[दिपीन राई, अध्यक्ष २०१५]
निक्कै पेचिलो अवस्थामा हुर्किएको एउटा संस्था आज ११ औं वर्ष पार गर्दा यस संस्थाका संस्थापकहरुले धेरै फड्को मारिसकेका छन् । स्वयम् संस्था समाजमा स्थापित मात्र होइन दर्बिलो बनिसकेको छ । तर पटक–पटकको प्रयासमा संस्थाका उम्मेद्वारहरु लम्कने प्रयास गर्दा विफल भएको अवस्था छ ।
सन्दर्भ अर्जुनधारा जेसीजलाई लिऔं । २०१२ मा स्थापित भएको अर्जुनधारा जेसीज यहाँसम्म आउँदा धेरै आरोहअवरोह पार गरिसकेको छ । छोटो समयमा किसान संयोजक जस्ता उपसमिति बनाएर महाकालीको महाधिवेशनमा प्रस्तुत गर्दा अर्जुनधारा जेसीज चर्चामा चुलिएको थियो । के जेसीजमा किसान संयोजक पनि बनाउन सकिन्छ ? भनी प्रश्न जेसीजभित्रको विधान सम्मेलनमा चर्चा चलेको थियो । गर्दा जे पनि हुँदो रहेछ, तर नेतृत्व निर्माण गर्नका लागि । आज त्यही अवस्थामा सबै शाखाहरुले ग्रामिण भेगसम्म पुग्न केही न केही संयोजकहरु निर्माण गरेका छन् । छोटो समयमा जेसीज अधिराज्यभरि १७४ भन्दा बढी शाखा निर्माण भएको छ ।
त्यहि जमर्कोले अर्जुनधारा जेसीज छोटो समयमा आफ्नो भवन निर्माण गरि बस्नका लागि मात्र होइन समान्य सेमिनार गर्न सक्ने स्थान बनाएको छ । ठूलटूला कार्यक्रम गर्न पाटी प्यालेस धाउनुपर्दैन । त्यसकौ जगबाट अर्जुनधारा जेसीज ०१५ मा उत्कृष्ट मात्र भएन हरेक कार्यक्रममा अर्जुनधारा जेसीज अन्य शाखाहरु बीच मित्र भावसँगै चर्चामा चुलियो ।
त्यहि चर्चासँगै अर्जुनधाराले सन् २०१६ का अध्यक्ष जेसी सार्दूलहाङ ओलीको अगुवाईमा राष्ट्रिय उपाध्यक्षका लागि आफ्नो उम्मेद्वारी दिन पुगे । काठमाण्डौको भूतखेलमा सार्दूलको चर्चा खुब चल्यो । चर्चामा पुग्न सफल अर्जुनधारा जेसीज आफ्नै भवन समेत निर्माण गर्ने भनेर सबै शाखाहरु मध्ये एक नम्बर शाखाको रुपमा गनिएको थियो । एरिया ए, बी, सी र डी का सम्मेलनमा अर्जुनधाराको गरिमा उठ्नु स्वभाविक थियो । त्यसैको बलले सार्दूललाई राष्ट्रिय उपाध्यक्ष शाखाले प्रस्तुत गर्यो । भूतखेलको त्यो चिसो डाँडा अर्जुनधाराको उम्मेद्वारी र प्रस्तुति कम थिएन । अन्ततोगत्वा पराजयको पोका बोकेर फर्कनु पर्यो ।
पराजय व्यहोर्दा पनि निराश भने अर्जुनधारा जेसीज हुन सकेन । अझ अन्तरक्रिया, छलफलसँगै अभिभावकहरुबाट प्रेरणाका शब्दहरु बर्सिरहे । त्यसैको फलस्वरुप जनकपुरमा हुन गएको सम्मेलनमा वर्ष ०१८ का अध्यक्ष जेसी अजय देवले राष्ट्रिय उपाध्यक्षमा आफ्नो उम्मेद्वारी दिए । जनकपुरी राजाको आशिर्वाद र सीता माताको साथले आफ्नो उम्मेद्वारी दिएको अजयले उद्घोष गरिरहँदा हलभित्र तालिको वर्षातले आशाको दीयो बलेर आयो । चुनावको माहोल तातिदै थियो । जेसीजभित्रको पुस्तौंदेखि बन्दै आएको गुटका कारणले अजयलाई पछि पार्यो ।
पराजयको सिकार बनेपछि घर फर्किने क्रममा धेरै समिक्षाहरु हुन पुगे । त्यहि समिक्षासँगै वर्ष ०२० मा जेसी भास्कर भट्टराईलाई रुपन्देहीको भलवारीमा तेस्रो पटक राष्ट्रिय उपाध्यक्षमा उम्मेद्वारी दिन प्रेरित गरियो । गौतम बुद्धको जन्म स्थल अनि चर्चामा आएको अर्जुनधारा दुवैको आशिर्वाद सबैतिरबाट मिल्छ भन्ने आशाले युवा जोशका आधारमा उम्मेद्वारी दिँदा आशाको दीयो प्रशस्त हुँदाहुँदै निराश भएर फर्किनु परेको पीडा आलै छ ।
