समृद्ध अर्जुनधारा निर्माणका लागि प्रेस क्लब र नगर बीच सहकार्य आवश्यक « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

समृद्ध अर्जुनधारा निर्माणका लागि प्रेस क्लब र नगर बीच सहकार्य आवश्यक


यलम्वर टाइम्स
२ माघ २०७९, सोमबार ०९:४२

अर्जुनधारा । अर्जुनधारा प्रेस क्लबको प्रथम साधारणसभा उद्घाटन गर्दै नगर प्रमुख बलदेव गोम्देनले समृद्ध अर्जुनधारा निर्माणका लागि क्लब र नगर आपसमा सहकार्य गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

शनिबार जग्गादाताले प्रदान गरेको स्थलमा आयोजना गरेको प्रथम साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि नगर प्रमुख गोम्देनले स्थानीय सरकारको गतिविधिलाई उजागर गर्न क्लबमा आवद्ध पत्रकारहरुको कलम चलोस् भन्दै सत्यमा आधारित समाचारलाई प्राथमिकता दिन अनुरोध गरे ।

कार्यक्रममा वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले आफ्नै वडामा भवन बन्दै गर्दा खुशी लागेको बताउँदै जनप्रतिनिधिहरुले खटेको काममा कलम अगाडि बढाइदिन आग्रह गरे ।

विशेष अतिथि पत्रकार महासंघ एकराज गिरीले पर्यटनको प्रचुर सम्भावना बोकेको अर्जुनधारा नगरपालिकालाई माथि उठाउन पत्रकारको कलम सदैव जागरुक हुनुपर्ने बताउँदै पत्रकारको हितमा पनि स्थानीय सरकार सक्रिय हुनुपर्ने सुझाव दिए ।

कार्यक्रममा जग्गादाता कृष्ण बराल, क्लबका सल्लाहकार समितिका संयोजक दिपीन राई लगायतले साधारणसभाको शुभकामना व्यक्त गरेका थिए ।

क्लबका अध्यक्ष कुमार भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा जग्गादाता लोकबहादुर तामाङ, सल्लाहकार होमप्रकाश अधिकारी, बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष आयुष निरौला लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमको बन्दसत्रमा क्लबका कोषाध्यक्ष अमित खम्बूले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने अध्यक्ष कुमार भट्टराईले क्लब दर्ता गरेको र जग्गा खोजी धनीपूर्जा प्राप्त भएको बताए ।

निर्वाचन समितिका संयोजक एकराज गिरीको अगुवाईमा नयाँ कार्य समितिका लागि सल्लाहकार संयोजक दिपीन राईले प्रस्ताव गरेपछि नयाँ कार्य समितिका लागि सर्वसम्मत चयन गरिएको थियो ।

समितिको अध्यक्षमा सिद्धहस्त पत्रकार रमेश समदर्शी राईलाई चयन गरिएको छ भने उपाध्यक्ष प्रेम आचार्य, सचिव नरेश खाती, सहसचिव उद्धव पुरी र कोषाध्यक्ष पुष्पा जवेगु रहेका छन् ।

यसरी नै सदस्यहरुमा विष्णु श्रेष्ठ, पुरुषोत्तम पौडेल, तिलक योञ्जन, सुजता ढुंगाना, मनिता योञ्जन र दिपक ढुंगानालाई चयन गरिएको छ ।

त्यस्तै लेखा समितिको संयोजकमा राजन साम्पाङ र सदस्यहरुमा अनिता विष्ट र गणेश थापा रहेका छन् ।