चेतनाको अभावमा आदिवासी महिला अझै पनि हिंसामा « Yalambar Times
५ आश्विन २०८१, शनिबार

चेतनाको अभावमा आदिवासी महिला अझै पनि हिंसामा


यलम्वर टाइम्स
१८ मंसिर २०७९, आईतवार ०६:२८

बिर्तामोड । चेतनाको अभावमा आदिवासी महिलाहरु अझै पनि लैंङ्गिक हिंसाबाट पीडित हुनु परिरहेको शनिबार आयोजित कार्यशालाका सहभागीहरुले बताएका छन् ।

बिर्तामोडमा संवाद समूह झापाले आयोजना गरेको आदिवासी महिलासंग लैंङ्गिक हिंसा तथा शान्ति निर्माण विषयक् कार्यशालामा सहभागीले शिक्षा र चेतनाको कमीले आदिवासी समुदायमा लैंङ्गिक हिंसाका घटना अझै कायम रहेको बताए ।

उनीहरुले समुदायगत परम्परागत संस्कारका कारण पनि आदिवासी समुदायबाट लैंङ्गिक हिंसाका घटनाहरु न्यूनीकरण हुन नसकेको बताए ।

कार्यक्रममा आदिवासी समुदाय राजवंशी र सन्थाल जातिका महिला सहभागी थिए । एभरेष्ट स्मार्ट स्कुलकी प्रिन्सिपल पुष्पाञ्जली सिन्हा र संवाद सहजकर्ता कमला भट्टराईले लैंङ्गिक हिंसा, कानुनी व्यवस्था, शान्ति निर्माण तथा महिला सशक्तिकरणका विषय समेटिएका दुई वटा कार्यपत्र प्रस्तुत गरेका थिए ।

बिर्तामोड नगर कार्यपालिका सदस्य तथा कोचिला महिला नेतृ सर्मिला राजवंशीले लैंङ्गिक हिंसा अन्त्यका लागि पुरुषको सकारात्मक र महत्वपूर्ण भूमिका आवश्यक रहेको तथा हिंसाविरुद्धको अभियान हरेक परिवार, टोलबाट थाल्नुपर्ने बताइन् ।

सहभागी नेपाल सन्थाल महिला उत्थान संघकी केन्द्रीय अध्यक्ष मन्दिरा किस्कुले सन्थाल जातिका छोरी–बुहारीले सामान्य विषयवस्तुमा पनि हिंसाको सामना गर्नुपरिरहेको बताइन् ।

पूर्णिमा राजवंशीले आदिवासी समुदायमा अझै पनि छोराछोरीको विषयमा विभेद गर्ने, आमाले सुरक्षित मातृत्वको अवस्थाभन्दा परिवारको चाहानाअनुसार सन्तान जन्माउनुपर्ने अवस्था कायमै रहेको अनुभव सुनाइन् ।

सहभागी सर्मिला सोरेन र मिना मुर्मुले सन्थाल समुदायका छोरीहरुले विद्यालय तहको शिक्षा हासिल गर्न पनि परिवारमा संघर्ष तथा विद्रोह गर्नुपर्ने अवस्था रहेको बताइन् ।

उनीहरुले घर परिवारमा महिलाहरु विभिन्न हिंसामा परिरहेको भएपनि पर्याप्त जानकारी र चेतनाको अभावमा त्यसविरुद्ध आवाज उठाउन नसकिरहेको बताए ।

आफ्नो समुदायमा हुने लैंङ्गिक हिंसा अन्त्यका लागि सचेतना तथा कानूनी उपचारको माध्यमबाट भूमिका निर्वाह गर्ने उनीहरुको भनाइ थियो ।

सहभागीले अबका दिनमा लैंङ्गिक हिंसा तथा विभेदविरुद्ध सशक्तरुपमा अग्रसर हुँदै समाजमा शान्ति निर्माणमा भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए ।

विनिता राजवंशी, सुरजमनी टुडु, रुबिना राजवंशी, निर्मला मर्डी, चिन्ता राजवंशी, विमला राजवंशी लगायतले हिंसा सम्वन्धी आफ्नो समुदायको भोगाइ र देखाइ सुनाएका थिए ।

कार्यक्रम सहजकर्ता कमला भट्टराईले सञ्चालन गरेकी थिइन् ।