जेसीज युवाहरुको ढुकढुकी हो । नेतृत्व निर्माणदेखि लिएर समाजको अगाडि परिपक्क हुनसक्ने क्षमता बनाउने विश्व विद्यालय हो । त्यहि कुरा सम्झेर अर्जुनधारा जेसीजनका पूर्वअध्यक्षहरुले मनन् पनि गरे । निर्वाचनको समयमा काममात्र देखाएको छैन । जेसीजले गर्ने कर्तव्य पनि पूरा गरिसकेको छ । प्रस्ट भन्ने हो भने गोजीमा जेसीजको लेटरप्याड बोकेर हिंड्नेहरु राष्ट्रिय उपाध्यक्ष, कार्यकारी उपाध्यक्ष जस्ता पदमा पुगेर फूर्ति लगाइरहेको अवस्था छ । राजधानीमा बसेर विकट ठाउँमा शाखा खोली पदमा पुग्न सफल उम्मेद्वारले के कति काम गरे त्यसको मूल्यांकन तत्काल नभए पनि इतिहासले एक दिन न एक दिन कोर्ने नै छ । त्यो भन्दा फराकिलो ढंगबाट अगाडि बढेको अर्जुनधारा जेसीजलाई हेर्ने दृष्टिकोण यो पटकको महाधिवेशनले सुक्ष्म रुपबाट मूल्यांकन गर्दै हेर्नुपर्ने हुन्छ । नलजाई भन्ने हो भने सम्भवत् १७४ वटा शाखा मध्ये आफ्नै भवन भएको शाखाको नाममा अर्जुनधारा जेसीज पर्छ । भवन नै नभएका शाखाहरु जेसीजको उपल्लो पदमा बसेर फूर्ति लगाइरहेका छन् । तर अर्जुनधारा जेसीज जग्गा खोजेर, दुई तले भवन बनाएर हरेक कार्यक्रममा उत्कृष्ट हुँदै आउँदा पनि लबीबाट बाहिर पारेर खेदाइरहनुले न्यायोचित व्यवहार पक्कै हुन सक्दैन कि !
बीरगञ्जमा हुने ४९ औं ऐतिहासिक जेसीजको राष्ट्रिय महाधिवेशनमा अर्जुनधारा जेसीज थुप्रै कृष्णहरुको अगाडि सुधामा बनेर उभिएको छ । अब्बल रुपमा उभिएका अर्जुनधारा जेसीजका अध्यक्ष जेसी भीमबहादुर कुँवर (राजु) ले राष्ट्रिय उपाध्यक्षका लागि आफ्नो उम्मेद्वारी दिएका छन् । थुप्रै सारथी बीच योजना तर्जुमामा छलफल गरिरहेका कृष्णले मित्र सुधामा आएको सन्देश पाएपछि योजना छलफललाई पछि पार्दै सुधामालाई गर्ने व्यवहारबाट सुधामा खुशी भएको ज्ञानवद्र्धक पाठ हामीले पढे जस्तै थुप्रै शाखाका कृष्णहरुले अर्जुनधाराका सुधामालाई सम्मान र माया प्रदान गरेर राष्ट्रिय स्तरमा सँगसँगै डोहोर्याउने अवसर प्रदान हुनेछ भनी हामी पूर्व संस्थापकहरु सादर अनुरोध गर्दछौं ।
नारायणी नदीमा धेरै पानीहरु बगिसके । अर्जुनधारा जेसीज स्थापित भएको पनि ११ वर्ष पार गरिसक्यो । संस्थापक उपाध्यक्षहरु मेयर, वरिष्ट साहित्यकार, कानुन व्यवसायी हुँदै वरिष्ट सञ्चारकर्मी पनि बनेको थलो हो । अब हामी कृष्णले सुधामालाई माया गरे जस्तै सबै क्षेत्रका शाखाहरुले अर्जुनधारा जेसीज शाखाबाट प्रस्तुत गरिएको राष्ट्रिय उपाध्यक्षका उम्मेद्वार जेसी भीमबहादुर कुँवरलाई राष्ट्रिय नेतृत्वमा पुर्याउन सबै एरियाको उत्तिकै साथ रहन जरुरी छ । एउटा युवाले अर्को युवालाई डोहोर्याउने थलो र नेतृत्वमा पुर्याउने संस्था जेसीज भएको कारणले यो ४९ औं महाधिवेशनले भूमिका खेल्ने छ भन्दै सबै शाखाहरु प्रति अपिल पनि गरिन्छ ।