शनिश्चरे बजारमा कालोपत्रे हुँदै « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

शनिश्चरे बजारमा कालोपत्रे हुँदै


यलम्वर टाइम्स
१३ पुष २०७९, बुधबार ०९:३१

अर्जुनधारा । निकै लामो समयको प्रतिक्षापछि शनिश्चरे–नारायण चोक सडकमा कालोपत्रे गर्ने काम सुरु भएको छ ।

शनिश्चरेदेखि नारायण चोक उत्तरतर्फको करिब सवा किलोमिटर सडक कालोपत्रे गर्न सुरु गरिएको हो ।

वर्षौंअघि नै उक्त सडकमा कालोपत्रेका लागि ठेक्का लागे पनि विभिन्न अवरोधका कारण हुन सकेको थिएन ।

शनिश्चरे बजार क्षेत्रमा घरधनीले बाटोका लागि आवश्यक ठाउँ नछोड्दा कालोपत्रे कार्य रोकिएको थियो ।

त्यस्तै निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी बजेट अभाव देखाउँदै सम्पर्कमा नआउँदा कालोपत्रे हुन सकेको थिएन ।

ठेक्का लागेको लामो समयसम्म सडकमा कालोपत्रे गर्ने काम नहुँदा दैनिक कुद्ने गाडीको धुलो धुवाबाट आजीत बनेका स्थानीयले यसअघि पटक–पटक सडक अवरोध पनि गरेका थिए ।

पुराना जनप्रतिनिधिकै समयमा अघि बढेको काम विभिन्न अवरोधका कारण रोकिए पनि नयाँ जनप्रतिनिधिको पहलमा काम पुनः अघि बढेको छ ।

नगर प्रमुख बलदेव गोम्देनले सडकका विषयमा सडक डिभिजन कार्यालय, पूर्वाधार तथा शहरी विकास मन्त्रालय तथा अन्य विभिन्न सरकारी कार्यालयका जिम्मेवार व्यक्तिहरुसँग समन्वय गर्दै कालोपत्रे निर्माण चासो देखाएपछि काम अघि बढेको छ ।

कालोपत्रे गर्ने काम सुरु भएसँगै सडकको अनुगमन गर्दै स्थानीय घरधनी र व्यवसायीहरुसँग अनुगमन गर्न आग्रह गरेका छन् ।

नारायण चोकदेखि खुदुनाबारीसम्म भने यसअघि नै कालोपत्रे बनिसकेको छ ।