चुलाचुली गाउँपालिकाद्वारा विद्यालयलाई बस हस्तान्तरण « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

चुलाचुली गाउँपालिकाद्वारा विद्यालयलाई बस हस्तान्तरण


यलम्वर टाइम्स
१३ पुष २०७९, बुधबार ०६:२९

इलाम । इलामको चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले सामुदायिक विद्यालयलाई बस खरिद गरिदिएका छन् ।

गाउँपालिकाले अध्यक्ष केरुङका लागि सवारी साधन खरिद गर्न बजेट छुट्याए पनि बालबालिकालाई विद्यालयसम्म पुग्ने वातावरण सहज बनाउनका लागि बस उपलब्ध गराइएको हो ।

सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै शिक्षामा सबैको पहुँच पुर्याउने उद्देश्यले गाउँपालिकाको वडा नम्बर २ स्थित बाह्रगोठेमा रहेको जनता माध्यमिक विद्यालयलाई बस खरिद गरिएको अध्यक्ष केरुङले बताए ।

४१ लाख ६९ हजारको लागतमा खरिद गरिएको उक्त बस एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष दिलकुमारी योङहाङ लावती, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीको उपस्थितिमा अध्यक्ष केरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विपीन योङ्या र प्रधानाध्यापक लक्ष्मेश्वर बनबरिया यादवलाई गाडीको चाबी हस्तान्तरण गरेका थिए ।

गाउँपालिकाले पहिलो गाउँसभाबाट सावरी साधन खरिद गर्न एक करोड रुपैयाँ विनियोजन गरेका थिए । सोही रकमबाट विद्यालयका लागि स्कुल बस खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । पालिकाले खरिद गरेर दिएको र सञ्चालन खर्च सबै विद्यालयले व्यहोर्ने शर्त रहेको सुवेदीले बताए ।

कार्यक्रमा अध्यक्ष केरुङले प्राविधिक विषय (सिभिल इन्जिनियर) अध्ययनरत विद्यार्थी र अन्य विपन्न वर्गका विद्यार्थीको शिक्षामा सहज पहुँचको लागि बस सेवाले टेवा पुग्ने विश्वास रहेको बताए ।

सो विद्यालयमा सिभिल इन्जिनियरका एक सयसहित करिब सात सय विद्यार्थी अध्ययनरत छन् ।

बसबाट विद्यालयका सेवाक्षेत्रसहित छिमेकी जिल्ला झापाको दमक, केर्खालगायतका क्षेत्रबाट आउने विद्यार्थी लाभान्वित भएका छन् ।

सो विद्यालयमा प्राविधिक शिक्षातर्फ प्रदेश १ का सबै जिल्ला र मधेस प्रदेशका सिराहा, सप्तरी, सर्लाहीलगायतका जिल्लाका विद्यार्थी छन् ।

उनीहरु झापाको दमकमा बसेर विहान कक्षा लिन चुलाचुली आउने गरेका छन् । विद्यायले यसअघि स्कूलबस मासिक ५० हजार भाडामा लिएर संचालन गर्दै आएका थिए ।