कैदले खानेपानीको साधारणसभामा जग्गादाता सम्मानित « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

कैदले खानेपानीको साधारणसभामा जग्गादाता सम्मानित


यलम्वर टाइम्स
१४ फाल्गुन २०७९, आईतवार ०३:४२

अर्जुनधारा । कैदले खानेपानी उपभोक्ता तथा सरसफाई समितिको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

अर्जुनधारा–३ स्थित आफ्नै भवन परिषरमा जग्गादाता टिकामाया श्रेष्ठलाई सम्मान गर्दै समितिले दोस्रो साधारणसभा सम्पन्न गरेको हो ।

साविक खुदुनाबारीमा खानेपानीको समस्या भइरहेको अवस्थामा कैदले खानेपानी स्थापनाका लागि श्रेष्ठ परिवारले २ कठ्ठा जग्गा उपलब्ध गराई सहयोग पुर्याएको भन्दै सम्मान गरिएको थियो ।

उनलाई संविधान सभा सदस्य प्रेमबहादुर गिरी, नगर प्रमुख बलदेव गोम्देन र खानेपानी डिभिजन कार्यालयका विकास काफ्लेले संयुक्त रुपमा सम्मान गरेका थिए ।

समितिका अध्यक्ष ढुण्डीराज गौतमको सभापतित्वमा भएको साधारणसभामा खानेपानीको कार्यालय भवन र धाराको समेत उद्घाटन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि माननीय प्रेमबहादुर गिरीले कार्यालय भवन र डिभिजन कार्यालयका विकास काफ्लेले खानेपानीको धारा खोलेर उद्घाटन गरेका थिए ।

भवन उद्घाटन गरेपछि आफ्नो मन्तव्य राख्दै माननीय गिरीले खानेपानी अभावमा खुदुनाबारीबासी काकाकुल अवस्थामा रहेको बेला कैदले खानेपानीले दिएको सेवाप्रति प्रशंसा गरे ।

उनले कैदले खानेपानी योजना सञ्चालन सुरु गर्दादेखि आएका समस्याहरुको बारेमा बताउँदै यसको संरक्षण सबैले गर्नुपर्ने बताए ।

३२ लाखको लागतमा ४ कोठे भवन यसअघि नै निर्माण भए पनि उद्घाटन भने साधारणसभाकै अवसरमा गरिएको समितिका सचिव नरेन्द्र मिश्रले बताए ।

उनले डिभिजन कार्यालयको आर्थिक सहयोगमा खानेपानीको कार्यालय भवन निर्माण भएको सुनाए ।

समितिका अध्यक्ष गौतमले संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै साविक खुदुनाबारीको वडा नं. ५, ८, ९ र भित्रि गाउँ आफ्नो क्याचमेन क्षेत्र रहेको बताए ।

उनले कैदले खानेपानीको क्षेत्राधिकारभित्र ५ सय १० घरधुरी उपभोक्ता रहे पनि हालसम्म २ सय ९३ घरपरिवारले सेवा लिएको जानकारी दिए ।

उनले स्वच्छ खानेपानी वितरण गर्ने आफूहरुको लक्ष्य रहेको सुनाउँदै खानेपानीको उपभोक्ता बन्न आग्रह पनि गरे ।

कार्यक्रममा खानेपानी डिभिजन कार्यालयका विकास काफ्ले, नगर प्रमुख बलदेव गोम्देन लगायतले आफ्नो विचार राखेका थिए ।

कार्यक्रममा पूर्व नगर उपप्रमुख कमला आचार्य, वडा नं. ३ का वडाध्यक्ष सीताराम भट्टराई, नरबहादुर कन्दङ्वा, मीना पन्धाक, बेलटार खानेपानीका अध्यक्ष योगेन्द्र आचार्य लगायतको आतिथ्य रहेको थियो ।
समिति सल्लाहकार सदस्य दिव्य कट्टेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव मिश्रले गरेका थिए ।

समितिको अध्यक्षमा पुनः गौतम

कैदले खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षमा पुनः ढुण्डीराज गौतम निर्वाचित भएका छन् ।

आफ्नै कार्यालय परिषरमा आयोजित दोस्रो साधारणसभाले गौतमलाई आगामी ३ वर्षका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा याम मगर, सचिवमा टिकाराम श्रेष्ठ ‘कैलाश’, सहसचिव लक्ष्मीराम शर्मा, कोषाध्यक्षमा सञ्चरानी इङ्नाम रहेका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा युवराज चापागाईँ, याम बास्कोटा, कञ्चनदेवी काफ्ले र मुना पुलामी मगर चयन भएका छन् ।

११ सदस्यीय कार्यसमिति रहने व्यवस्था अनुसार २ जनालाई नयाँ समितिको बैठकले मनोनयन गरिने अध्यक्ष गौतमले जानकारी दिए ।