फाइनल क्याम्पका लागि स्वस्तिकाद्वारा एनसीसी क्याडेटको बिदाई « Yalambar Times
५ आश्विन २०८१, शनिबार

फाइनल क्याम्पका लागि स्वस्तिकाद्वारा एनसीसी क्याडेटको बिदाई


यलम्वर टाइम्स
५ पुष २०७९, मंगलवार ०८:५०

अर्जुनधारा । अर्जुनधारा–८ स्थित स्वस्तिका शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयले एक कार्यक्रम गर्दै राष्ट्रिय सेवा दल (एनसीसी) लाई बिदाई गरेको छ ।

विद्यालयले ४८ औं जुनियर डिभिजन तालिम अन्तर्गत आज मंगलबार अभिभावकहरु बीच विद्यालय दीक्षान्त समारोह गर्दै एनसीसीलाई बिदाई गरेको हो ।

विद्यालय तालिम सम्पन्न गरिसकेको र भोली एनसीसी पूर्वी तालिम शिक्षालय याङसिला मोरङतर्फ जाने विद्यालयका संस्थापक इश्वरा श्रेष्ठले बताइन् ।

उनका अनुसार तालिमको फाइन क्याम्प याङसिलामा १६ दिनसम्म चल्ने छ ।

दीक्षान्त समारोहमा तालिममा सहभागि एनसीसी क्याडेटहरुले खुकुरी ड्रिल, एरोबिक्स पीटी, तेक्वान्दो र राष्ट्रिय गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

विद्यालयकी संस्थापक श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि चारआली बेस क्याम्पका सेनानी अभिषेक विष्ट रहेका थिए ।

कार्यक्रममा प्याव्सन झापाका अध्यक्ष गौरीमान फागो, अभिभावक संघका अध्यक्ष दिपीन राई लगायतले विद्यार्थीहरुको नेतृत्व, व्यक्तित्वको विकाससँगै अनुशासन र राष्ट्रभक्ति जगाउने हुँदा जीवन उपयोगी भएको बताउँदै अधिकतम् ज्ञान हासिल गर्न आग्रह गरे ।

कार्यक्रममा प्याव्सन अर्जुनधाराका अध्यक्ष रुद्रप्रसाद सिटौला, प्याव्सन बुद्धशान्तिका अध्यक्ष गंगा निरौला, रुपरत्न मोमोरियल बोडिङ स्कुलका प्रिन्सिपल प्रभु श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।

विद्यालयका शिक्षक चन्द्रप्रसाद सुवेदीले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्रिन्सिपल खम्बसिंह बस्नेतले गरेका थिए ।

पूर्वी तालिम शिक्षालयका अमल्दार अम्मर बाठा मगरले विद्यालय तालिमको सहजीकरण गरेका थिए ।