मदनपुर । झापा क्षेत्र नं. २ का लागि गठबन्धनका साझा उम्मेद्वार हरिकुमार रानाले सुकुम्बासी समस्या समाधानको बाटो अर्जुनधारा नगरपालिकाले कोरिदिएको बताएका छन् ।
चुनाव प्रचार अभियान अन्तर्गत अर्जुनधाराको मदनपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै अर्जुनधारामा ७ हजार २ सय अव्यवस्थित सुकुम्बासी प्रमाणका लागि नगरले वडामार्फत लगत उठाइसकेको हुँदा अब आउने सरकारले त्यही लगतमार्फत सुकुम्बासीलाई लालपूर्जा वितरण गर्न सजिलो हुने बताए ।
अर्जुनधारा क्षेत्रको जनजीवन आफूलाई राम्रोसँग थाहा भएको हुँदा अव्यवस्थित, असुरक्षित र प्रमाण बेगर भोगचलन गर्दै बस्नुभएका ७ हजार २ सय परिवारको लागि तपाईले दिएको ५ हजार नगरपालिकामा सुरक्षितसँगै भोगचलनको रेकर्ड रहेको हुँदा नडराउन आम जनतामाझ आग्रह गरे ।
चुनाव नजिकिदै जाँदा सुकुम्बासीका विषयलाई विपक्षी मित्रहरुले अनर्गल प्रचार गरेको हुँदा आफूलाई दुःख लागेको बताउँदै सुकुम्बासीको लगत संकलन र रकम लिने निर्णय त्यसबेला सबै दलको सहयोगमा नगरपालिकाको बोर्ड मिटिङले सर्वसम्मत गरेको हो, अन्याथा नसम्झिन आम नागरिकमा आग्रह गरे ।
यसअघि जोतभोग कसले कति गरेको थियो, अर्जुनधारामा रेकर्ड थिएन । कम्तिमा १० वर्षदेखि गर्दै आएको भन्ने प्रमाण जुटेको हुँदा अनर्गल प्रचारमा नलाग्न अनुरोध गरे ।
उम्मेद्वार रानाले भने, क्षेत्र नं. २ खोलानाला र हात्तीले दुःख दिएको र कृषकले समयअनुसार सिचाई गर्न नपाएर उब्जनी कम भएको क्षेत्र हो । त्यतिमात्र होइन, असहाय, गरिबीले ढाकिएको क्षेत्र हो । मेरो जीवन सामाजिक क्षेत्रमै बितेको हुँदा सबै कुरा मैले मसिनो रुपबाट हेरेको छु । आउने मंसीर ४ को निर्वाचनमा मत दिएर विजय गराइदिन आग्रह गर्दै विजयपछि पनि यहाँहरुकै घरआँगनमा रहनेछु ।
कार्यक्रममा क्षेत्र नं. २ ‘ख’ का उम्मेद्वार खगेन्द्र मैनालीले युवाले देश हाँक्न सक्ने क्षमता बनेको हुँदा क्षेत्रको विकासमा आफ्नो सदैव मन जाने बताउँदै विजय गराउन आग्रह गरे ।
कार्यक्रममा खेम काफ्ले, नेपाली कांग्रेसका नेता दिपक तामाङ, राजकुमार बराइली, नविन ढुंगना, नेकपा माओवादीका सरु, समाजवादीका अर्जुन मेचे लगायतका नेताहरुको सहभागिता थियो ।