असल संस्कारसँगै जीवन जीउने कला किरात मुन्धुममा रहेको प्रवक्ता चाम्लिङको भनाई « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

असल संस्कारसँगै जीवन जीउने कला किरात मुन्धुममा रहेको प्रवक्ता चाम्लिङको भनाई


यलम्वर टाइम्स
२ माघ २०७९, सोमबार १०:०१

माइधार । किरात धर्मका प्रवक्ता डिल्ली चाम्लिङले संसारलाई डोहोर्याउने मुन्धुम किरात धर्मको मुन्धुमभित्र रहेको बताएका छन् ।

साम्जिक मुन्धुमले मानिसले गर्ने संस्कार निर्माण गर्ने विधिमात्र छैन जीवन जीउने कला र अगाडि बढ्ने समेत भएको हुँदा आज संसार मुन्धुमको एउटा हाँगो साम्जिक मुन्धुम चलायमान गरेको बताएका छन् ।

किरात धर्म तथा साहित्य उत्थान संघ झापाले आईतबार खिजोत्लुङ जिल्ला माङहिमको २६ औं वार्षिक उत्सव तथा यले तङ्वे ५०८३ सँगै कोक्फेवा तङ्नामको उद्घाटन गर्ने क्रममा प्रमुख अतिथि प्रवक्ता चाम्लिङले किरात धर्मलाई अन्तर्राष्ट्रियकरण गर्न सके सम्पूर्ण किरात धर्मावलम्बीहरुको संस्कार संस्कृतिमा सुधार हुने बताए ।

अर्का विशिष्ट अतिथि शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्राले संस्कार र संस्कृति रहे जाति रहने भएको हुँदा साहित्य उत्थान संघले गरेका क्रियाकलाप प्रति नगरपालिका सधैव सहयोग गर्ने वचन दिए ।

अर्का विशिष्ट अतिथि नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेले किराती हुनुको गर्व त्यसभित्रका संस्कार संस्कृति र भाषा मुन्धुम भएको बताउँदै त्यसलाई बचाइ राख्न सके किरात स्थापित हुनमा ठूलो टेवा पुग्ने बताए ।

जनमुक्तिका जिल्ला अध्यक्ष भवानी सेलिङले किरात प्रदेशसँगै आदिवासीहरुको धर्म संस्कृति बलियो भएर जाने एउटैमात्र मुन्धुम किरात धर्म भएको हुँदा यसलाई विवादमा नल्याइ अगाडि बढ्नुपर्ने बताए ।

संघीय लिम्बूवान मञ्चका किरण लिङ्देनले किरात धर्मभित्र किरातहरुका लागि सबैथोक निर्माण भएको हुँदा युमा धर्म भनेर हिंड्नु आफूलाई नै क्षति पुग्ने बताए ।

कार्यक्रममा किरात धर्मका अगुवा सुवेदार कृष्णधोज लिङ्देन, लीलाराज कन्दङ्वा, किरात धर्मका संरक्षक चन्द्रकुमार योङ्या, फोनिजका दिपीन राई, गायक राज लाबुङ लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा यले सम्वत किरातीहरुको मौलिक सम्वत भएको हुँदा यसलाई बचाइराख्नुपर्ने चर्चा चलेको थियो ।

कोक्फेवा तङ्नाम, सांगीतिक कार्यक्रमभित्र पालम, ख्यालि, हाक्पारे, साकेला नृत्य प्रस्तुत गरिएको सञ्चालक संघका सहसचिव विचारी लावतीले जानकारी दिएका थिए ।