यति विमान दुर्घटनाः ६८ को मृत्यु पुष्टि, आज राष्ट्रिय शोक बिदा « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

यति विमान दुर्घटनाः ६८ को मृत्यु पुष्टि, आज राष्ट्रिय शोक बिदा


यलम्वर टाइम्स
२ माघ २०७९, सोमबार ०६:१७

काठमाडौँ । काठमाण्डौबाट पोखराका लागि उडान भरेको यति एयरलायन्सको विमान दुर्घटना हुँदा विमानमा सवार ६८ जनाको शव फेला परेको छ । विमान सेती नदीको खोंचमा दुर्घटना भएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्ति निकालेर आइतबार अपराह्न साढे ४ बजेसम्ममा ६८ शव दुर्घटनास्थलबाट निकालिएको जानकारी दिएको हो ।

केन्द्रका अनुसार अन्य शव खोजी जारी छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले सेती नदीको खोंचमा धेरै तल विमान खसेका कारण क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको बताए ।

समन्वय केन्द्रले दुर्घटनामा परेका मृतक यात्रुका परिवारका सदस्य वा आफन्तजनहरुले थप जानकारी चाहिएमा काठमाडौं विमानस्थल कार्यालयको ०१–४११३१६३ र यती एयरलाइन्सका पेम्बा शेर्पाको ९८०१००७५३१ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

५३ नेपाली, १५ विदेशी र ४ चालक दलका सदस्यसहित उडेको यती एयरको ल्त्थ् टढज्ञ, ढल्–ब्ल्ऋ विमान १०ः५० दुर्घटना भएको थियो । जहाजमा २५ महिला, ३७ पुरुष ३ बालक र ३ शिशु थिए ।

यस्तै विमान दुर्घटनाप्रति दुःख व्यक्त आज सोमबार राष्ट्रिय शोक घोषणा गर्दै नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । 

गृह मन्त्रालयले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने जनाएको छ । विमान दुर्घटना लगत्तै आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार शोक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो ।

‘सोमबार अत्यावश्यकबाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको छ’, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने ।