सुन्दरतातर्फ उन्मुख शनिश्चरे बजार « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

सुन्दरतातर्फ उन्मुख शनिश्चरे बजार


यलम्वर टाइम्स
१९ मंसिर २०७९, सोमबार ०६:४०

शनिश्चरे । करिब तीन दशक यतादेखि शनिश्चरे बजार खण्ड कालोपत्रे नबनिरहेको बेला बजारबासीहरु चिन्तित थिए । झापाकै पुरानो बजारको रुपमा परिचित शनिश्चरे बजार पछिल्लो पटक अव्यवस्थित हुँदै जानु, बाटो र साँघुरो स्थानमा बजार तितरबितर भएर लाग्नुले पनि शनिश्चरे बजारको स्तरोन्नति खस्किदै गएको थियो ।

तर, पछिल्लो पटक योजना सक्रिय रुपमा लाग्नु र जनप्रतिनिधिहरुको ध्यान पनि त्यतिकै चलायमान हुनुले शनिश्चरे बजारको स्तरोन्नति हुने आशले शनिश्चरेबासीहरु यो बेला हर्षित देखिन्छन् ।

०७४ बाट आएका जनप्रतिनिधिहरुले बजारको स्तरोन्नतिमा ध्यान नपुर्याएको भने होइन तर, गर्दागर्दै कामको मेसो नमिलेपछि पाँच वर्ष त्यतिकै बितेर गयो ।

बजारलाई पर्यटकीय हब बनाउनका लागि प्रथम नगर प्रमुख हरिकुमार रानाको अगुवाईमा बजारमा पेभेज बिछ्याउने सुरुवात, कृष्ण–अर्जुनको मूर्ति, गोरुगाढाको प्रतिमा र ज्येष्ठ चौतारीलाई आधुनिकतामा लैजान प्रयास भएकै हो ।

त्यतिले मात्र बजारलाई सुन्दरता नदिने भएको हुँदा वर्तमान नगर प्रमुख बलदेवसिंह गोम्देन र वडा नं. ८ का अध्यक्ष कुमार उप्रेतीको अगुवाई र योजनामा बजारले नयाँ मोड लिने देखिन्छ ।

शनिश्चरे–खुदुनाबारी खण्डको सडकमा आधुनिकसँगै बत्तिको व्यवस्था गरि झिलिमिली सूर्ति लाइन बनाउने योजना रहेको वडाध्यक्ष उप्रेतीको प्रयास देखिन्छ ।

जसरी शनिश्चरे बजारबाट अर्जुनधाराको चोकसम्म पेभेजसहितको रङ्गी बिरङ्गी बत्तिहरु बल्छन्, त्यस्तै बजारबाट चारै दिशा बत्ति बालियो भने शनिश्चरे बजारमा साँझमा पनि बजार भर्नेहरुको लर्को बढेर आउने विश्वास शनिश्चरे बासीहरुको छ ।

तर, बजारभित्र पोल पिछे विज्ञापनका बोर्डहरु राखिदा बजारलाई कुरुपताको बाटोमा धकिलिने पो हो कि भन्ने बाहिरबाट आउने पर्यटकहरुको प्रश्न छ ।

यति बेला योजना अनुसार बजारदेखि उत्तर जयपुर जाने र बिर्तामोड जाने क्षेत्रमा ढल निकासका लागि नाली खन्ने काम भइरहेको देखिन्छ । नाली निर्माणमा अवरोध नगरेको पनि देखिन्छ ।

बीच सडकबाट दुवैतर्फ बराबरी नाली खन्ने क्षेत्र निर्धारण गरि दुवै पक्षलाई मेलमिलापको बाटोबाट विकासका काम अगाडि बढाए सहज हुने स्थानीय बजारबासीको माग रहेको छ ।

विकास आफैमा सुन्दर पाटो हो । यही रुपबाट बजार निर्माण गर्नसके वर्तमान स्थानीय सरकार इतिहासको एउटा नमूना पात्र बन्नेमा दुइमत देखिन्न ।

बजार चाँडै फराकिलो हुँदै जानु, सबै क्षेत्रमा पक्की बाटो हुनु र बजारमा सार्वजनिक शौचालय निर्माण कार्य चाँडै सम्पन्न हुनसके बाहिरबाट आन्तरिक पर्यटक शनिश्चरे बजार भ्रमण गर्न आउनेको संख्या बढेर जाने देखिन्छ ।

शनिश्चरे बजार त्यसै प्राचिन बजार भनिएको होइन । कुनै बेला यही शनिश्चरेमा घ्यू बजार, सिद्रा बजार, केरा बजार, सब्जी बजार, कुखुरा बजार, खसी बजार, गोसखान बजार, सूर्ति बजार र भाडा बजार जस्ता हाट लाग्ने गरेको बताइन्छ ।

हिजोआज अव्यवस्थित हुँदै जाँदा शनिबार लाग्ने ति हाटबजार मासिएर गएको हुँदा त्यसलाई फर्काउने प्रयासमा वडा नं. ८ का अध्यक्ष कुमार उप्रेती लागि परेको बताउँछन् ।

अध्यक्ष उप्रेतीले सबैको साथ र सहयोग मिले शनिश्चरे बजारको साखनाक राख्ने गरि तीन दिनसम्म हाट लाग्ने योजना रहेको र चलचित्र घर निर्माण गरि शनिश्चरे बजारको उचाइलाई बढाउनेतर्फ आफू लागेको प्रतिक्रिया दिए ।

बजारभित्र रहेको कृष्ण मन्दिर सारिए पनि हनुमान मन्दिर र देवकोटाको सालिकलाई मिलाएर बजारलाई अझ फराकिलो बनाउन सके अझ सुन्दर देखिने अध्यक्ष उप्रेतीको योजना रहेको छ ।