र शहरको रुपमा रुपान्तरण गर्ने, बिजुली खानेपानीलाई उच्च प्राथमिकतामा राखी काम गर्ने, गरुवा बहुमुखी क्याम्पसलाई सुविधा सम्पन्न बनाउनका साथै कृषि क्याम्पस निर्माण गरि यस क्षेत्रको मात्र नभइ इलामबासीको उन्नतिको लागि काम गर्ने समेत दर्शाए ।

उम्मेद्वार पालुङ्वाले गुरुको आशिर्वाद प्राप्त गरेर प्रचारमा हिड्दा सहज हुने भएको हुँदा आफू किरात सगरमाथाको पक्षमा वकालत गरेर प्रदेश नं. १ लाई गुरुको आज्ञा अनुसारको काम गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

पालुङ्वाले यसरी प्रतिवद्धता किरात धर्मावलम्बीहरु माझ राख्दा गुरु आत्मानन्दले टाउको हल्लाउँदै ध्यानपूर्वक श्रवण गरिरहेका थिए ।

कार्यक्रममा गुरुले प्रवचन दिँदै किरात धर्मको स्तरोन्नति र विकासमा यहाँका भुमिपुत्रले मात्र बचाउन सक्ने भएको हुँदा आम जनतामा सकारात्मक भाव बोकेर अगाडि बढे शिखरमा पुग्न सक्ने बताए ।

गुरु आत्मानन्दले आशिर्वाद प्रदान गरेपछि विभिन्न आश्वासन दिने तर आश्वासन अनुसारको काम नहुने हुँदा हामीहरुलाई नमिठो महशुस भएको बताउँदै जनतालाई झुक्याएर, आश्वासन दिएर अगाडि बढ्ने नेताहरुको अवस्था कमजोर हुँदै गएको बताए ।

गुरुले अगाडि भने, आशिर्वादसँगै प्रतिवद्धता साथ जनतामाझ जानुपर्ने बेला भइसकेको छ । आशिर्वाद कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष कमला थापा, संघीय सदस्य केहरसिंह राना लगायत उम्मेद्वारहरुले गुरु दर्शन गरेका थिए ।

माङसेबुङ वडा नं. ५ का अध्यक्ष नरेन्द्रकुमार राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन रानीटारे साइलाले गरेका थिए ।

साइलाका अनुसार गुरुसँग आशिर्वाद माग्न सुवास नेम्वाङ लगायत विभिन्न राजनीतिक दलका प्रदेश सभाका उम्मेद्वार, समानुपातिकका उम्मेद्वारहरु आएका छन् ।