मेचीनगर । सामुदायिक रेडियो नीति निर्माण सम्बन्धि रणनीति तर्जुमा कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले सामुदायिक रेडियोलाई मात्र नभई मिडियालाई हेर्ने दृष्टिकोण तीन तहबाटै स्पष्ट नभएसम्म अवस्था नाजुक हुने बताएकी छिन् ।
विहीबार काँकरभिट्टामा भएको प्रदेशस्तरीय कार्यक्रममा सामुदायिक रेडियोले गर्नुपर्ने कामका विषयलाई लिएर कार्यपत्र प्रस्तुत पश्चात उपप्रमुख उप्रेतीले कार्यपत्र माथि आफ्नो धारणा राख्दै मेचीनगर नगरपालिकाले मिडिया सम्बन्धि नीति निर्माण कार्य अगाडि बढाएको तर प्रदेश र संघले स्पष्ट नीति नल्याउँदा मिडियालाई सहयोग गर्न केही बाधा अढचन आएको बताएकी छिन् ।
सामुदायिक रेडियोले आदिवासीको आवाज बुलन्द गर्न नसकेको अर्को तर्क रेडियोलाई बचाउन नसक्नु पनि हो, त्यसैले सामुदायिक रेडियोले आदिवासी जनजातिको उत्थानमा खेल्नुपर्ने भूमिका र आदिवासी समुदायले सहयोग गर्नुपर्ने विषयमा व्यापक चर्चा गर्नुपर्ने बताइन् ।
कार्यपत्रमाथि मुण्डा उत्थान संघका प्रतिनिधि बन्धन मुण्डाले सामुदायिक रेडियोले मात्र होइन अन्य मिडियाले पनि आदिवासीका हकका विषयमा हामी जस्ता मान्छेलाई पाखा लगाएर पार्टीभित्रका आदिवासीलाई मात्र उभ्याएको हुनाले वास्तविक आवाज उठ्न नसकेको बताए ।
जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीले आदिवासीका मुद्दाप्रति मिडिया सहयोगी भए पनि उचित समयमा मिडिया पछि परेको आरोप लगाए ।
चौधरीले अगाडि भने, ‘के सहयोग गर्नुपर्छ हामी गर्न तयार छौं, त्यसमा स्थानीय सरकारको सहयोग उत्तिकै आवश्यक रहेको छ ।’
लोकतान्त्रिक अपाङ्ग संघका मनिष काफ्लेले दलहरुले अपाङ्गमाथि आफ्नो धारणा स्पष्ट नपार्दा कसलाई मत दिने भन्ने समेत शब्द मिडियामार्फत राख्न नपाउँदा व्यक्तिगत रुपमा मात्र होइन संस्थागत रुपमा दुखि भएको बताउँदै मेची तरङ्ग नामक युट्युवमार्फ आफ्नो धारणा राखेको बताए ।
कार्यक्रममा सामुदायिक रेडियो नीति सम्बन्धि उपलब्धी र कमीकमजोरीका विषयमा नागरिक एफएमका सञ्चालक तथा प्राध्यापक चिन्तामणि दाहाल, सामुदायिक रेडियोमा आदिवासी जनजाति समुदायको पहुँच, निरन्तर प्रयास, हालसम्मका उपलब्धी र कमजोरीका विषयमा सामुदायिक रेडियो प्रदेश १ का अध्यक्ष विदुर खवास, स्थानीय र प्रदेश सरकारहरुद्वारा सामुदायिक प्रशारण क्षेत्रमा गरिएको हस्तक्षेपको विषयमा रेडियो साथीका सञ्चालक पुनम प्रधानले कार्यपत्र पेश गरेका थिए ।
कार्यक्रममा पत्रकार इन्द्र राजवंशी, फोनिजका उपाध्यक्ष कमन देवान, यायोक्खा झापाका उपाध्यक्ष केवलराम राई लगायतले आ–आफ्नो विचार राखेका थिए ।
सुष्मा राजवंशीले सञ्चालन गरेको कार्यक्रममा विभिन्न जातीय संघसंस्थाका प्रतिनिधि लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।