आतंकित, लोभलाल्चा र भुक्याएर आफ्नो पक्षमा पार्नेलाई निरुत्साहित पारौंः इन्सेक « Yalambar Times
५ आश्विन २०८१, शनिबार

आतंकित, लोभलाल्चा र भुक्याएर आफ्नो पक्षमा पार्नेलाई निरुत्साहित पारौंः इन्सेक


यलम्वर टाइम्स
२३ कार्तिक २०७९, बुधबार ११:१०

बिर्तामोड । इन्सेकका अध्यक्ष डा. इन्दिरा श्रेष्ठ मास्केले भयरहीत निर्वाचन गर्नमा झापा तयार रहेको बताएकी छिन् ।

झापाको प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, प्रहरी प्रमुख विश्वमणि पोखरेल, निर्वाचन प्रमुख हरि ज्ञावलीसँग भएको साक्षत्कार कार्यक्रममा उक्त सन्देश आएको बताएकी हुन् ।

बिर्तामोडमा आयोजित मानवअधिकारवादी र सञ्चारकर्मी बीच निर्वाचन सम्बन्धि भएको छलफलमा जिल्ला प्रशासनले शान्तिपूर्ण निर्वाचन गर्न सबै मातहत सक्रिय रुपमा प्रशासन परिचालन गरिने र निर्वाचन हुने स्थानको अवलोकन साथै भयरहीत निर्वाचन गराउन दलहरुसँग अन्तरक्रिया गरिसकेको प्रजिअ रिजालले बताएको अध्यक्ष मास्केले जानकारी दिइन् ।

कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले मेची अञ्चलको सबै जिल्लामा इन्सेकको अनुगमन रहेको हुँदा झापा हुँदै ताप्लेजुङसम्म पुग्ने र त्यस क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिने बताए ।

निर्देशक गौतमले मतदातालाई आतंकित बनाएर, लोभलाल्चा र झुक्याएर आफ्नो पक्षमा पार्ने पक्षलाई निरुत्साहित पार्नुपर्ने बताए । इन्सेक मतदाताले चाहेको व्यक्तिलाई शान्तिपूर्ण मतदान गर्न मद्दत पुगोस् भन्ने पक्षमा रहेको बताउँदै निर्वाचनको समयमा इन्सेकका अनुगमन प्रतिनिधिहरु मतदान स्थलमा पुग्ने पनि बताए ।

छलफलमा नियोक झापाका अध्यक्ष डा. रुपकप्रसाद खनालले यसपालिको निर्वाचनमा युवा शक्तिहरु निरुत्साहित भएको बताउँदै दलहरुको घोषणापत्र अनुसार काम नगरेको हुँदा किन र कसलाई भोट दिने भन्ने तर्क मतदाताहरुमा भएको बताए ।

फोनिजका दिपीन राईले दलहरुले पहिलाकोभन्दा फरक ढंगबाट प्रचारप्रसार गरे पनि सामुदायिक वन, खानेपानी र आयस्रोत भएका संघसंस्थाका प्रतिनिधिहरु चुनाव प्रचारप्रसार कार्यक्रममा सक्रिय भएको हुँदा त्यसलाई न्यूनिकरण गर्न इन्सेकमार्फत निर्वाचन आयोगलाई आग्रह गरे ।

इन्सेक प्रदेश नं. १ कार्यालयका प्रमुख सोमराज थापाको सभापतित्वमा भएको कार्यक्रममा बीरु दर्नाल, हेमन्त मैनाली, रणदेव हजाम, राजनारायण शाह, बालकुमारी रसाइली, अनिता गौतम लगायतले आ–आफ्ना विचार राखेका थिए ।

कार्यक्रमको सञ्चालन भने इन्सेक झापा प्रतिनिधि नरेश खाती गरेका थिए ।