भाइचारा एकताबाटै पहिचान स्थापितः यायोक्खा अध्यक्ष राई « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

भाइचारा एकताबाटै पहिचान स्थापितः यायोक्खा अध्यक्ष राई


यलम्वर टाइम्स
२ माघ २०७९, सोमबार ०९:४६

अर्जुनधारा । भाइचारा एकताबाटै पहिचान स्थापित गराउन सजिलो हुने र संस्कार संस्कृतिलाई स्थायीत्व प्रदान गर्न सकिने भएको कुरा किरात राई यायोक्खाका जिल्ला अध्यक्ष गणेश राईले यले सम्वत ५०८३ मनाउने क्रममा बताएका छन् ।

किरात राई यायोक्खा अर्जुनधारा समितिले आफ्नै भवनमा यले सम्वत मनाउने क्रममा प्रमुख अतिथि अध्यक्ष राईले पहिचान भन्ने शब्द अधिकार प्राप्तिको मूल बाटो हो, त्यसैले सम्पूर्ण आदिवासी जनजातिहरुले पहिचानलाई चिन्न सकेन र स्थापित गराउन सकेन भने अधिकार आउन पनि त्यति नै लाग्ने बताए ।

कार्यक्रममा उपाध्यक्ष क्या. शिवकुमार राईले यले सम्वत ५०८३ को विषयलाई लिएर आफ्ना भनाइ राख्दै किराती मूलका जातिहरुले आफ्नो सम्वतलाई बिर्सिएर पराइका सम्वतलाई भव्यताका साथ मनाउनु दुःख लाग्दो भएको बताए ।

सचिव सरीता राईले सञ्चालन गरेको कार्यक्रममा जातीय संघसंगठनका प्रतिनिधि लगायतको उपस्थिति थियो ।

कार्यक्रममा विशिष्ट अतिथि खाम्बातिमका जिल्ला सचिव गौरीमान राई लगायतले यले सम्वतका विषयमा प्रकाश पार्दै यायोक्खा स्थापित भएका ठाउँमा यले सम्वत धुमधाम मनाउँदै गरेको सन्देश दिए ।