क्यूपेक अर्जुनधाराको पाँचौ अधिवेशनमा महिला मजदुरलाई सम्मान, अध्यक्षमा दुलाल « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

क्यूपेक अर्जुनधाराको पाँचौ अधिवेशनमा महिला मजदुरलाई सम्मान, अध्यक्षमा दुलाल


यलम्वर टाइम्स
१ फाल्गुन २०७९, सोमबार ०९:०५

शनिश्चरे । महिला मजदुरको रुपमा परिचित मुना खड्कालाई नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) अर्जुनधाराले सम्मान गरेको छ ।

नगरको पाँचौं अधिवेशनको अवसरमा महिला मजदुर खड्कालाई सम्मान गरिएको थियो । उनलाई प्रमुख अतिथि क्यूपेक नेपालका केन्द्रीय उपाध्यक्ष अम्विर कुमार लिङ्देनले सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरेका थिए ।

अधिवेशनमा बोल्दै प्रमुख अतिथि लिङ्देनले झापा क्यूपेकले श्रमिकहरुको हितका लागि साइड बीमा कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराए ।

उनले कार्यरत मजदुरहरुले ५ हजार रुपैयाँ तिरेर साइड वीमा गराई सुरक्षित रहन आग्रह गर्दै बीमाले ठेकेदार मात्र सुरक्षित नभई मजदुरहरु सुरक्षित हुने बताए ।

लिङदेनले फागुन मसान्तसम्ममा संगठनका सदस्यता नभएकाहरुले नयाँ सदस्यता लिन र पुराना सदस्यहरुले नवीकरण गर्न अनुरोध समेत गरे ।

आईतबार शनिश्चरे बजारस्थित सामुदायिक भवनमा भएको अधिवेशनले लोकनाथ दुलाललाई अध्यक्षमा निर्वाचित गरेको छ । निर्वाचन समिति संयोजक देवकुमार राईका अनुसार दुलाललाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो ।

त्यस्तै नयाँ कमिटीको उपाध्यक्षमा लक्ष्मण दनुवार, सचिवमा विपिन महत्तो, सहसचिवमा राम बानियाँ र कोषाध्यक्षमा धिरेन राजवंशी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा सुनिता मण्डल, राधा गुरुङ, राजेन्द्र महत्तो, टंकप्रसाद घिमिरे र टोलबहादुर गुरुङ चयन भएका छन् । अधिवेशनले नै सल्लाहकार समिति पनि चयन गरेको छ ।

सल्लाहकार संयोजकमा कृष्णबहादुर बस्नेत रहेका छन् भने सदस्यमा तिलबहादुर तामाङ चयनलाई चयन गरिएको जनाईएको छ ।

क्यूपेक अर्जुनधारा नगर कमिटीका अध्यक्ष कृष्णबहादुर बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा साविक मेची अञ्चलका इन्चार्ज तथा केन्द्रीय सदस्य देवकुमार राईले क्यूपेक मजुदरहरुको संगठन भएको बताउँदै आफू अर्जुनधारा नगरपालिकाको परिषद सदस्य भएको हैसियतले मजदुर सम्बन्धी कार्यविधि अन्तर्गत मजदुरहरु घाइते भएमा ७० हजार रुपैयाँ औषधि उपचार गर्ने खर्च र मृत्यु भएमा ७ लाख रुपैयाँ क्षतिपूर्ति पाउने व्यवस्था लागू गराउँदै कार्यान्वयन गर्नेमा जोड दिए ।

कार्यक्रममा केन्द्रीय सदस्य दुर्गादेवी गुरागाई, शेरबहादुर रोक्का, पूर्व केन्द्रीय सदस्य रामपारस शाह, क्यूपेक झापाका अध्यक्ष गंगा पासवान, अर्जुनधारा नगरपालिका–२ का वडा अध्यक्ष नरेन्द्र श्रेष्ठ, ७ का वडा अध्यक्ष गोविन्दप्रसाद खतिवडा, नेपाल ट्रेड युनियन महासंघ अर्जुनधाराका अध्यक्ष शंकर भण्डारी, अखिल नेपाल मजदुर संघका अध्यक्ष शम्भु हेमरम, क्यूपेक मेची नगर कमिटीका अध्यक्ष दिनेश गिरी, लोकनाथ दुलाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन भने जिल्ला कमिटीका सचिव तिरानन्द गिरीले गरेका थिए ।