अर्जुनधारामा एकै पटक सात तालिम हुँदै « Yalambar Times
५ आश्विन २०८१, शनिबार

अर्जुनधारामा एकै पटक सात तालिम हुँदै


यलम्वर टाइम्स
२१ पुष २०७९, बिहीबार ११:०५

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले सामाजिक विकास शाखामार्फत एक साथ सात तालिमको उद्घाटन गरेको छ ।

गरिब निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त तालिमको उद्घाटन नगर प्रमुख बलदेव गोम्देनले गरेका हुन् ।

सामाजिक विकास समितिको निर्णय बमोजिम नगरमा एसी, फ्रिज रिपेरिङ, वाइरीङ, व्याग झोला बनाउने, कफि मेकर, क्रिस्टलको चुरा बनाउने, बेमौसमी सब्जी खेती, लोकसेवा आयोग तयारी कक्षा सम्बन्धि तालिमको आयोजना गरिएको शाखाका राजविक्रम खड्काले जानकारी दिए ।

नगरमा रहेका कृषकहरुलाई खेतिका गर्ने तरिका बारे जानकारी दिन, घरमा त्यसै समय व्यतित गरि बसेका महिला दिदीबहिनीहरुलाई झोला, चुरा बनाउने तालिममार्फत आत्मनिर्भर बनाउन र बेरोजगार अदक्ष युवा शक्तिलाई प्राविधिक ज्ञान दिँदै आम्दानीको बाटोतर्फ डोहोर्याउन तालिम सञ्चालन गरिएको शाखाका खड्काले बताए ।

उनका अनुसार तालिमको संयुक्त उद्घाटन गरिए पनि भोलीबाट छुट्टाछुट्टै स्थानबाट तालिम प्रदान गरिने छ ।

उद्घाटन सत्रमा नगर प्रमुख बलदेव गोम्देनले तालिमबाट प्राप्त ज्ञानलाई सही सदुपयोग गर्न आग्रह गरे ।

उनले नगरलाई स्वरोजगार र आत्मनिर्भर बनाउन यस्ता खाले तालिमको सञ्चालन गरेको हुँदा एकै व्यक्तिले मात्र तालिमको लाभ नलिई पालो प्रणालीबाट तालिममा सहभागि हुनुपर्ने बताए ।

कार्यक्रममा उपप्रमुख खड्गमाया पराजुलीले तालिमलाई केवल तालिमको रुपमा नलिइ जीवन उपयोगी बनाउनुपर्ने बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले नगरवासीको आत्मविश्वास बढाउन र समग्र नगरको विकासका लागि क्षमता अभिवृद्धिका तालिमहरुको आयोजना गरिएको बताउँदै यस्ता कार्यक्रम प्रभावकारी बने आगमी दिनमा अझ बढी सञ्चालन गर्दै जाने बताइन् ।

कार्यक्रममा रौताह टेक्निकल कलेजका झापा कार्यक्रम संयोजक सुमन दियाली, सीएससीआईका राजु गौतम लगायतले बोलेका थिए ।

६५ दिनसम्म चल्ने एसी, फ्रिज रिपेरिङ तालिममा २५ जना, ३२ दिनसम्म हुने वाइरीङ सम्बन्धि तालिममा २५ जना, मेडपा एडभान्स तालिम अन्तर्गत व्याग झोला बनाउने, कफि मेकर, क्रिस्टलको चुरा बनाउने र बेमौसमी खेती सम्बन्धि तालिममा जम्मा ४९ जनाको सहभागिता रहने छ ।

त्यस्तै १०० दिनसम्म सञ्चालन हुने लोकसेवा आयोग तयारी कक्षामा ५५ जनाको सहभागिता रहने जनाइएको छ ।

नगर प्रमुख गोम्देनको सभापतित्वमा भएको कार्यक्रममा स्वागत सामाजिक विकास समितिका संयोजक कौशिलाल परियारले गरेका थिए भने सञ्चालन पुष्पा पौडेलले गरेकी थिइन् ।